aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

फेरि क्षेप्यास्त्र परीक्षण गर्‍यो उत्तर कोरियाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ साउन २०७६
फेरि  क्षेप्यास्त्र परीक्षण गर्‍यो उत्तर कोरियाले

सोल । उत्तर कोरियाले दुई छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले पूर्वी तटीय शहर वोनसान नजिकैबाट दुई क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

परीक्षण गरिएको एक क्षेप्यास्त्र ५० किलोमिटरको उचाइ लिएर ४३० किलोमिटर टाढा समुद्रमा गई खसेको र अर्को क्षेप्यास्त्र पनि ५० किलोमिटरको उचाइ लिएर ६ सय ९० किलोमिटर टाढा समुद्रमा खसेको जनाइएको छ ।

परीक्षण गरिएको केही लामो दूरीको दोश्रो क्षेप्यास्त्र नयाँ किसिमको रहेको दक्षिण कोरियाली अधिकारीले जनाएका छन् । पछिल्लो क्षेप्यास्त्र परीक्षणका विषय अनुसन्धान थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कोरियाली सीमाक्षेत्र डीएमजीमा भएको भेटवार्तापछि उत्तर कोरियाले पहिलोपटक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

दुई नेताबीच भएको भेटवार्तापछि उत्तर कोरियाली–अमेरिकी सम्बन्ध केही सुमधुर हुने अपेक्षा भइरहेका बेला उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणलाई निकै चासोपूर्वक हेरिएको छ । यसबारे अमेरिकाको ह्वाइट हाउस, विदेश मन्त्रालय वा पेन्टागनले कुनै टिप्पणी गरिसकेका छैनन् ।

दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालय ब्लू हाउसले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको पुष्टि गरेको छ भने त्यहाँको रक्षा मन्त्रालयले क्षेत्रीय सुरक्षामा असर पार्ने तथा तनाव कम गर्न सहयोग नगर्ने यस्ता गतिविधि नगर्न उत्तर कोरियासमक्ष आह्वान गरेको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आबेले भने उत्तर कोरियाको पछिल्लो कदमबाट जापानको सुरक्षामा तत्काल कुनै असर नपार्ने टिप्पणी गरेका छन् । उनले उत्तर कोरियाको पछिल्लो कदमबारे अमेरिकासँग छलफल भइरहेको समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस