
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) लगायतका अहिलेका नियम केही समयका लागि लागू गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग अर्थ मन्त्रालयमा आयोजित अन्तरक्रियामा बोल्दै उनले अहिलेका प्रावधान एकैपटक आएकाले समस्याजस्तो देखिएको भन्दै यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धननको समय राखेको बताए। अर्थमन्त्री खतिवडाले प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीलगायतका तीन महिनाका लागि पुरानै व्यवस्थामा काम गर्न सकिने बताए ।
तत्काल प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन महासंघको आग्रहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले तत्काल प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागु गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गरेका थिए ।
आर्थिक वर्ष २०७६/७७ देखि निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारी र मजदूरलाई समेत अनिवार्य प्यान दर्ता गरी बैंक मार्फत तलव भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागू गर्ने अवस्था तत्काल नरहेको उनले बताए । सामजिक सुरक्षा कोषको व्यवस्था पनि पहिले ठूला र मझौला उद्योगमा लागु गरि त्यसको व्यवहारीक अनुभवबाट मात्र क्रमशः लघु, घरेलु तथा साना उद्योगमा लागू गर्न श्रम मन्त्रालय र निजी क्षेत्रबीच सहमति भएको पृष्ठभूमिमा यस्ता उद्योगमा काम गर्ने कर्मचारी र मजदूरलाई प्यान दर्ता गर्ने प्रयोजनको तयारीका लागि ६ महिना अवधि उपलब्ध गराउन महासंघका अध्यक्ष गिरीको आग्रह थियो ।
प्रतिक्रिया दिनुहोस