
काठमाडौं। प्रहरीमा दर्ता भएको तथ्यांकलाई मात्रै आधार मान्दा नेपालमा हरेक वर्ष सरदर २५ सय व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । वार्षिक सरदर पाँच हजार व्यक्ति गम्भीर घाइते हुने गरेका छन् ।
यो आधारमा दैनिक औसत सात व्यक्तिको मृत्यु र १४ जना गम्भीर घाइते हुने गरेका छन् । दुर्घटनामा हुने अंगभंग र मानवीय क्षतिले बर्सेनि देशको कुल राष्ट्रिय उत्पादन (जिएनपी) को डेड प्रतिशत क्षति हुने गरेको अध्ययनले देखाएको छ ।
नेपाल इन्जुरी अनुसन्धान केन्द्रले सन् २०१७ मा प्रहरीमा दर्ता भएका सवारी दुर्घटनामाथि अध्ययन गरेको थियो । कुल दुर्घटनाका १९.७ प्रतिशत मात्रै प्रहरीमा दर्ता भएको निष्कर्ष निकाल्दै केन्द्रले सोही वर्ष नेपालले १२२.८८ मिलियन अमेरिकी डलर अर्थात १२ अर्ब ८० करोड ४० लाख रुपैयाँ (त्यतिवेलाकै दरअनुसार) गुमाएको देखाएको छ ।
यो रकम सन् २०१७ को स्थिर मूल्यको जिएनपी (आठ खर्ब ४२ अर्ब ३६ करोड ६७ लाख) को १.५२ प्रतिशतबराबर हो । प्रहरीमा दर्ता नभएका समेत सबै दुर्घटनाको मूल्यांकन गर्दा यो अंक चार प्रतिशतभन्दा धेरै पुग्ने केन्द्रका प्रमुख प्रा.डा. सुनिलकुमार जोशीले बताए ।
‘हामीले नेपाल प्रहरीमा दर्ता भएका सवारी दुर्घटनाका घटनालाई मात्रै लिएर मुलुकले प्रत्येक वर्ष व्यहोर्ने क्षतिको विवरण निकालेका हौँ । सबै दुर्घटनालार्ई आधार मानेर हिसाब निकाल्ने हो भने नेपालले प्रत्येक वर्ष व्यहोर्ने क्षतिको विवरण कुल जिएनपीको चार प्रतिशतभन्दा धेरै आउँछ,’ उनले भने । नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस