aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ साउन २०७६
छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

 काठमाडौं । जिल्ला अदालत काठमाडौंले चलचित्र निर्माता छवि ओझा र उनकी कान्छी पत्नी शिल्पालाई पक्राउ गर्नका निम्ति महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको छ ।

जेठी श्रीमती हेमाले बहुविवाह गरेको आरोपमा दुवैविरुद्ध उजुरी दिएकी थिइन् । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

हेमा ओझाले महानगरीय प्रहरी वृत्त, गौशालामा आइतबार जाहेरी दरखास्त दिएकी हुन् । गौशाला प्रहरीले उक्त जाहेरी बुझी मुद्दालाई कालिमाटीस्थित महिला सेलमा पठाइदिएको छ ।

निर्माता ओझाले हेमासँग २०४१ सालमा विवाह गरेका थिए । जाहेरीमा हेमाले पति छविको विभिन्न महिलासँग नाम जोडिएर आए पनि विवाह नै गरेको भन्ने प्रमाण आफूले नपाएको उल्लेख गर्दै शिल्पाको हकमा विवाह दर्ता नै फेला पारेपछि आफूसँग सम्बन्ध कायम रहँदारहँदै बहुविवाह गरेकाले पति छवि र शिल्पालाई विपक्षी बनाउँदै बहुविवाहको मुद्दामा कानुनबमोजिम हदैसम्मको सजाय माग गरेकी छन् । 

शिल्पा र छविको सम्बन्धबारे मिडियामा चर्चा भएपछि आफूले उनलाई के हो भनेर सोधेको तर जवाफमा छविले मैले अर्को विवाह गरेको के प्रमाण छ भनेर सोधेको हेमाले जाहेरीमा उल्लेख गरेकी छन्।

साउन ३ गते आफूले छवि र शिल्पाको विवाह दर्ताको कागजात  पाएकाले सोही आधारमा बहुविवाहको उजुरी दिएको उनले बताएकी छन्।

‘घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग म यो जाहेरी लिई उपस्थित भएकी छु,’ हेमाले भनेकी छन्।

उनले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न अनुरोध गरेकी छन्।  

नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ  जरिमाना हुनसक्छ। 

प्रतिक्रिया दिनुहोस