aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

रोजेका निकायमा ल्याउन गुनासो सम्बोधनको नाटक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
रोजेका निकायमा ल्याउन गुनासो सम्बोधनको नाटक

काठमाडौं । कर्मचारी समायोजन सम्पन्न भएको भन्दै समायोजन महाशाखा खारेज गरेको करिब ३ साता पछि गुनासो सम्बोधनको नाममा आफ्नालाई रोजेको ठाउँमा ल्याउन चलखेल सुरु भएको छ । सरकारका उच्च प्रशासक निकटलाई रोजेका निकायमा ल्याउन गुनासो सम्बोधनको नाममा चलखेल सुरु भएको हो ।

असार २० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन महाशाखा विघटन गरी तत्कालिन महाशखाका प्रमुख केदार पनेरुलाई योजना शाखाको जिम्मेवारी दिइएको थियो। महाशाखा विघटन गरिएका पनि मन्त्रालयलका कर्मचारीले गुनासो बुझ्ने काम भने जारी राखेका छन् । 

मन्त्रालयका प्रवक्ता भुपाल बरालले अहिले पनि दिनहुँ ३÷४ जना कर्मचारीहरूको गुनासो आउने गरेको बताए। उनले भने, ‘समायोजन पछि पनि सम्बन्धित कार्यालयमा पुगेका कर्मचारीहरूले समेत कार्यालय चित्त बुझ्दो भएन भन्दै समायोजन संशोधन गर्न गुनासो बुझाउने गरेका छन्।’

त्यस्ता कर्मचारीहरूको गुनासो सुन्न्ने, सकेसम्म सम्बोधन गर्ने मन्त्रालयको तयारी रहेको पनि उनले जनाए। तर गुनासो सम्बोधनको नामममा आफू निकट कर्मचारीहरूलाई आकर्षक कार्यालयमा ल्याउन चलखेल सुरु भएको मन्त्रालय स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘यसअघि सफ्टवयरबाट समायोजन गर्दा समायोजन निष्पक्ष भयो तर अहिले गुनासो सम्बोधन गर्ने नाममा आफ्ना मान्छेलाई आकर्षक कार्यालयमा ल्याउन चलेखल सुरु भएको छ।’ गुनासो सम्बोधन गर्न मन्त्रालयले एउटा समिति पनि बनाएको थियो ।

समितिले समायोजन परिमार्जन गर्न माग राख्दै गुनासो राखेका कर्मचारीमध्ये १सय ५० कर्मचारीलाई कडा रोग तथा मानसिक स्वास्थ्य समस्या भएको कारण देखाइ संघको पुल दरबन्दीमा ल्याउन सिफारिश गरेको छ।

अर्को चरणमा पुन केही कर्मचारीलाई पुल दरबन्दीमा राख्न सिफारिश गर्ने तयारी भइरहेको मन्त्रालयले स्रोतले बतायो। स्रोतले भन्यो, पुल दरबन्दीमा ल्याइएका र ल्याउन तयारी भएका कर्मचारीहरू अधिकांश पहुँचको भरमा आउने गरेका छन् ।’

प्रदेश र स्थानीय तहमा समायोजन गरिएका केही कर्मचारी नेतालाई समेत पुल दरबन्दीमा ल्याउने तयारी भइरहको स्रोतले बतायो । पुल दरबन्दीमा आउन चाहने कर्मचारीमध्ये अधिकांशले मानसिक स्वास्थ्यको समस्या देखाउने गर्छन।

त्यस्ता कर्मचारीलाई डाक्टरले नै मानसिक स्वास्थ्यको समस्या भएको प्रेसकाइप्सन गर्ने गर्ने गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस