काठमाडौं । नेपालमा अहिले कोरोना भाइरस (कोभिड–१९) महामारीको तेस्रो लहर फैलिएको छ । महामारी कहिले कम हुन्छ भन्ने निश्चित हुने अवस्था छैन । कोरोना महामारीसँगै उद्योग व्यवसाय क्षेत्रमा पनि उत्तिकै त्रासदीपूर्ण अवस्था छ ।
तेस्रो लहरको बिचमा स्वास्थ्य मापदण्ड पालना गर्दै अत्यावश्यकीय सेवासँगै उद्योग व्यवसाय पनि सञ्चालनमा ल्याएर मुलुकको अर्थतन्त्रलाई भरथेग गर्न खोजिएको छ । जसका कारण धेरै उद्योग बन्द हुनबाट जोगिएका छन् ।
तर, करिब दुई वर्षदेखि कोभिडका कारण प्रभावित भएका कतिपय उद्योग सञ्चालनमा आउन सकेका छैनन् । ती उद्योग सञ्चालनमा आउन नसक्दै कोरोनाको तेस्रो भेरियन्ट सुरु हुँदा उद्योग व्यवसाय फेरि प्रभावित हुन पुगेको छ । त्यति मात्र होइन सञ्चालनमा रहेका उद्योग व्यवसाय पनि पुनः प्रभावित हुन पुगेका छन् । राम्रोसँग लयमा फर्कन नपाउँदै उद्योग व्यवसाय पुनः संकटतिर धकेलिएका हुन् ।
शेखर गोल्छा, अध्यक्ष, उद्योग वाणिज्य महासंघ
लत्ताकपडादेखि सवारीसाधनसम्मको बजारमा माग ठप्प छ । यससँग सम्बन्धित उद्योगहरू बन्द छन् । निर्माणसँग सम्बन्धित उद्योगहरू भने सञ्चालनमा रहेका छन् । अहिलेको अवस्थामा समग्रमा अहिले ६० प्रतिशत उद्योगहरू सञ्चालनमा रहेका छन् । अन्य ठप्प जस्तै छन् ।
सञ्चालन भइरहेका उद्योगहरूमा पनि सञ्चालन पुँजी नभइरहेको अवस्थामा बैंकहरुले उद्योगीहरूलाई ब्याज र किस्ता तिर्न दबाब दिइरहेका छन् । उद्योगहरूमा काम गर्ने कामदारहरूले पूर्ण मात्रामा खोप लगाएका छन् ।
तर, उद्योगबाट उत्पादित सामानको बजारमा माग नभएको कारण उद्योग सञ्चालन हुन सकेका छैनन । दैनिक उपभोग्य बस्तु बाहके अन्य बस्तु तथा सामानको माग नहुनु भनेको अहिले बजारमा भएको तरलताको अभावको असर आम मानिसको दैनिकीमा परेको छ ।
राजेन्द्र मल्ल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
कोरोनाको पछिल्लो भेरियन्टका कारण फेरि पर्यटन क्षेत्र संकटमा पुगेको छ । राम्रोसँग लयमा फर्कन नपाई पर्यटन क्षेत्र पुन संकटमा पुगेको हो । यसबाहेक अहिले समग्रमा हेर्ने हो भने अर्थतन्त्र संकटमा पुगिहालेको छैन । पर्यटन बाहेक अन्य क्षेत्र प्रायजसो चलायमान नै छन् ।
हालसम्म लगभग सबै व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप लगाइसकेका छन् । बाँकी रहेकाहरूलाई पनि हामीले खोप लगाउन लगाइरहेका छौँ । खोप लगाएका व्यवसायीहरूले ढुक्कले आफ्नो व्यवसाय चलाएका छन् । तर, व्यापारमा मन्दी आउन थालेको छ ।
अहिले ५० प्रतिशतमा कोरोना सङ्क्रमण भइसकेको छ । तर, सामान्य रुघाखोकी लागेको हो भन्दै घरमै पिसिआर परीक्षण नगरी बसेका छन् । यसरी नै सङ्क्रमण बढ्दै जाने हो भने अर्थतन्त्र पनि संकटतिर जान सक्छ ।
सरकारले पनि सम्पूर्ण नागरिकलाई गाउँ गाउँ र टोल टोलमा गएर कोरोना विरुद्धको खोप लगाउनु पर्छ । यसमा नेपाल चेम्बर अफ कमर्सले गर्ने सहयोग गर्न तयार छ । खोप अभियानलाई तीव्र पारेर, सङ्क्रमण फैलिन नदिन विभिन्न उपाय अपनाएर भए पनि अर्थतन्त्र चलायमान राख्न सरकारले जोड दिनुपर्छ ।
विनायक शाह, प्रथम उपाध्यक्ष, नेपाल होटल एसोसिएसन
कोरोना महामारीले सबैभन्दा बढी मारमा परेको पर्यटन क्षेत्र हो । करिब दुई वर्ष अघिदेखि विश्वभर फैलिएको कोरोना महामारीका कारण गरिएको लकडाउनका कारण पर्यटकको आवागमन नै ठप्प भयो । जसका कारण पर्यटन व्यवसायी थला परेका थिए । लकडाउन खुलेसँगै बिस्तारै लयमा फर्किएका पर्यटन व्यवसायी कोरोना महामारीको नयाँ भेरियन्टले पुन सङ्कटमा पर्ने हो कि भन्ने त्रासमा छौँ ।
कोरोना महामारीका कारण २० प्रतिशत पर्यटक पलायन भइसकेका छन् । कोरोनाको नयाँ भेरियन्टका कारण पर्यटन ठप्प हुँदा अझै धेरै पर्यटन व्यवसाय पलायन हुने अवस्था आइसकेको छ । स्वास्थ्यका मापदण्ड पालना गर्दै व्यवसाय पनि सञ्चालन गरेका छन् । तर, व्यापार भने सुस्ताएको छ ।
महामारीका कारण विशेष परिस्थिति सिर्जना भएका बेलामा राज्यले विशेष प्रकारले काम नगरेका कारण व्यवसायीहरूको मनोबल खस्कँदै गइरहेको छ । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावितको सूचीमा रहेको पर्यटन क्षेत्रमा हालसम्म पुनर्कर्जा, सहुलियत ब्याज, सरकारले बजेटमार्फत ल्याएको ५० अर्बका कोष परिचालन गर्ने विषय समेत राज्यले कागजमा मात्र सीमित राखेको छ ।
पर्यटन व्यवसायको ऋणको ब्याज छुट, कोभिड–१९ प्रभावित कर्मचारीलाई ५० प्रतिशत तलबको व्यवस्था, कोरोनाबाट अति प्रभावित व्यवसायीलाई राज्यबाटै घर भाडा छुट जस्ता माग राखेको थियो । तर, यी मागहरू राज्यसम्म त पुगे तर कार्यान्वयन गर्न तर्फ राज्य लागेन ।
अरनिको राजभण्डारी, अध्यक्ष, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन
व्यापार व्यवसाय सुस्ताउँदै गएपछि कतिपय व्यवसायीहरूले घाटामै भए पनि होटल तथा रेष्टुरेन्टहरु बेचिरहेको छन् । व्यवसाय नै बेच्नुपर्ने अवस्था आएको छ । विकल्प नै नभेटेपछि कति व्यवसायीहरूले आत्महत्या नै गरेका घटना पनि छन् । कर्मचारीलाई तलब दिनै पर्यो घर बहाल तिर्नु पर्यो, अझै ९५ प्रतिशत व्यवसायीहरू घर भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।
कतिपय व्यवसायीहरूले व्यवसाय सुरु गर्न नपाइ लगानी सबै डुब्यो । एक अर्काको अवस्था हेरेर पनि ऋण गरेरै भए पनि व्यवसाय टिकाउन लाग्दा झन् ऋणमा डुब्दै गएका छन् । एउटै व्यवसाय बाट १ करोडभन्दा बढी घाटा व्यहोर्न पर्ने अवस्था आइसकेको छ । केही समयमा सहज होला भनेर बस्दा बस्दै व्यवसाय झन् बिजोक भएको छ । कर्मचारी पाल्न सकेका छैनौ । उनीहरूलाई छोडेर जाऊ भन्न नि सकिँदैन । राख्न पनि खल्ती रित्तो भइसकेको छ ।
बैंकहरुको ब्याजले गर्दा व्यवसायीहरू धेरै मारमा परेका छन् । बैंकबाट ऋण लिएर व्यवसाय गरेकाहरूलाई बैंकले ब्याज बढाएपछि झन् समस्या भएको छ । बैंकहरुले ब्याज छुट पनि गरिदिएनन् । एकातिर आम्दानी छैन अर्को तर्फ बैंकले ब्याज बढाइरहन्छ । पहिले धेरै व्यापारीहरू नेपाल मै बसेर केही गर्न सकिन्छ भन्ने अवस्था थियो । तर यस्तो अवस्था सिर्जना भएपछि धेरै जसो व्यापारीहरू नै बैदशिक रोजगारीमा जानुपर्ने अवस्था आएको छ ।
सरकारले व्यवसायीहरूलाई पुनर्कर्जा दिए पनि साना व्यवसायीको पहुँच नपुगेका कारण उनीहरू झन् थप मारमा परेका छन् । पुनर्कर्जा केही व्यवसायीहरूले बाहेक अरूले पुनर्कर्जा पनि पाएका छैनन् । ठूला होटलहरुलाई बैकहले नै पहल गरिदिएर पुनर्कर्जा दियो । तर, साना व्यवसायीहरूमा भने केही भएन ।
देशको आर्थिक पाटो व्यापार व्यवसाय नै हो । व्यवसायीहरू डबे भने यसको प्रत्यक्ष असर बैंक र देशको आर्थिक क्षेत्रमा पनि पर्छ । हामी एउटै जहाजमा छौँ भन्ने कुरा सरकार र बैंकवालाहरुले पनि बुझ्नु पर्छ ।व्यवसायीले ऋण लिएर तिरेको ब्याजले नै बैंकहरुले नाफा कमाएका हुन् । यस्तो परिस्थितिमा उनीहरुले हाम्रो स्थितिलाई नबुझेमा भोलि बैंकहरु पनि डुब्ने अवस्था आउँछ ।
निरु रायमाझी क्षेत्री, अध्यक्ष, महिला उद्यमी महासंघ
कोरोनाले महिला उद्यमीहरूलाई धेरै नै असर गरेको छ । महामारी झन् फैलिँदै गएपछि धेरै कामहरू रोकिएको छ । अहिले त धेरै जसो कर्मचारी पनि यसको सङ्क्रमणको सिकार भएका छन् । उद्योगमा आउन सकेका छैनन् । जसले गर्दा उत्पादन पनि धेरै घटेको छ ।
यसअघिको लकडाउनमा भन्दा अहिले व्यापार भने केही मात्रामा चलेको छ । पहिले व्यापार ठप्प नै रहेको थियो । केही काम पनि गर्न सकेका थिएनौ । जान आउन पनि समस्या थियो । कच्चा पदार्थहरूको पनि अभाव थियो । तर अहिले भने सामान्य गतिमा भए पनि काम भइरहेको छ ।
सङ्क्रमित नभएकाहरूले घरमा नै बसेर अनलाइनबाट काम गर्ने गरेका छन् । कोरोना महामारीले डिजिटल प्रणालीले धेरै कुरा सिकाएको छ । डिजिटल माध्यबाट नेटवर्किङ पनि राम्रो भएकाले अहिले त्यति धेरै निष्क्रिय भएर बस्नुपर्ने अवस्था छैन । कामको रूपमा हेर्ने हो भने पहिले जस्तो ठप्प नै भएको छैन ।
तर, अहिले कामदार कम भएकाले बजारको माग अनुसार उत्पादन गर्न सकेका छैनौ । धेरै जसो महिलाहरू हस्तकलाका सामान, खाद्य वस्तुको निर्माण र हर्बलका सामानहरू निर्माण गर्ने गर्दछन् । यसका साथै दैनिक जीवनमा आवश्यक पर्ने सामानहरू बनाउने भएकाले अनलाइन डेलिभरी मार्फतको बिक्री पनि राम्रो भइरहेको छ । उत्पादन भएका खाद्य पदार्थ, ढाकाका कपडा, न्यानो कपडा, धूप र स्यानिटाइजरहरु अनलाइन माध्यमबाट बिक्री वितरण गरिरहेका छौँ ।
कमला श्रेष्ठ, अध्यक्ष, सौन्दर्यकला महासंघ
अहिले सौन्दर्य व्यवसाय चल्ने सिजन हो । त्यसैले हामीले स्वास्थ्य मापदण्ड अपनाएर एकदमै सीमित मान्छेहरूलाई लिएर व्यापार सञ्चालन गरिरहेका छौँ । तर,अहिले २० प्रतिशत पनि व्यापार छैन । लकडाउन हुन्छ भन्ने हल्लाका कारण त्रासमा व्यापार सञ्चालन गरिरहेका छौँ ।
कोरोना महामारी बढे पनि व्यवसाय बन्द गरेर बस्ने अवस्थामा छैनौँ । तर अहिले फेरी व्यापार घट्दै गएको छ । फेरी लकडाउन भएमा पहिले कै स्थितिमा पुग्न बाध्य हुन्छौँ । कोरोना महामारीले पहिले थला परेको यो व्यवसाय फेरी पनि लकडाउन भयो भने घुँडा टेक्ने बनाउँछ ।
मधुसुदन प्रधान, अध्यक्ष, नेपाल चलचित्र संघ
केही समय अघि हलिउड र बलिउडका फिल्म लागेका बेला केही मानिसहरू हलमा आएका थिए । यसले गर्दा पछिल्लो यी विदेशी चलचित्रसँगै नेपाली चलचित्र बिस्तारै हलमा लाग्न थालेका थिए । तर, सरकारले फेरी स्मार्ट लकडाउन भनेर सिनेमा हलहरू नै बन्द गरिदियो । फेरी कहिले खुल्छ थाहा छैन । यसले गर्दा चलचित्र उद्योग क्षेत्र झनै दयनीय अवस्था पुगेको छ ।
यसअघिको लकडाउनमा फिल्म उद्योग क्षेत्रले सरकारबाट केही राहत पाएनौँ । सिनेमा हल नचलेको समयको बत्तीको पैसा, अन्य क्षेत्रहरूलाई पनि छुट दिएकाले गर्दा त्यो सुविधा हामीले पनि पाउनु पर्छ माग पनि राखेका थियौँ । तर, अहिलेसम्म कुनै निकास निस्केन ।
तीन वर्षको अवधिमा करिब एक अर्ब ८० करोड रुपैयाँ लगानीको ४० वटा फिल्महरू अझै सञ्चालन हुन सकेका छैनन् । चलचित्र उद्योग नै ठप्प हुँदै गएपछि कलाकर्मीहरू पलायन हुनु पर्ने स्थिति आएको छ । हामीले आफ्नो घर जग्गा बैंकमा राखेर ऋणमा डुबेर कारोबार गरेका हुन्छौँ । सरकारले फिल्म क्षेत्रमा आबद्ध भएकाहरूलाई विभिन्न सहुलियत सहित कम्तीमा पाँच वर्षसम्म छुट गरिदिए सहज हुने थियो ।
आकाश अधिकारी, अध्यक्ष, चलचित्र निर्माता संघ
कोरोना महामारीका कारण चलचित्र क्षेत्रमा मात्र हैन अन्य क्षेत्रलाई पनि असर परेको छ । तर यसको असर सबैभन्दा बढी फिल्म उद्योगलाई पर्यो । केही चलचित्रहरू छायाङ्कन सकेर रोकिएका, कोही पोष्ट प्रोडक्शनमा रहेका, केही सिनेमा सेन्सर गरेर बसेका छन् भने केही सिनेमा रिलिजका लागि समय लिएर दुई वर्ष देखि रोकिएका छन् । झन्डै १ अर्ब ५५ करोडको लगानी रहेका ८५ सिनेमा आधा काम सकेर निर्माणमा रहेको आँकडा छ ।
सिनेमा निर्माण गर्न त्यति सहज छैन । धेरै जसो निर्माण कर्मीले हाउजिङ ऋण र व्यावसायिक ऋण भनेर ऋण लिएर फिल्म बनाएका हुन्छन् । अहिले त्यही ऋणको पासोमा परिरहेका छौँ । सरकारले विना पूर्व जानकारी स्मार्ट लकडाउन गरिदियो । बन्द हुन सक्छ है मात्र भनिदिएको भए पनि हलमा फिल्म लगाउने थिएनौँ । डेढ करोड लगानी लागेको चलचित्र प्रत्यक्ष मारमा परेको छ । यसको उदाहरणकोरुपमा चपली हाइट ३ लाई लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस