काठमाडौ । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्धारा संचालित संचार केन्द्र नेपाल को हलमा आयोजित प्राबिधिक शिक्षाको अवस्था र यसको बिकासमा सञ्चारकर्मीको भुमिका विषयक एक बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि तथा सिटिईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले नेपालमा सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी गराए । सिटिईभिटीले उद्यमी र उत्पादनका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै युवाहरुको विदेश पलायन रोक्ने लक्ष लिएको जानकारी गराए।
सदस्य सचिव काफ्लेले आफूँले ३१ वर्षदेखि सिटिईभिटीमा समर्पित भई काम गरिरहेको भएपनि केही सञ्चारमाध्यमले आफूँविरुद्ध भ्रामक र अर्नगल समचार लेखेकोप्रति आपत्ति जनाए । उनले भने–‘गरेका गल्ती लेख्नुहोस् तर नगरेको गल्तीको भागिदार नबनाउनुहोस् ।’
कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा सीपयुक्त जनशक्तिको कमी रहेको बताएका छन । उनले पत्रकारिता क्षेत्रमा पनि सम्बन्धित विषय नपढेका जनशक्तिले काम गर्दा विभिन्न समस्या उत्पन्न भएको जानकारी गराए । उनले भने–‘पत्रकारिता विषय नपढेका र पढेका पनि पत्रकारिता दक्ष नभएकाले पत्रकारिता स्वच्छ, प्रतिस्पर्धी र मर्यादित हुन सकेको छैन, आचारसंहिताको पालना हुन सकेको छैन ।’
अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्र जस्तै अन्य क्षेत्रहरुमा समेत दक्ष जनशक्तिको अभाव रहेको बताए । उनले दक्ष जनशक्तिको अभाव भएको औल्याउँदै भने–‘हाइड्रो क्षेत्रमा बर्षेनी खरबौंको काम हुन्छ तर नेपालीहरुले सीपको अभावका कारण सबैभन्दा तल्लो लेबल अर्थात मजदुरीको काममात्र पाउँछन् ।’ नेपालमा दक्ष र सीपयुक्त जनशक्ति नहुँदा विदेशबाट नै दक्ष जनशक्ति मगाउनुपर्ने बाध्यता रहेको उहाँको जिकिर थियो ।
उनले पछिल्लो समय सिटिईभिटीले सीपयुक्त र दक्ष जनशक्ति उत्पादन गरेको भएपनि त्यो जनशक्ति नेपालका लागि पर्याप्त नभएकाले दक्ष जनशक्ति उत्पादनका लागि दबाब दिनुपर्ने धारणा राखे । ‘गाउँ गाउँमा समेत सिटिईभिटीले उत्पादन गरेको जनशक्ति परिचालन भईरहेका छ, यसका राम्रा कामलाई पत्रकारले बाहिर ल्याउनुपर्छ, यो पत्रकारिताको मूल धर्म पनि हो’–उनले भने ।
अध्यक्ष बस्नेतले पत्रकारहरु पनि सिपयुक्त बनेर स्वच्छ र मर्यादित पत्रकारिता गर्न आग्रह गर्नुहुँदै प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताबारे देशव्यापी जागरण अभियान गरिरहेको जानकारी गराए ।
कार्यक्रममा सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगन हमालले विकासको स्तरलाई मूल्यांकन गर्नका लागि त्यस देशको प्राविधिक पक्षलाई हेरिने बताए । जुन देश विकसित देशको रुपमा कहलिएको छ, ती देशहरुले प्राविधिक क्षेत्रमा उल्लेख्य फड्को मारेको जानकारी दिँदै उनले भने जुन देशले प्राविधिक क्षेत्रमा विकास गर्दछ ती देशहरु विकसित र समृद्धमा जोड दिए । अमेरिका, चीन, जापान, भारत बिकसित राष्ट्रको रुपमा कहिलिनु पनि त्यसैको उपज भएको उनको भनाई थियो ।
महानिर्देशक हमालले सञ्चारकर्मीहरुमा प्राधिकरण ज्ञान र दक्षता प्रर्याप्त नहुँदा जनतामा भ्रामक सन्देशहरु प्रवाह गरिरहेको बताउँदै पत्रकार तथा सञ्चारकर्मीहरुले समेत प्राविधिक ज्ञान र दक्षता हाँसिल गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा फोरम फर हेल्थ टेक्निकलका अध्यक्ष शैलेन्द्र मोहन झाले नेपालमा उत्पादन भएका स्वास्थ्य जनशक्तिको बेलायत, क्यानडालगायतका विकसित राष्ट्रहरुमा समेत माग भईरहेपनि नेपालमा माग अनुसारका जनशक्ति उत्पादन गर्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै झाले कोरोना महामारीको समयमा आइसियु सञ्चालन गर्न सक्ने जनशक्तिको अभाव हुँदा ५ हजार मानिसको मृत्यु भएको जानकारी समेत गराए ।
निजी शिक्षालय महासंघका अध्यक्ष भुवन जोशीले प्रविधिसँग जोडिएको शिक्षा भएपनि राज्यले त्यसलाई डकुमेन्टेशन नगरेको बताए ।नेपालमा शिक्षा प्रणाली व्यावहारिक नभएकाले गर्दा बेरोजगारको समस्या बढ्दै गईरहेको बताए । उनले भने–‘नेपालको शिक्षा प्रणाली यस्तो छ कि जुन शिक्षा आर्जन गरेपछि न आफैँ केही गरेर खान सक्छ, न त कतै काम लाग्छ ।’
प्रतिक्रिया दिनुहोस