
एजेन्सी । क्यानाडाली अधिकारीहरूले अमेरिकाको सीमा नजिक एक भारतीय परिवार मृत फेला परेको घटना मानव तस्करीसँग जोडिएको विश्वास गरिएको छ । अमेरिकासँग सीमा जोडिएको क्यानाडाको मनिटोबा सहरमा चिसोका कारण ३९ वर्षीय जगदीश पटेल, ३७ वर्षीया वैशालीबेन पटेल र उनीहरूका ११ वर्षीया छोरी विहांगी र तीन वर्षीय छोरा धार्मिकको मृत्यु भएको हो ।
क्यानडाका अधिकारीहरूले चार भारतीय परिवारका सदस्यको मृत्यु मानव बेचबिखनसँग जोडिएको विश्वास गरेका छन् । क्यानडाको मनिटोबा नजिकै अत्यधिक चिसोका कारण चारैजनाको मृत्यु भएको हो । परिवार पैदलै अमेरिका जान खोजेको रात माइनस ३५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
क्यानडामा भारतीय उच्चायोगले मारिएका परिवारका सदस्यहरूको पहिचान खुलेको छ । जुन पछि क्यानडाको रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) ले पुष्टि गरेको थियो ।
बिहीबार,आरसीएमपी सुपरिटेन्डेन्ट रोब हिलले एक पत्रकार सम्मेलन गर्दै पटेल परिवार पहिलो पटक जनवरी १२ मा क्यानाडाको टोरन्टो शहरमा विमानबाट पुगेको जानकारी गराएको थिए । यहाँबाट परिवार पश्चिमी क्यानडाको मनिटोबामा सरे र त्यसपछि जनवरी १९ तिर सीमावर्ती शहर इमर्सनमा सरे । उनीहरुको शव भोलिपल्ट राति भेटिएको थियो ।
क्यानाडा–अमेरिका सीमा नजिक इमर्सनमा कुनै पनि सवारीसाधन भेटिएनन् । जसले गर्दा कसैले उनीहरूलाई कारबाट छोडेको देखिन्छ र त्यहाँबाट पैदल हिँडे । रोब हिलले भने, “क्यानाडासँग परिचित नभएको परिवारले लामो समयसम्म यात्रा गरेको थियो।“ उनलाई कसैले सहयोग गरेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस