aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

साध्यबहादुर भण्डारीले माधव नेपाल पार्टीमा प्रवेश गर्दै गर्दा लामो प्रतिवेदन पनि बुझाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ पुस २०७८
साध्यबहादुर भण्डारीले माधव नेपाल पार्टीमा प्रवेश गर्दै गर्दा लामो प्रतिवेदन पनि बुझाए

काठमाडौं । साध्य बहादुर भण्डारी नेकपा (एकिकृत समाजवादी)मा जोडिने भएका छन् । एमाले र माओवादी केन्द्र एकिकरण हुँदा जिम्मेवारी नपाएर असन्तुष्ट बनी राष्ट्रिय जागरण परिषद्को अभियान चलाएको अभियानका संयोजक भण्डारीले अभियानलाई पुस १६ मा नेकपा–एसमा समाहित गर्न लागेका हुन् । उनले नेकपा एकिकृत समाजवादी हुँदै लामो आफ्नो दस्तावेज पनि बुझाएका छन् । 

उनले बुझाएको प्रतिवेदन 
जलश्रोतको बहुआयामिक उपयोगिता स् नेपाल संसारभरिमा नै जलस्रोतमा दोस्रो धनी मुलुक हो । प्रति वर्ष २२५ अर्ब घनमि पानी बगेर त्यतिकै खेर गइरहेको छ । यसबाट हामीले गुणस्तरीय उर्जा उत्पादन गरी सिँचाई, जलयातायात, मत्स्यपालन अन्य कृषि गर्न सक्छौ भने अर्कोतिर सोही पानीलाई उपयोग गरी सिधै पहाड तथा तराईमा पर्यावरणीय स्वच्छता र मुलुक विद्युतीकरण लगायतबाट समृद्ध बन्न सक्नेछ ।

 खनिज पदार्थ र रसायनको उत्खनन स् नेपाल उद्योगधन्दाको विकास प्रचुरमात्रामा गर्न सक्ने खानी खनिज भएको क्षेत्रभित्र पर्दछ । तामा, फलाम, अभ्रख, कोइला, पेट्रोल हुँदै हिमाली क्षेत्रमा त पत्थरजडित हीरा, मोती, पन्ना, सुनदेखि युरेनियम सम्मका भण्डारहरू छन् । ती बस्तुलाई उद्योगधन्दामा परिणत गरी निर्माण गर्न सकेको खण्डमा विश्वबजार हाम्रो लागि खुल्ला छ । करीब ३ अर्ब जनसंख्या भएको छिमेकी मुलुक भारत त हाम्रो लागि उपभोक्ता नै उपभोक्तै मात्र भएको बजार हो, जसमा बेरोजगार भई पलायन भएका लाखौँ युवा जनशक्तिलाई परिचालन गरी व्यवस्थित ढंगबाट रोजगारी पनि सिर्जना गर्न सक्दछौँ । 

जडिबुटिको उत्पादन तथा प्रशोधन केन्द्रको स्थापना स् नेपाललाई संसारमा नै जडिबुटीको हबको रूपमा विकास गर्न सकिन्छ । यहाँका हिमाली अनमोल जडिबुटीहरू संसारमा नै लोकप्रिय मानिन्छन् । जडिबुटीको प्रबद्र्धन, प्रशोधन र बजारीकरण गरेको खण्डमा यसले नेपाललाई समृद्धिको दिशामा अघि बढाउने कुरा पनि त्यत्तिकै मननयोग्य छ ।

पर्यटन उद्योग स् नेपालको उत्तरी खण्डको झण्डै ३५ प्रतिशत भू–भागमा हिमश्रृंखलाले घेरिएको छ र संसारका अग्ला हिमचुचुरामध्ये सबैभन्दा धेरै नेपालमा नै पर्दछन् । हिमचितुवा, पाटेबाघ, यति, एकसिंगे गंैडा, हिमाली भालु, नीलगाई जस्ता जनावरको बासस्थान र हिमालदेखि मैदानसम्म तरेली परेको जमिन र उपर्युक्त हावापानीको स्रोत भएकाले नेपाल संसारभरिकै उत्कृष्ट गन्तव्यको रूपमा लिइन्छ । तर त्यसलाई संयोजन गर्ने राजनैतिक ईच्छाशक्तिको अभाव र प्राविधिक जनशक्तिको कमीले गर्दा अस्तव्यस्त र अलपत्र परेको छ । यसलाई व्यवस्थित गर्न पनि हामीले गहन सुझाव प्रस्तुत गरेका थियौं । 

कृषिमा आधुनिकीकरण, उत्पादनमा वृद्धि र समुचित बजारीकरण स् नेपाल कृषिप्रधान देशको रूपमा परिचित थियो । तर, यही देशले अहिले प्रतिवर्ष करिब २ खर्व रूपैयाँको कृषिजन्य वस्तु धान, चामल, मकै गहुँ, फलफुल, तरकारी, माछा, मासु, दुग्धजन्य पदार्थ लगायतका विभिन्न खाद्यवस्तु आयात गरिरहेको छ । नेपाल कृषिप्रधान देश कहलिनुमा २०२१ को भूमिसुधार कार्यक्रम र भूमिहीन सुकुम्बासीलाई तराईमा बसोबास गराउने कार्यक्रमको ठूलो महत्व छ । कुनैबेला नेपालले धानचामल निर्यात कम्पनी खोलेर विशेष गरी युरोपमा चिनी, चिया, लत्ताकपडा खाद्यवस्तु, जस्तापाता लगायतका वस्तु निर्यात गरी विदेशीमुद्रा आर्जन गरेको भर्खरजस्तै लाग्दैछ । तर अहिले यी सबै वस्तु उत्पादनका स्रोतलाई ढुट्याइए र मुलुक मरुभूमिकरणजस्तो देखा परेको छ ।

कुनैपनि देशको औद्योगिकरणको जग “कृषिक्रान्ति” नै हो । उद्योगधन्दा विकास हुन किसानहरूको आयआर्जन र क्रयशक्तिमा वृद्धि हुनुपर्दछ । त्यस कार्यको लागि दक्षिणपन्थीहरूको र साम्राज्यवादहरूबाट पालितपोषित दलाल पुँजीवादी सरकारले गर्नै सक्दैन । बामपन्थीको प्रचण्ड वहुमत र दुई तिहाईको सरकार भएकाले हामीले नेकपाको सरकारसँग यस खालको आशा राख्नु गलत थिएन । त्यसैले, हामीले कृषिलाई आधुनिकीकरण गर्ने, उत्पादन वृद्धि गर्ने, रोजगारीमा व्यापक वृद्धि गर्ने र आमनागरिकहरूलाई पेटभरी खान पाउने कुराको सुनिचश्चितता प्रदान गरी मुलुकलाई समृद्धितर्फ लान निम्न बुँदामा सरकारको ध्यानकर्षण गराएका थियौं ।

नेपालको जमिन तीन तरेली परेर हिमाल, पहाड, तराई बनेको छ । हिमाली भेगलाई जडिबुटी, दुर्लभ बन्यजन्तु तथा पशुपालन र पौष्टिक आहारको हब बनाउन सकिन्छ । पौष्टिक आहार भन्नाले  उवा, करु, जौ, सामा, कागुनो, जुनेलो, फापर, कोदो र मार्सी धान आदि हो, जुन अत्यन्त पौष्टिक तत्व हुन् । मध्य–पहाडी भेग जो समुद्री सतहबाट १ हजार मि।देखि ३ हजार मि।सम्म फैलिएको छ । फलफुल, पशुपालन, मध्यमखालका जडिबुटी, मत्स्यपालनको पनि त्यतिकै सम्भावना छ । तराईमा मुख्यतः धानबाली नै प्रमुख हो । त्यसको अलावा सनपाट, कपास खेती अन्य परम्परागत खेतीपाती र दुग्धजन्य, मासुजन्य, मत्स्यपालन र तरकारी खेतीको प्रचुर संभावना देखिन्छ ।

त्यसैगरी नेपालको तराई र चुरेको घाँचबाट पूर्वपश्चिम बहुउद्देश्यीय नहर प्रणाली विकास गर्न सक्ने सम्भावना प्रचुर रूपमा देखा परेको छ । पूर्वको मेचीदेखि पश्चिम नारायणीसम्म ४७३ किलोमिटर र पश्चिम महाकालीदेखि नारायणीसम्म ४६५ किलोमिटरको अत्यन्त सस्तो लागतमा नहर बन्न सक्ने आँकलन गरिएको छ । 

मेची नदी समुद्री सतहबाट ११० मि उचाईमा रहेको छ, १२० मि चतरा, १२२ मि बागमती त्यसबाट सिधै अमलेखगञ्जमा ल्याएर पर्साको बिरुवागुठी हुँदै महादेवपट्टी १२५ मिमा पर्दछ । त्यस्तै, ठोरीको सानो ढिस्को कटाएर चितवन माडीको रिउ नदीबाट नारायणी १२७ मिमा जोड्न सकिन्छ । मकवानपुर घाँच र चितवन दमारलाई सिँचाई गर्न अमलेखगञ्जबाट हेटौंडाको लामोसुरेसम्म टनेल नहरमार्फत् सिँचाई सुविधा उपलब्ध गराउन सकिन्छ । 

त्यस्तै, पश्चिमको महेन्द्रनगर–ब्रह्मदेवमण्डी २२० मि अग्लाईमा छन । कर्णाली २०४ मि।, बबई १८७ मि, राप्ती १७१ मि, तौलिहवा १३२ मि र नारायणी १२७ मिमा रहेको छ । पश्चिमको नहरलाई पनि महाकालीदेखि नारायणीसम्म ल्याउन सकिन्छ र सरदर २१० मि।को उचाइबाट ल्याएको खण्डमा नारायणीमा निकास दिन सकिन्छ । 

नवलपुर क्षेत्रलाई सिँचाई गर्न वर्दघाटदेखि अरुण खोलासम्म टनेल नहरमार्फत् सिँचाई सुविधा उपलब्ध गराउन सकिन्छ । उक्त नहर परियोजना सय मि। चौडाई र बढीमा १० मि।को गहिराई हुनेछ । त्यसो गर्दा सामान्यता नियमित ४ मि पानी नहरमा राख्दा १५० कन्टेनर बोक्ने भेसल जहाज सहजै परिचालन गर्न सकिन्छ । जहाजबाट ढुवानी गर्दा ट्रकभन्दा २० गुना सस्तो पर्न जान्छ । 

नेपालभर करिब १४ लाख हेक्टर जमिनमा आंशिक सिँचाई सुविधा छ । तराईमा अहिले पनि १० लाख हेक्टरभन्दा बढी जमिन पुरा सुख्खाग्रस्त रहेको छ । पूर्व–पश्चिम बहुउद्देश्यीय नहर प्रणालीको विकास गरिसकेपछि सम्पूर्ण नदीनाला र खोलाखोल्साहरू दक्षिणतिरबाट चुरे पहाड भएर बग्दछन् । जब तिनलाई एकीकृत गरी नहर प्रणालीमा ढालिन्छ, तब सम्पूर्ण नदी नियन्त्रण भई बाढी रोकिन्छ । 

करिब ६ लाख हेक्टर जमिन नदी उकास भई खेतीयोग्य जमिनमा परिणत गर्न सकिन्छ । यसबाट तराईका २० लाख परिवार सिमान्तकृत, मधेसी तथा थारू परिवारहरूलाई जमीन वितरण गर्न सकिन्छ । यसले अद्भूत श्रम उत्साह र बेरोजगार अन्त्य गर्न सघाउ पुग्दछ । 

अर्कोतर्फ आंशिक सिँचाई भएका १४ लाख हेक्टर, सुख्खाग्रस्त १० लाख हेक्टर र नदी उकास भएको ६ लाख हेक्टर गरी ३० लाख हेक्टर वा ५० लाख विगाहामा बाह्रैै महिना बाह्रै काल सिँचाई सुविधा उपलब्ध भएपछि वार्षिक सहजै ४ खेतीका दरले फसल लिन सकिने हुँदा देशको अन्न भण्डार नसोचेको ढंगले वृद्धि हुन सक्नेछ । यसले लाखौं वेरोजगार जनशक्तिलाई रोजगार मात्रै सिर्जना गर्दैन कि किसानहरूको आयआर्जन र क्रयशक्ति यतिसम्म विस्तार हुनेछ कि औद्योगिक उत्पादित वस्तुको माग दिन दुई गुना रात चौगुनामा माग बढ्नेछ, राष्ट्रिय अर्थतन्त्रको जग बसाल्न आधार बन्नेछ । साना घरेलु उद्योग र कुठिर उद्योगको जन्मले ठूला उद्योगको उदय हुनेछ र लाखौ बेरोजगारलाई रोजगार दिन सक्नेछ । 
    
मध्यपहाडी क्षेत्रमा ६३ सय खोलानालामा आंशिक वा पुरा पानीले नेपालको पर्यावरणमा सहयोग गरिरहेको छ । ती खोलानाला वा नदीमा अनन्त जलाशय निर्माण गरी त्यसबाट पहाडका टाकुरामा पानी लिफ्टिङ प्रणालीद्वारा ठूल्ठूला तलाउ निर्माण गर्न सकिनेछ । लिफ्टिङ प्रणाली सुचारु गरी थोपा सिँचाई परियोजनामार्फत् पहाड तथा टाकुराका सिंगै सुख्खाग्रस्त जमिनमा सिँचाई सुविधा पुर्याउन सक्दछौं । यस प्रक्रियाबाट पहाड तथा हिमाली भेगमा समेत माछा, मासु, दलहन, तेलहन तथा जडीबुटी हब निर्माण गर्न सक्दछौं । 

यी उत्पादित वस्तुलाई तराईमा विद्युतीय रेलमार्ग, हुलाकी, पूर्व–पश्चिम, मदन भण्डारी राजमार्ग, र पूर्व–पश्चिम नहर प्रणालीमा चल्ने जहाजलाई समेत समायोजन गरी मध्यपहाडी लोकमार्गलाई मुख्य आवतजावत केन्द्रको रूपमा विकास गर्न सक्छौं । यसले पहाडमा रोपवे, केवलकार र नदी किनारमा स्काई रेल, मोनोरेल जस्ता रेलवे लाइनको विकास गरी सयौं बाटोघाटोमार्फत् तिब्बतीय नाकासम्म जोडन सकिन्छ । यी राखिएका विचारहरूले हिमाली, पहाडी र मधेशी जनताको बिचमा ब्यापक मैत्रीपूर्ण अन्तरघुलन भई राष्ट्रियताको जग अत्यन्त मजबुत बन्न सक्दथ्यो ।

विद्युतको विकासले यातायात र कृषि क्षेत्रको विकाससंगै दैनिक उपभोग्य उपयोगमा समेत चमत्कारी परिवर्तन ल्याउनेछ । आशालाग्दो एउटा वामपन्थी सरकार भएको नाताले बेरोजगारी हटाउन, मुलुकमा समृद्धि ल्याउन, हामीले यी सवै परियोजनाबारे व्यापक सुझाव दिएको र ती सुझावलाई ग्रहण गर्न पटक पटक सुझाव दिएका थियौं । जनतालाई भ्रम सिर्जना गर्न ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’को नारा त दिनुभयो, पानीजहाज चलाउने कुरा पनि गर्नुभयो, घर घरमा ग्याँस ल्याउने कुरा पनि गर्नुभयो, तर गन्तब्य भने गिरिजाप्रसाद कोइरालाले अवलम्बन गरेको असफल अर्थ नीतिको सहारा लिने, व्यापार घाटा वृद्धि गर्ने, उत्पादनका केन्द्रहरू भत्काउने र भ्रष्टाचारको सहारा लिंदै राष्ट्रियतामाथि प्रहार गर्ने कार्य नै गर्नुभयो । 

७० वर्षको वामपन्थीहरूको अविरल संघर्षको परिणामस्वरूप यो सरकार भएकोले यो सरकार माथिको भरोसा जनताको अत्यन्त तीब्र थियो । कमरेड ओलीको आफ्नै स्वेच्छाचारी दम्भ, हठ र विदेशी साम्राज्यवादी÷ विस्तारवादी तागतका अगाडि षडयन्त्रमूलक ढंगले गरेको आत्मसमर्पणले सबै क्षेत्रबाट भूकम्पीय ढंगले गर्ल्यामगुर्लुम्म ढल्न पुग्यो । एमसीसी प्रतिको षड्यन्त्रमूलक तानाबाना र भारतीय जासुस रअको प्रमुख सामन्त गोयल सँगको अपवित्र गठबन्धनले वामपन्थीहरूको छविमा नराम्रो दाग लागेको छ । एमसीसीको षड्यन्त्रमा अहिले पनि उहाँ गठबन्धन भत्काउने नाउँमा लागी नै पर्नुभएको छ भने सामन्त गोयलसँगको भेटघाटपछि उहाँको सरकारले पटक पटक संसद विघटन गर्नुले उहाँको स्वेच्छाचारी मनोवृत्तिलाई देखाउँछ । नागरिकता अध्यादेश ल्याउनु, भारतको २२ सय किमी चेनड्याम सम्पन्न गर्न गिट्टी, बालुवाको सौदावाजी गर्न चाहनु र महन्थ ठाकुरसँगको साँठगाँठले संविधानको संसोधन गर्ने उहाँको राष्ट्रघाती प्रवृत्तिलाई उजागर गरेको छ । 

२०५१ सालको कमरेड मनमोहन अधिकारीको अल्पमतको एकल सरकार, त्यसपछि २०६५ सालको कमरेड प्रचण्डको संयुक्त सरकार, २०६६ सालको कमरेड माधव नेपालको संयुक्त सरकार, २०६८ सालको कमरेड बाबुराम भट्टराईको संयुक्त सरकार, २०७२ सालको कमरेड केपी ओलीको संयुक्त सरकार र २०७४ पछिको बामपन्थीहरूको प्रचण्ड बहुमतकोे सरकार र विभिन्न अन्य लोकतान्त्रिक शक्तिहरूसँग मिलेर बनेको सरकारसँग गम्भीर मूल्याङ्कन गरेर मात्र हामी भावी गन्तव्यको बाटो पहिल्याउन सक्दछौँ  । र, त्यसले मात्र जनताको अहिलेको अन्तरविरोधलाई सही ढंगले समाधान गर्न सक्दछ । 

२०६२ सालको १२ बुँदे सम्झौतापछि एकातिर वैदेशिक हस्तक्षेप प्रगाढ बनेर आयो भने अर्कोतिर नेपाली राजनीतिको क्षितिज अत्यन्त तरल ढंगले उथल पुथल भएर अघि बढ्यो । बामपन्थीहरूको प्रचण्ड बहुमतको सरकारलाई उपलब्ध गराएको सुझावलाई समयमा नै आत्मसात गर्न सकेको भए जनताको तात्कालिक समस्यालाई समाधान हुँदै देशले कोल्टो फेर्ने चरणमा प्रवेश गर्न सक्दथ्यो । 

सारतः २०४६ साल पछिको परिवर्तनपछि निकै उथल पुथल हुने गरी राष्ट्रिय राजनीतिमा परिवर्तन आयो । धेरै पटक बामपन्थीहरूको सरकार पनि बन्यो । तर आमजनताको सरोकार सम्बोधन गर्ने दिशामा यो पूर्णतः असफल भयो । उल्टो भइरहेका संरचना ध्वस्त भएर सत्ता पुरा जनचाहना विपरित उभिएको छ । यसबाट के बामपन्थीहरूले देश र जनतालाई सम्बृद्ध बनाउने र स्वाधीन नेपाल, सुखी नेपाली बनाउने नारा काल्पनिक र नारा मात्र हुन त् रु जनतामा भ्रम सिर्जना भएको छ । 

अथवा भनौं, विगतमा सामन्त, दलाल नोकरशाही, पुँजीवादी वर्ग र नेपाली जनताको बिचको अन्तरविरोधको स्थानमा लोकतन्त्र प्राप्तिपछि दलाल नोकरशाही, पुँजीवाद बचेखुचेको सामान्त वर्गको हातमा सत्ता केन्द्रित भई उनीहरूको बिच र नेपाली जनताको बिचको अन्तरविरोध प्रखर र प्रधान बन्न पुगेको छ । लोकतन्त्र प्राप्तीपछि पनि जनताका मूलभूत समस्या समाधान नहुनुमा सत्तामा रहेको उपरोक्त वर्ग नै बाधक भएको छ । यो व्यवस्था र निर्वाचन पद्धतिबाट माफिया, दलाल तथा नोकरशाह र विजातिय तत्वको हातमा सत्ता केन्द्रित भएको छ ।

अबको स्थितिमा नेपाली समाजलाई समाजवाद उन्मुखतर्फ लैजान माथि भनिएझैं जलस्रोत, जडिबुटी, खानी खनिज र उद्योगको विकास, पर्यटन र कृषिको आधुनिकीकरण नै हो । त्यस्तै, शासकीय सुधार नगर्ने हो र परम्परावादी राजनैतिक शक्ति र त्यो शासन पद्धतिबाट फड्को नमार्ने हो भने स्थितिमा कुनै परिवर्तन नहुन सक्दछ ।

त्यसैले, समाजवादको आधार खडा गर्न सक्ने त्रान्तिकारी कम्युनिष्ट पार्टीको हालको आवश्यकतालाई पुरा गर्न न्यूनतम रूपमा नै भएपनि क्रान्तिकारी बामपन्थी र देशभक्तहरूको जालो रहेको हुनुपर्दछ । नेपालमा मूलतः ३ प्रकारका कम्यूनिष्ट पार्टीहरू देखा परेका छन् । क्रातिकारिताको नाउँमा देखा परेको जडसुत्रवादी धारा, बामपन्थी देशभक्ति धारा र अति दक्षिणपन्थी वा दक्षिणपन्थी धारा हुन् । आजको युगमा साम्राज्यवाद÷एकाधिकार पुँजीवादको र नोकरशाही पुँजीवादको दलाली नगरी दक्षिणपन्थी धारा फस्टाउदैन र टिक्नै सक्दैन । यो धाराको खतरा प्रवल छ भने प्रतिक्रियावादी धारासँग नै वामपन्थी देशभक्त धारा वा समाजवादी धारा बिचको अन्तरविरोध प्रखर रहेको छ ।

आज बामपन्थी आन्दोलन नराम्ररी थिलथिलो हुने गरी विभाजित छ । यसभित्र प्रतिक्रियावादको घुसपैठ पनि गम्भीर छ । नेपाल अहिलेको चरणमा शान्तिपूर्ण ढंगबाट समेत माथि उल्लेखित जनताको लोकतान्त्रिक अधिकारसहित जनजीविका र राष्ट्रियताको सम्वद्र्धनसहित समृद्धिको यात्रामा अघि बढ्दै जनताका तात्कालिक समस्या समाधान गर्न सक्छ । बाम आन्दोलनभित्र देखा परेको अराजकतावाद, संकीर्णता, तानाशाही प्रवृत्ति तथा षड्यन्त्रकारी कार्यशैली, व्यक्तिवाद र अस्तित्ववादले आन्दोलनलाई चकनाचुर बनाएको छ । 

यी सबै प्रवृत्तिसँग जुध्दै सबल क्रान्तिकारी बामपन्थी तथा देशभक्तहरूको न्यायप्रेमी पार्टी आजको प्रमुख आवश्यकता हो । त्यसको लागि खुल्ला दिलले र हिजोको कमीकमजोरीबाट पाठ सिक्दै अघि बढ्नु पर्दछ । नेपालमा रहेका स्वघोषित क्रान्तिकारी शक्ति र बामपन्थी तथा देशभक्तहरूको विभाजनकारी प्रवृत्तिका कारण प्रतिक्रियावादीहरूले पटक पटक अवसर पाएका छन् । अर्कोतिर स्वयम् बामआन्दोलन भित्रका साम्रज्यवाद एवं अन्य प्रतिकृयावादको पिछलग्गु हुने प्रवृत्ति पनि अन्यन्तै बाधकको रूपमा रहेको छ ।

७० वर्षको कम्युनिष्ट पार्टीको प्रचण्ड बहुमतपछि पार्टीको सरकार गिर्नु र पार्टी चकनाचुर भई नयाँ पार्टी गठन गर्नपर्नु स्थिति आफैमा विडम्बनापूर्ण छ । यसको लागि कमरेड केपी ओली नै मुख्य दोषी हुनुहुन्छ ।  सरकार बनाउने यस्तो अवसर पटक पटक नआउन सक्छ । यो लगायत पटक पटक अन्य बेलामा सञ्चालित बाम सरकारको समीक्षा र मूल्याङ्कन निर्मम ढंगले गर्दै नयाँ बाटो तय गरिनुपर्दछ । तर नयाँ पार्टी गठन गर्नुपर्ने आफैमा चुनौतीपूर्ण छ । हाम्रो एकताले यो चुनौतीपूर्ण स्थितिको सामना गर्न फड्को मात्र मार्नेछैन कि, सबल वामपन्थी एवम् देशभक्तहरूको क्रान्तिकारी पार्टी निर्माणमा पनि कोशेढुंगाको काम गर्नेछ भन्ने आशा र विश्वास लिदै यस एकतामा सामेल हुन अन्य क्रान्तिकारी, बामपन्थी तथा देशभक्तहरूलाई अपील समेत गर्दछु ।
 

प्रतिक्रिया दिनुहोस