aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

निष्क्रिय रहेका विभिन्न कोषहरूलाई सञ्चालन गर्ने तयारीमा छौँ: अर्थमन्त्री शर्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ पुस २०७८
निष्क्रिय रहेका विभिन्न कोषहरूलाई सञ्चालन गर्ने तयारीमा छौँ: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल अहिले व्यापार घाटा लगायत विभिन्न समस्यामा रहेको बताएका छन् । नागरिक लगानी कोषको नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।  

उनले भने, ‘हामी अहिले व्यापार घाटा लगायतका ठूलो समस्यामा छौँ । यी समस्यालाई समाधान गर्नका लागि हामी पूँजी निर्माणका कति केन्द्रित हुन्छौँ । उत्पादनमा कति केन्द्रित हुन्छौँ भन्ने कुरा नै मुख्य कुरा हो ।’

अर्थमन्त्री शर्माले नेपालमा अहिले पनि दर्जनौँ कोषहरू निष्क्रिय अवस्थामा रहेको बताए । उनले भने, ‘हाल नेपालमा दर्जनौँ कोषहरू निष्क्रिय अवस्थामा रहेका छन् । सरकारसँग पनि धेरै कोषहरू रहेका छन् । यी कोषहरूको व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि सरकारले विभिन्न योजनाहरू बनाएको छ ।’ 

साथै, उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि हाम्रा सम्पूर्ण कोषहरूको परिचालन गर्‍यो भने हामीले धेरै नै योगदान गर्न सकिने समेत अर्थमन्त्री शर्माले बताए । सबै कोषहरूलाई ठुला ठुला परियोजना निर्माण गर्न रोजगारी सिर्जना गर्नका लागि र उत्पादनमुखी कार्यमा लगानी गर्न आवश्यक रहेको समेत उनले औँल्याए । 

त्यस्तै, अर्थमन्त्री शर्माले नेपालमा जलविद्युतको बजार अभाव रहेको बताए । ‘हामीले अहिलेसम्म जलविद्युत क्षेत्रमा केन्द्रित भएका छन् । ऊर्जामा हामीले थोरै उत्पादन गर्‍यो भने पनि बजार खोज्दै हिँड्नु पर्ने अवस्था रहेको छ’ उनले भने, हामी उल्टो बाटोमा छौँ । हाम्रो ऊर्जा क्षेत्रलाई बजार खोज्ने होइन खपत गर्ने क्षेत्र खोज्ने हो । यही खोज्दा नै प्रतिफल पाइन्छ ।’ साथै ऊर्जामा जस्तै अन्य पूर्वाधार लगायत विभिन्न क्षेत्रहरूमा पनि लगानी गर्न आवश्यक रहेको अर्थमन्त्री शर्माको भनाई छ ।   

नागरिक लगानी कोष आफैमा जनताको कोष पनि रहेको उनले बताए । उनले भने, ‘योे कोष जनताको कोष पनि हो । यसमा सहभागी हुने ठूलो संख्या छ । अर्को ढंगले भनदा यो सहकारीको एउटा नयाँ रुप पनि हो । सबैको सानो सानो पूँजीलाई जम्मा गरेको कोषको निर्मार्ण गरिहेका छौँं ।’ आफूमा मात्रै ठूलो भवनमा बस्छ की लगानीको वातावरण र मुनाफालाई पनि त्यहि उचाईमा उठाउँछ भन्ने प्रश्न कोषमा आएको पनि अर्थमन्त्री शर्माले बताए । 

पुतलिसडकको एउटा कोठाबाट शुरु भएको नागरिक लगानी कोषले नयाँ बानेश्वरमा ६ रोपनी जग्गामा आफ्नै भवन निर्माण गर्न सफल भएको छ । भवन निर्माण गर्नेक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरुलाई आज उद्धघाटन कार्यक्रममा सम्मानपत्र पनि प्रदान गरिएको थियो ।  भवन ९१ करोड लागतमा ६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको हो । समयमै निर्माण सम्पन्न भएको साढे ६ तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ समेत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस