
अविरल वर्षामा गाडी चलाउनु खतरनाक हुनसक्छ। अहिले देशका धेरै भाग डुबानमा परेका छन्। खासगरी लगातार परिरहेको वर्षाका कारण तराई क्षेत्र डुबानमा परेको छ। पानीमा यसरी सवारी साधन डुब्दा धेरै क्षति पुग्न सक्छ। गाडी बिग्रने समस्या त छँदै छ इन्जिन समेत सिज हुने प्रवल सम्भावना हुन्छ।
त्यसैले वर्षायाममा सवारी चलाउँदा अतिरिक्त सावधानी अपनाउनु पर्ने हुन्छ। यसरी वर्षातको समयमा गाडी डुबिहाले विभिन्न उपाय अपनाउन सकिन्छ।
इन्जिन स्टार्ट नगर्नु
चालकले होस् पुर्याए कारको इन्जिन तथा गियरबक्सभित्र पानी छिर्दैन। त्यसका लागि यस्तो अवस्थामा भुलेर पनि इन्जिन स्टार्ट गर्ने प्रयास गर्नु हुँदैन। यदि इन्जिन स्टार्ट गरेमा पानी इन्जिनमा फैलिन गई धेरै इन्जिनका पाट्र्स ड्यामेज हुने तथा इन्जिन नै सिज पनि हुन सक्छ। भारी वर्षाका कारण कैयौं स्थानमा कारलाई पानीले नै ढाकेको हुन्छ।
माथिल्लो गियर प्रयोग नगर्नु
जमेको पानीबाट कार वा बाइक निकाल्दा जहिले पनि कम स्पिडमा ड्राइभिङ गर्नु पर्छ। जमेको पानीमा कार जहिले पनि पहिलो गियरमा चलाउनु पर्छ। यसले इन्जिनमा पानी छिर्न पाउँदैन। आवश्यक परेको समयमा ब्रेक लगाउन पनि सजिलो हुन्छ। याद राख्नुस् जमेको पानीमा ड्राइभिङ गर्दा जहिले पनि स्पिड कम गर्नु पर्छ र हल्का ब्रेक पनि लगाइ रहनु राम्रो हुन्छ।
संयमित हुने, इन्स्योरेन्स कम्पनीलाई खबर गर्ने
कार डुबी हालेको अवस्थामा सबभन्दा पहिला आफू संयमित हुनुपर्छ। प्रायः सवारीसाधनको फुल इन्स्योरेन्स गरेको हुने हुनाले इन्स्योरेन्स कम्पनीलाई सूचना दिनुपर्छ। कार पानीमा डुबेको समय र पानीको स्तर अनुसार विभिन्न क्षति पुगेको हुनसक्छ।
आफैं चलाउने प्रयास नगर्ने
पानी घट्यो भन्दैमा आफैं कार स्टार्ट गर्ने प्रयास कहिले पनि गर्नु हुँदैन। सबैभन्दा पहिला ब्याट्रीको कनेक्सन छुट्याउनु पर्छ। यसो गर्दा इलेक्ट्रिक सर्ट हुने सम्भावना हुँदैन। तुरुन्तै आफ्नो अथोराइज्ड सर्भिस सेन्टरलाई खबर गर्नुपर्छ।
मेकानिक्स वा अथोराइज्ड सर्भिस सेन्टरलाई खबर गर्ने
कार पानीमा डुबेमा इलेक्ट्रिक सिस्टम पूर्णत बिग्रिन्छ किनकि इलेक्ट्रिक सिस्टममा पानी परेपछि सर्ट हुने तथा खिया लागेर कनेक्सन टुट्ने हुन्छ। त्यस्तै, पानीले एयरफिल्टर ड्यामेज हुन्छ। कारमा रहेको लुब्रिकेन्ट, ब्रेकआयल, हाइड्रोलिक फ्युल सबै परिवर्तन गर्नुपर्छ। त्यसैले केही गरी कार पूर्णरूपमा पानीमा डुबिहाले तत्काल अथोराइज्ड सर्भिस सेन्टर वा मेकानिक्सलाई खबर गर्नुपर्छ। यो सामग्री आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस