aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

‘नेपालको अर्थतन्त्रमा ठूलो समस्या सिर्जना हुनसक्छ’

  • रिता राउत
    रिता राउत
  • आइतबार, ०२ माघ २०७८
‘नेपालको अर्थतन्त्रमा ठूलो समस्या सिर्जना हुनसक्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आर्थिक स्थितिमा धेरै सूचकांकहरुमा नकारात्मक स्थिति रहेको जनाएको छ । शोधनान्तर हालसम्मकै उच्च घाटादेखि विदेशी मुद्रा सञ्चितिमा कमीसँगै रेमिट्यान्स पनि लगातार घटिरहेको छ । विदेशी मुद्रा सञ्चितमा कमी, व्यापार घाटा, रेमिट्यान्समा कमी, पुँजीगत खर्चमा पनि कमी देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांक हेर्ने हो भने चालु खाता ३०० अर्ब ६९ करोडले घाटामा रहेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब रुपैयाँ घाटामा रहेको थियो ।  

त्यस्तै, विदेशी विनिमय सञ्चित पनि घटेको राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ । नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको रेमिट्यान्समा समेत नेपाल आउने क्रममा उल्लेख्य रुपमा घट्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आई३८८ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । तर, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३१,०८२ पुगेको छ ।   

२०७८ मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.९३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत रहेको छ ।

मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेको योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री बताउँछन् । उनले भने, ‘मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेको छ । मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने दुई खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पनि उच्च बिन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।’ 

यस्तो अवस्था पनि हाम्रो चेत खुलेन भने अर्थतन्त्र सुधार नहुने भन्दै उनी भन्छन्, ‘हामीले गाउँघरमा खेतबारी बाँजो राखेर धानदेखि कोदो, फापरसम्म विदेशबाट आयात गरेका छौं । यस्तो भएपछि व्यापार घाटा नबढेर के हुन्छ ?’ साथै उनले अर्थतन्त्र सुधारका लागि हामीमा पनि जोस जागर हुन आवश्यक रहेको छ । 

अहिले उत्पादनशिल क्षेत्रमा हामी लागि पर्यो भने भोलीका दिनमा हामी अन्य देशको भरमा पर्नु पर्ने स्थिति नआउने उनको भनाई छ । एक उदाहरण दिदै क्षेत्री भन्छन्, ‘हामी माथि उडेको चरा हेरेर ओहो त्यसलाई कति आनन्द छ । म पनि चरा भएको भए त्यसरी नै आनन्दले घुमेर खान्थे । यस्तो सोच्ने भनेको पेट भरिएको बलामा मात्रै हो । त्यो चरालाई पनि दिनभर खानेकुरा खोज्नलाई सास्ती हो नी ? चराले आफ्नो आहाराको लागि दिनभर गरेको मेहेनत जसरी हामीले पनि गर्यो भने अरुको भर पर्नु पर्ने अवस्था आउँदैन । यसो गर्न सकिएन भने हाम्रा पुस्ता अझै दास भएर जानुपर्ने हुन्छ ।’ 

उनका अनुसार पाँच महिनामा लाखौं नेपाली युवाहरु विदेशीका छन् । यसले भयावह अवस्था देखाउँछ । पहिला महामारीमा बाच्न नेपाल आउने गर्थे तर अहिले महामारी भए पनि विदेश जानेको लर्को रहेको छ । देशमा बसेर के खाने के लाउने र के गर्ने भन्ने स्थिती सिर्जना भएका कारण लाखौँ संख्यामा विदेशीका छन् ।    

उनले भने, ‘विदेश जानेहरु संख्या बढेपनि रेमिट्यान्स आयातमा कमि आएको छ । रेमिट्यान्स घट्नुको कारण चाँही डेभियसन भएर अन्त कतै गएर हो । यसलाई फर्मल सेक्टरबाट ल्याउनका लागि विभिन्न किसिमको सहुलियत दिनुपथ्र्यो । केहि सहुलियत दिँदा पनि रेमिट्यान्स डाइभर्ट भइरहेको छ यसमा सरकारले सोच्नु पर्ने हुन्छ ।’ त्यस्तै, उनले अहिले हामी विदेशी रहेका छौं । तर, भोलीका दिनमा ती देशहरुले पनि तिमीहरु हामीलाई चाहिदैन भन्यो भने के गर्ने भन्ने स्थिती आउन सक्छ । 

त्यस्तै, विदेशी मुद्रा सञ्चितमा कमी, व्यापार घाटा, रेमिट्यान्समा कमी, पुँजीगत खर्चमा देखिएको कमी आउनु भनेको अर्थतन्त्र चिन्ताजनक अवस्थामा रहेको पूर्व अर्थसचिव तथा अर्थविद् रामेश्वर खनाल बताउँछन् । उनी भन्छन्, ‘राष्ट्र बैंकको तथ्यांकलाई नै हेर्ने हो भने नेपालको अर्थतन्त्र चिन्ताजनक अवस्थामा रहेको छ । यस्तै अवस्था लम्बिँदै जाने हो भने नेपालको अर्थतन्त्रमा ठूलो समस्या सिर्जना हुनसक्छ ।’ 

विदेशी मुद्राको स्रोत कमजोर भएका कारण र कर्जा प्रवाह उच्च भएका कारण अर्थतन्त्र यो अवस्थामा आएको अर्थविद् खनाल बताउँछन् । उनी भन्छन्, ‘अहिले विदेशी मुद्राको स्रोत कमजोर भएको पक्कै हो । विदेशी मुद्राको स्रोत कमजोर भएका कारण र कर्जा प्रवाह उच्च भएका कारण अर्थतन्त्र यो अवस्थामा आएको हो ।’  

उनका अनुसार विदेशी मुद्राको स्रोतलाई करेक्सन गर्ने हो भने पनि अर्थतन्त्र सुध्रिन्छ । यसबारे सरकारले गम्भिर भएर यसको लागि पहलकदमी चाल्नुपर्ने हुन्छ । खनालले भने, ‘यस्तै स्थितीमा ठिकै छ भन्दै छोड्ने हो भने अर्थतन्त्र झन् खस्किन सक्छ । अर्थतन्त्र राम्रो छ भन्दै भाषण मात्रै गर्ने हो भने अर्थतन्त्र झन बिगे्रर जान्छ ।’   

अहिले अर्थतन्त्र यो अवस्थामा आउनुमा विभिन्न कारण रहेको बताउँदै अर्थविद् खनाल भन्छन्, ‘अहिले यो अवस्था आउनुमा विभिन्न कारण रहेका छन् । जसमा पनि उच्च कर्जा प्रवाह भयो । रेमिट्यान्स अन्तै डाइभर्ट भयो । यससँगै वैदेशिक सहायता पनि आउन छाड्यो । यसअघि आएको सहायता पनि खर्च हुन नसक्नु हो ।’ 

उनका अनुसार करिब दुई वर्ष कोरोनाका कारण आर्थिक गतिविधी सुस्त भएको थियो । डेढ वर्षको अवधि लगानी कम भयो । कोरोना भाइरसको महामारी नसकिदै हामी रिकोभरि मोडमा गयौं । पर्यटन क्षेत्रलगायत विभिन्न आर्थिक गतिविधी चलायमान भए । आवश्यक कच्चा पदार्थहरुको आयात पनि बढ्न थाल्यो । यसले गर्दा उच्च कर्जा प्रवाह भयो  ।  

उनले भने, ‘रिकोभरिको मोडमा उच्चदरले कर्जा प्रवाह भयो । त्यति मात्र होइन आयातमा पनि वृद्धि भयो । तर, त्यसको अनुपातमा विपे्रषण र विदेशी मुद्राको स्रोतमा हुनुपर्ने वृद्धि भएन ।’ साथै, उनले विप्रेषणमा वृद्धि नहुनुमा विप्रेषणको पैसा सम्भवत अन्त कतै डाइभर्ट भएको हुनसक्ने बताए । 

यसअघि विदेशी पर्यटकहरुले वार्षिक अढाई सय अर्ब जति विदेशी मुद्रा भित्र्याउने गरेको उनको भनाई छ । उनले भने, ‘विदेशी मुद्राको स्रोतका रुपमा रहेको पर्यटन क्षेत्रमा बाह्य पर्यटक नआएका हुनाले विदेशी मुद्रा आएन । विदेशी पर्यटक आएका थिए भने सय डेढ सय अर्ब विदेशी मुद्रा थप्रिन्थ्यो । तर, यो मुद्रा आएन ।’    

सरकारले वैदेशिक सहायताको रकमको समेत खर्च गर्न नसकोे उनले बताए । उनले भने, ‘वैदेशिक सहायतको रकम अहिलेको सरकारले खर्च गर्न सकेको छैन । यसले गर्दा दातृ निकायले पनि पैसा दिन हिच्किचाइरहेको अवस्था छ । नेपाललाई संकट परेका बेला जसले सहजरुपमा सहायत दिन्थे उनीहरुले पनि होल्ड गरेर राखेको अवस्था छ ।’   

उनका अनुसार आन्तरिक र बाह्य ऋण पनि बढिरहेको छ । अहिले हाम्रो ऋणको अनुपात ४० प्रतिशत पुगेको छ । अघिल्लो साल २५ प्रतिशत रहेको थियो । ५० प्रतिशतसम्म ऋण पुग्यो भने पनि त्यति जोखिम नहुने उनको भनाई छ । तर, त्यो लिएको ऋणको सदुपयोग हुनुपर्यो । जुन उद्देश्यले ऋण लिएको छौं त्यसमा सदुपयोग गर्नुपर्ने उनले बताए । सरकारले सकेसम्म धेरै खर्च गर्नुपर्ने उनको सुझाव छ ।  


 
 

प्रतिक्रिया दिनुहोस