aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कालिञ्चोकमा ३ दिनदेखि विद्युत् र मोबाइल सेवा अवरुद्ध

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • शुक्रबार, १६ पुस २०७८
कालिञ्चोकमा ३ दिनदेखि विद्युत् र मोबाइल सेवा अवरुद्ध

दोलखा । हिमपातका कारण जिल्लाको मुख्य पर्यटकीय गन्तव्य कालिञ्चोकमा ३ दिनदेखि विद्युत् र मोबाइल सेवा अवरुद्ध भएको छ । मंगलबार रातिबाट भएको हिमपातका कारण विद्युत् सेवा अवरुद्ध बनेको हो ।

विद्युत् सेवा ठप्प हुँदा नेपाल टेलिकम र एनसेल दुवै सेवा प्रदायकको मोबाइल सेवा पनि अवरुद्ध बनेको छ । टेलिफोन टावरमा विद्युत् सेवा सञ्चालन नभएकोले मोबाइल सेवा बन्द भएको नेपाल दूरसञ्चार प्राधिकरणका शाखा प्रमुख राजु गिरीले बताए ।

‘कालिञ्चोकमा विद्युत् सेवामा समस्या छ,’ उनले भने, ‘हाम्रो ब्याकअप ६र८ घण्टा धान्छ, विद्युत् आयो भने प्राविधिक पठाएर पुनः सेवा सञ्चालन गर्छौं ।’ हिमपातपछि कालिञ्चोकमा रहेको विद्युत् ट्रान्सफर्मर हिउँले पुरिएको छ । जसका कारण सेवा ठप्प भएको विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालले बताए । ‘म आफैं कालिञ्चोक पुगेर निरीक्षण गरेर आएँ,’ उनले भने, ‘ट्रान्सफर्मर हिउँले पुरिएको छ, घाम नलागेसम्म विद्युत् सेवा दिन सक्दैनौं ।’ घाम लागेर हिउँ पग्लेपछि मात्रै सेवा सञ्चालन गर्न सकिने उनको भनाइ छ । ‘अहिले विद्युत् पठाए ट्रान्सफर्मर पड्केर झन् समस्या हुन्छ,’ उनले भने ।

विद्युत् अवरुद्ध भएपछि कालिञ्चोकका होटल व्यवसायीलाई जेनेरेटर चलाउन डिजेल र पेट्रोल किन्नको चटारो छ । अंग्रेजी नयाँ वर्षका लागि कोठा बुकिङ भइसकेकोले सेवा दिनका लागि धेरै व्यवसायी इन्धन लिन चरिकोट पुगेका व्यवसायी हरि ओली बताउँछन् । ‘निरन्तरको हिमपातपछि कालिञ्चोक हिउँले पुरिएको छ । जसका कारण थप पर्यटक आउने निश्चित छ । यसको तयारीमा हामी व्यवसायी छौं,’ उनले भने ।

३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको कालिञ्चोकमा केबलकार पनि जेनेरेटरबाट सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयले भने कालिञ्चोक आउजाउ गर्दा सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस