
वासिङटन । पछिल्लो उच्च प्रगतिको मार्गमा लम्केको चीनले अमेरिकालाई पनि उछिनेको छ । आम्दानीका आधारमा विश्वकै ठूला कम्पनीको सूचीमा पहिलो पटक चीनले अमेरिकालाई पछाडि पारेको हो ।
सन् १९९० मा विश्वव्यापी 'ग्गोबल–५००' सार्वजनिक गर्न थालिएयता चीनले आफ्नो व्यापार युद्धको प्रतिद्वन्द्वी मुलुक अमेरिकालाई पहिलो पटक पछाडि पारेको हो । यो सूचीमा हालसम्म अमेरिकी फर्महरुको बर्चश्व रहदै आएको थियो, जुन तोडिएको छ ।
विश्वको शक्ति रुपान्तरणको रुपमा ताइवानका १० कम्पनी सहित चीनका १२९ कम्पनी फर्चुन–५०० को सूचीमा परेका हुन् । दोस्रोमा रहेको अमेरिकाका १२१ कम्पनी परेको हालै सार्वजनिक सूचीले खुलासा गरेको छ ।
वरियतामा वालमार्ट लगातार छैटौ वर्षमा पहिलो स्थानमा परेको छ । यो कम्पनी यो स्थानमा १९९५ यता चौध पटकसम्म परेको छ । यो कम्पनीले ५०० अर्ब डलर भन्दा बढीको आम्दानी गर्न सफल भएको छ । दोस्रो स्थानमा चीनको राज्य स्वामित्वको तेल र ग्यास कम्पनी सिनोपेक ग्रुप रहेको छ । गत वर्ष नाफा र आम्दानी दुवैमा भएको ठूलो बद्धिका कारण यो कम्पनी दोस्रो स्थानमा पर्न सफल भएको हो ।
३९६.५५६ अर्ब डलरको आम्दानी गर्न सफल रोयल डच सेल तेस्रो स्थानमा परेको छ । सूचीको शीर्ष पाँचमा थप दुई चिनियाँ कम्पनी परेका छन् । यसमा चिनियाँ राज्य स्वामित्वको सीएनपीसी र स्टेट ग्रिड रहेका छन् ।
यी दुई कम्पनीको आम्दानी क्रमशः ३९२.९७६ अर्ब डलर र ३८७.०५६ अर्ब डलर रहेको छ । संख्याको आधारमा चिनियाँ कम्पनीले अमेरिकालाई पछाडि पारे पनि कुल आम्दानीका आधारमा भने अझै पनि चिनियाँ कम्पनीहरु अमेरिका भन्दा ठूलो अन्तरले पछि रहेका छन् । ग्लोबल–५०० को कुल आम्दानीमा चिनियाँ कम्पनीहरुको हिस्सा २५.६ प्रतिशत रहेको छ ।
यसमा अमेरिकी कम्पनीको आम्दानी २८.८ प्रतिशत रहेको छ । सूचीमा पर्ने सबै कम्पनीहरुको कुल आम्दानी ३२७ खर्ब डलर रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले बढी हो । यो विश्वको कुल जीडीपीको एक तिहाई बराबर हो ।
सूचीमा नवप्रवेशीको रुपमा पर्न सफल २५ कम्पनीमा साउदी अरबको पनि रहेको छ । यो कम्पनी विश्वकै सर्वाधिक नाफा गर्न सफल कम्पनीको रुपमा रहेको छ । नव प्रवेशी २५ मा चीनका १३ रहेका छन् । यसमा चाइना डेभलपमेन्ट बैंक, रेल निर्माता सीआरआरसी कम्पनी, स्मार्टफोन निर्माता साओमी पनि लगायतका परेका छन् ।
अमेरिकाको कालो सूचीमा परेको र चालू व्यापार युद्धको मारमा परेको भएपनि हुवावेको उकालो यात्रा रोकिएको छैन । यो कम्पनी गत वर्षको ७२ औं स्थानबाट यो वर्ष ६१ औं स्थानमा उक्लिएको छ ।
पूर्णअर्थमा २१ औं शताब्दी चिनियाँ सताब्दी भएको जनाउँदै कम्तीमा पनि व्यापारमा चीनले बर्चस्व कायम गर्न थालेको फर्चुनको विश्लेषण छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस