aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

'काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ पुस २०७८
'काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक'

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको नयाँ ‘भर्सन’ आवश्यक रहेको बताएका छन । बिहीबार लगानी बोर्डको बैठकमा बोल्दै उनले विकास काठमाडौं केन्द्रित भएकाले अर्को शहरको आवश्यकता रहेको बताएका हुन  ।

उनले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम क्षेत्रमा नयाँ सहर निर्माण गर्नुपर्ने पनि बताए । उनले वर्तमान परिप्रेक्ष्यमा कम्तिमा तीन वटा ठूला सहरको निर्माण गर्नुपर्ने औँल्याए । ‘काठमाडौं सहरको नयाँ भर्सन चाहियो । दूर–दराजका ठाउँमा नयाँ काम गर्यो भने त्यहाँ सहर बन्दो रहेछ’, उनले भने, ‘नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौँ भने विकासको अर्को नयाँ ढोका यहाँबाट खुल्नेछ ।’

मन्त्री शर्माले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगहरू लागानी बोर्डले क्षेत्रगत विशिष्टिकरण गरेर गर्नुपर्नेमा जोड दिए । पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजनाहरू निर्माण गर्नुपर्ने उनको भनाइ थियो । उनले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाहरू अघि सार्न लगानी बोर्डलाई भने । त्यस्तै जलविद्युत क्षेत्रमा तीन वटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए । ‘बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी जस्ता ठूला आयोजनामा तपाईँहरूले ध्यान दिनुहोस्’, उनले भने । 

त्यस्तै उनले काठमाडौं–पोखरा–लुम्बिनीका लागि तीव्र गतिको यायाता पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए । यसका लागि अध्ययन गर्न समेत उनले निर्देशन दिए । ‘काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्र्याक वा लिक (रेलको) बनाए पनि भयो । तर द्रूत गतिमा पुग्ने हुनुप¥यो’, उनले भने, ‘यो योजना तपाईँहरूको विशिष्टिकृत योजनामा हुनुप¥यो ।’

बैठकमा नेपाल सकारका मुख्यसचिव शंकरदास वैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुनप्रसाद पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस