aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

८० वर्षपछि यस कारणले घटेछ नेपालको जनसंख्या वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ माघ २०७८
८० वर्षपछि यस कारणले घटेछ नेपालको जनसंख्या वृद्धि

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ ।

 यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । जनसंख्या घट्नुमा नेपालमा जनसंख्या नियन्त्रणका लागि ३० वर्षदेखि चालिएको प्रयासले सार्थकता पाएको विज्ञहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक जनसंख्याविद् पद्मप्रसाद खतिवडा जनसंख्या नियन्त्रणका प्रयासहरूले सफलता पाए पनि यसरी जनसंख्याको वृद्धिदर घट्नु मुलुकका लागि चिन्ताको विषय भएको बताउँछन् । नेपालको जनसंख्या नियन्त्रणबाट व्यवस्थापन गर्ने भनिए पनि राज्यको प्रयास निरर्थक रहेको उनको धारणा थियो । 

नेपालमा जनसंख्याको वृद्धिदरमा आएको असन्तुलनले तराईका अधिकांश भागमा अत्याधिक जनसंख्या हुने र उच्च पहाडी तथा हिमाली भेगमा भने जनसंख्या शून्यको अवस्थामा आउने भएकाले राज्यले उच्च पहाडी र हिमाली क्षेत्रमा भने जनसंख्या नियन्त्रण नगरी त्यस क्षेत्रमा जनसंख्या बढाउने काम गर्नुपर्ने खतिवडाले बताए । आजको नेपाल समाचारपत्र दैनिकबाट  

प्रतिक्रिया दिनुहोस