काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)भित्र घमण्डी नेताको छवि बनाएका अनिलकुमार झाको दुई महिने कार्यकाल शुन्यमा समाप्त भएको छ । चक्रीय प्रणाली अनुसार झा राजपा नेपालको दुई महिनाका लागि संयोजक बनेका थिए । झाको घमण्ड र अहम्ताले गर्दा राजपा अध्यक्षमण्डलको बैठक एक पटक पनि बस्न सकेन । झाको इज्जत बचाइदिन जनकपुरधाममा साउन ४ र ५ गते अध्यक्षमण्डलको बैठक
बसेको भनेर विज्ञप्ति जारी गरियो । तर, दुई दिन बैठक बसेकै थिएन ।
झाले आफूसहित राजपाका छ जना नेताहरूलाई सहमतिमा ल्याउन नसकेकै कारण कार्यकाल अवधिभर बैठक राख्न नसकेका हुन् । बैठक बसेको दुबै दिन महन्थ ठाकुर काठमाडौंमा थिए । राजकिशोर यादव सिराहामा बाढीपीडितको उद्धार र राहतमा थिए । राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी आ–आफ्नो जिल्लामा बाढीपीडितहरूको उद्धारमा खटिएका थिए । स्रोतका अनुसार झाको इज्जतका लागि फोनमा सहमति कायम गरेर कीर्ते विज्ञप्ति जारी गरिएको थियो । साउन ६ गतेदेखि राकिशोर यादव राजपा नेपालको संयोजक बनेका छन् । उनको कार्यकाल दुई महिनाको हुनेछ । उनलाई पनि अध्यक्षमण्डलको बैठक राख्न चुनौती हुनेछ । तर, राजपाभित्र राजकिशोर यादवलाई कुशल खेलाडी नेताका रुपमा धेरैले लिन्छन् ।
यसैबीच, राजपाले सरकारी जग्गा कब्जा गरेर केन्द्रीय कार्यालय सञ्चालन गरेको छ । राजपाले वन विभागको सरकारी कार्यालय परिसरमै मधेश भवन नामाङ्कन गरी आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेको छ । राज्यको सम्पत्ति दुरुपयोग गर्दै मधेशी निजामती कर्मचारी मञ्चले वन परिसरभित्र निर्माण गरेको भवन राष्ट्रिय जनता पार्टी नेपाललाई प्रयोग गर्न दिएको छ ।
कर्मचारीको हकहितका लागि भन्दै गठन भएको कर्मचारीको संगठनको कार्यालय राजनीतिक पार्टीलाई प्रयोग गर्न दिनु अनुचित रहेको टिप्पणी धेरैको छ । एक दर्जनभन्दा बढी सरकारी कार्यालयको कम्पाउन्डभित्र राजपाले डेड वर्षदेखि केन्द्रीय कार्यालय चलाउँदै आएको छ । ०६८ सालमा मन्त्रिपरिषद्बाट निर्णय गरेर कर्मचारीको राष्ट्रिय संगठनले पेसागत गतिविधि गर्ने शर्तमा वन परिसर बबरमहलमा जग्गा भोगाधिकार दिएको थियो । जग्गामा निर्माण भएको तीनतले भवनका नौ कोठामध्ये आठ कोठा राजपाले प्रयोग गर्दै आएको छ । युनाइटेड पोष्टबाट
प्रतिक्रिया दिनुहोस