ढाका । बंगलादेशको सुगन्धा नदीमा यात्रु बोकेको डुंगामा आगलागी हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । यो दुर्घटना झलकोटी जिल्लामा भएको हो । बरिसालका डिभिजनल कमिश्नर सैफुल हसनले घटनाको पुष्टि गरेका छन्। उनका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ ।
‘एमभी अभियान’ नामको यो डुङ्गा राति ढाकाबाट बरगुना जान लागेको सैफुल हसनले बताए । झलकोटी जिल्ला पुग्ने क्रममा सुगन्धा नदीमा रहेको डुंगाको इन्जिनमा बिहान आगलागी भएको थियो । घाइतेहरुलाई बारिशाल सदर अस्पताल र स्थानीय अस्पतालमा भर्ना गरिएको र उद्धार कार्य जारी रहेको छ ।
डुङ्गामा कसरी आगलागी भयो भन्ने बारे अधिकारीहरूले अहिलेसम्म कुनै जानकारी दिएका छैनन्। झलकोटीका एक स्थानीय बिहान ३ः३० बजे डुंगामा आगलागी भएको जानकारी प्राप्त भएको बताए । धेरै यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका छन् । डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको पनि बताइएको छ । इन्जिन रुमबाट आगलागी भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस