
भारतीय बजारमा अहिलेसम्मकै उच्च रहेको नेपाली अदुवाको मूल्य एक्कासी घटेपछि अदुवा व्यवसायी चिन्तित बनेका छन् ।
गत हप्ता बिहीवार र शुक्रवार नेपाली व्यापारीले अदुवा १८५ रुपैयाँ प्रतिकेजीमा खरीद गरी भारतीय बजारमा २४० रुपैयाँ प्रतिकेजीसम्ममा विक्री गरेका थिए ।
आइतवारदेखि भारतमै उत्पादित अदुवा बजारमा आउन थालेपछि नेपाली अदुवाको मूल्य घटेर भारू। १०० रुपैयाँ प्रतिकेजी पुगेको छ । जसले गर्दा कोशीका पहाडी जिल्लाबाट आएका अदुवाको मूल्य पनि घट्न थालेको छ ।
खरीद गरेको मूल्यभन्दा पनि कम भएपछि अदुवामा घाटा बेहोर्नु परेको व्यवसायीको भनाइ छ ।
दुई दिनमा करीब ९ लाख रुपैयाँ बराबरको घाटा बेहोर्नु परेको अदुवा व्यवसायी विनोद कुलुङ बताउँछन् । उनले गत शुक्रवार १८५ रुपैयाँ प्रतिकेजीका दरले करीब दुई ट्रक अदुवा खरीद गरेका थिए ।
अहिले भारतीय बजारमा अदुवा प्रतिकेजी भारू. १०० रहेको छ । प्रतिट्रक अदुवा भारतको दिल्ली पुग्दा साढे ४ लाख रुपैयाँ घाटा लाग्ने उनको भनाइ छ ।
भारतीय बजारमा चलेको दरभाउ अनुसार कृषिजन्य उत्पादन खरीद गर्नुपर्ने हुन्छ । तर, त्यही वस्तु भारतको दिल्ली पुग्दा ४ दिन लाग्छ ।
त्यसबेलासम्म मूल्य घटबढ हुँदा व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईको भनाइ छ ।
पछिल्लो समय अदुवाको निकासी सहज भएको छ तर उत्पादन गुणस्तरीय हुन नसक्दा भारतकै दरभाउमा भर पर्नुपरेको छ ।
अन्तरराष्ट्रिय मापदण्ड अनुसार गुणस्तरीय अदुवालाई प्याकेजिङ र ग्रेडिङ गर्न सके राम्रो मूल्य पाइने सम्भावना भएकाले यसतर्फ राज्यको ध्यान केन्द्रित रहनुपर्ने गरेको समाचार आजको अभियान दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस