aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

१० हजार विद्यार्थीले लाखौं पैसा तिरेर पनि पढ्न जान पाएनन्

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • विहीबार, १३ माघ २०७८
१० हजार विद्यार्थीले लाखौं पैसा तिरेर पनि पढ्न जान पाएनन्

काठमाडौं । विदेश गएर उच्च शिक्षा पढ्ने सपना देखेका अधिकांस नेपाली युवा पीढिको प्रमुख गन्तव्यमा पर्छ, जापान र अष्ट्रेलिया । यी बाहेक अन्य मुलुकहरुमा पनि नेपाली विद्यार्थीहरु अध्ययनका लागि जाने गरेका छन् ।  जापान र अष्ट्रेलियाको तुलनामा अन्य देशमा अध्ययनका लागि जाने विद्यार्थीको संख्या धेरै कम छ । पछिल्ला केही वर्ष यतादेखि जापानमा पढ्न जाने विद्यार्थीहरु बढेको देखिन्छ । 

कक्षा १२ पास गरेपछि अध्ययनका लागि जापान जाने सपना धेरै विद्यार्थीले बनाएका हुन्छन् । जसले गर्दा कतिपय विद्यार्थीहरु कलेजमा भन्दा जापनिज भाषा सिक्न धेरै समय खर्च गरिरहेका देखिन्छ । तर, पछिल्लो दुई वर्षदेखि यता कलेज भर्ना नगरी जापनिज भाषा पढेर जापान जाने सपना देखेका विद्यार्थीहरु अहिले अलपत्र परेका छन् । 

विश्वभरि फैलिएको कोरोना महामारीले विदेश गएर पढ्ने सपना देखेका विद्यार्थीहरुको सपनालाई पनि निराश बनाइदिएको छ । महामारी बढेपछि सबैजसो देशहरुले भिसा र बोर्डर बन्द गरेपछि विद्यार्थीहरु मारमा परेका हुन्  । जापनीज भाषा पास गरेर भिसा आए पनि जान नपाएका अधिकांस विद्यार्थीहरु के गर्ने भन्ने अन्योलमा छन् । त्यससँगै उनीहरुको शैक्षिक भविष्य नै अन्धकारमा पर्ने होकी भन्ने चिन्ता गर्न थालेका छन् ।

तर, अहिले कोरोना महामारी कै बिचमा पनि भाषा पढेर विदेश जान रोकिएका धेरै जसो विद्यार्थीहरु केहि देशमा भने फेरी जान थालेका छन् । तर, जापान र न्युजिल्याण्ड उच्च शिक्षा हासिल गर्न जानका लागि पैसा बुझाएका विद्यार्थीहरु जान नरोकिएको नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले बताए । 

उनी भन्छन्, ‘भिसा आएर रोकिएर बसेका विद्यार्थीहरु जापान र न्यजिल्याण्ड बाहेक अन्य सबै देशमा गइरहेका छन् । जापान सरकारले बिचमा लाने भने पनि ओमिक्रोन बढेसँगै सबै भिसा रोकेको छ ।’

विद्यार्थीहरुलाई नआत्तिक बस्न आग्रह गर्दै उनले भने, ‘एक हप्तामा केही निर्णय आउँछ ।’ उनका अनुसार जापान सरकारले फेब्रुअरी पछि सबै विद्यार्थी लाने तयारी गरिरहेको छ । अष्ट्रेलिया जान सबै प्रक्रिया पुगेका विद्यार्थीहरुका लागि भने कुनै पनि रोक नरहेको उनले बताए । 

उनी भन्छन्, ‘अष्ट्रेलिया जानका लागि कोरोनाको परिक्षण पीसीआर नेगेटिभ आएका र जानुभन्दा चौध दिन अघि खोप लगाएका विद्यार्थीहरु अघिल्लो दिन भिसा लिएर भोलिपल्ट गइरहेका छन् । कुनै रोक छैन । नयाँ भिसा लिएकाहरु पनि गइरहेका छन् । न्युजिल्याण्डले पनि अप्रिल बाट बोर्डर खोल्ने भनेको छ । जापान सरकारले कहिले खोल्छ भनेर कुरिहेका छौै ।’

जापान जानका लागि भने फेब्रुअरी अन्तिम र मार्चको पहिलो हप्तादेखि सुरु हुन्छ भन्ने अपेक्षामा बसेको उनी बताउँछन् । पाण्डे भन्छन्, ‘जापान जान सीओइ आएका १० हजार विद्यार्थीमध्ये जापानका कलेजमा फि तिरेर बसेका पाँच हजार विद्यार्थीहरु अलपत्र छन् । उनीहरुको पैसा गइसक्यो । जान पाउने नपाउने टुङगो छैन ।’ साथै जापान जान रोकिएर बसेका सबै विद्यार्थीहले एनओसी समेत लिइसकेको उनले जानकारी दिए ।  

तर, भारतमा पढ्न जाने विद्यार्थीहरुको हकमा भने कुनै रोक नभएको उनले बताए । उनी भन्छन्, ‘केही कारण वश इन्टिच्यूसनले रोकेको बाहेक सरकारले बोर्डर बन्द गरेको छैन । कुनै विश्व विद्यालयले अनलाइन पढाउछौ भनेर नगएको भए अलग कुरा हो भारत पढ्न जान कोही विद्यार्थी रोकिएका छैनन् ।’ 

लामो समयदेखि विद्यार्थीहरु विदेश जान नपाउँदा मानसिक तनावमा रहेका विद्यार्थीहरु रहेको उनले बताए । साथै जापान जान पैसा पठाइसकेको विद्यार्थीहरु भोलि जान पाएनन्् भने उनीहरुको पैसा कसरी फिर्ता गर्ने भन्ने बारेमा नेपालको परराष्ट्र मन्त्रालयसँग पनि छलफल गरिसकिएको उनले जानकारी दिए । तर झै पनि कुनै निष्कर्ष भने ननिस्केको उनको भनाइ छ । 

यस्तै, स्वतन्त्र शैक्षिक परामर्श संघ(फेकन)का अध्यक्ष बासु नेपालले पनि जापान र न्युजिल्याण्ड बाहेकका अन्य देशहरुका विद्यार्थीहरु स्वतन्त्र रुपमा गइरहेको बताउँछन । उनका अनुसार भाषा पढेर जान नपाएका विद्यार्थीहरुमा जापान जाने विद्यार्थीहरु धेरै छन् । सीओइ आएर जापान जान रोकिएका विद्यार्थीहरुको संङख्या १० हजार रहेको उनले बताए । उनी भन्छन्, ‘कोरोना महामारीले बाहिर जान नपाएका विद्यार्थीहरुमा जापान जाने धेरै छन् । उनीहरु कहिले जान पाउँछन् भन्ने अझै टुङगो लागेको छैन । अष्ट्रेलिया जान रोकिएका विद्यार्थीहरु भने अहिले गइरहेका छन् ।’

जापान सरकारले फेब्रुअरी ५ तारिकसम्मका लागि रोकेको छ । तर, अब कहिले खोल्छ भन्ने अझै टुङगो नलागेको अध्यक्ष नेपालको भनाइ छ । उनका अनुसार अहिले भारतमा पढ्न जाने विद्यार्थीहरुको संङख्या न्युन रहेको छ । एनओसी लिएर पनि भिसा नलिएका विद्यार्थीहरु पनि छन् । एनओसी लिएका पनि सबै बाहिर जान्छन् भन्ने हुदैन । गएका पनि छैनन् । 

त्यस्तै, कोरोनाको समयमा बिचमा जान रोकिएको भएपनि अहिले क्यानडा, अमेरिका, बेलायत लगायतका देशहरुमा विद्यार्थीहरु पढ्न गइरहेको इन्टरनेशनल एजुकेशन इनिसेटिभ अफ नेपालका पूर्व अध्यक्ष कुमार कार्कीले बताए । 

उनका अनुसार अहिले सबैभन्दा बढी विद्यार्थी अष्ट्रेलिया गएका छन् । त्यहाँको सरकारले पार्टटाइम काम गर्ने कामदार कम भएकाले बाहिरबाट धेरै विद्यार्थीहरुको माग गरेको छ । साथै काम गर्ने समय पनि थप गरेको उनले बताए । उनले भने, ‘महामारीले गर्दा लामो समय भिसा रोक गरेपछि काम गर्नेको संङख्या कम भएपछि भिसा पनि खुलायो । काम गर्ने समय पनि थप गरेको छ । पहिले ४० घण्टा काम गर्न पाउँथे भने अहिले काम गर्ने समय असिमित गरिदिएको छ ।’

पहिले २ देखि ४ वर्षसम्मको भिसा थियो अहिले स्नातक र स्नातकोत्तर गर्नका लागि  भिसाको पनि समय थप गरेर तीन वर्षदेखि ५ वर्ष बनाएको छ । अहिले अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीहरुको लागि राम्रो अवसर रहेको उनी बताउँछन् । 
 

प्रतिक्रिया दिनुहोस