aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

काठमाडौं महानगरको बजेट संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ माघ २०७८
काठमाडौं महानगरको बजेट संशोधन

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट रु ४२ करोड ८४ लाख ७९ हजार बजेटको कार्यक्रम संशोधन गरेको छ । कामपाको १०औँ अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । 

कामपाको सञ्चित कोषबाट कार्यान्वयन हुने रु १६ अर्ब आठ करोड ७० लाख १२ हजार र बाह्य कोषबाट कार्यान्वयन हुने रु दुई अर्ब ८७ करोड सात लाख गरी कामपाले चालु आर्थिक वर्षमा कूल बजेट रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार  विनियोजन गरिएको थियो ।  

संशोधनबाट ज्येष्ठ नागरिक निःशुल्क खोप कार्यक्रमका लागि रु एक करोड ५० लाख थप गरिएको छ । यसैगरी, फोहोरमैला प्रभावित क्षेत्रका स्थानीयवासीसँग समय समयमा भएका सहमति कार्यान्वयन गर्ने क्रममा यसअघि छुट भएको शिक्षक दरबन्दी अनुदानसहित प्रभावित क्षेत्रबाट माग भएर आएका योजनालाई संशोधनमा समेटिएको छ । 

“जुन शीर्षकमा काम गर्ने लक्ष्य राखिएको थियो, विभिन्न कारणले त्यो कार्यक्रम कार्यान्वयनमा आउन नसक्ने भएपछि सम्बन्धित विभाग र वडाको मागबमोजिम शीर्षक परिवर्तन गरिएको हो”, कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । अधिवेशनले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिइएको १० प्रतिशत छुटको सुविधालाई चैत मसान्तसम्म दिने निर्णय गरेको पनि जनाइएको छ ।  आर्थिक ऐन २०७८ को दफा २ अनुसार लाग्ने करमा दिइएको छुटको अवधि बढाइएको हो ।  

प्रतिक्रिया दिनुहोस