aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

थप अतिरिक्त एक मात्रा खोप अभियान स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ पुस २०७८
थप अतिरिक्त एक मात्रा खोप अभियान स्थगित

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१८ विरुद्धको खोपको थप एक अतिरिक्त मात्रा खोपको अभियान कार्यक्रम स्थगित गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको पूरा मात्रा लगाउनुपर्ने भएकोले अहिलेका लागि अतिरिक्त थप एक मात्रा खोप अभियान कार्यक्रम स्थगित गरिएको बताए । 

“सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान दु्रत गतिमा सञ्चालन गर्न आवश्यक छ”, उनले जारी गरेको सूचनामा भनिएको छ, “त्यसैले प्राविधिक विषयमा थप छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा अनुरोध छ ।”

मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिन थालिएको थियो । कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिइन थालेको हो । 

मन्त्रालयले मध्यम तथा गम्भीररूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई अतिरिक्त मात्रा खोप दिइन थालेको थियो । 

प्रतिक्रिया दिनुहोस