बेइजिङ । चीनमा अलपत्र परेका ४४ नेपाली महिला साढे दुई महिनापछि नेपाल फर्कने भएका छन् । चीन पठाएको कम्पास मेनपावरले नेपालबाट हवाइ टिकट पठाएपछि उनीहरू शनिबार चीनबाट नेपाल फर्कन लागेका हुन् ।
चीनको उत्तरपूर्वमा पर्ने ल्याउनिङ प्रान्तको तानतोङस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न भनी आएका ४४ नेपाली महिला बिगत साढे दुई महिनादेखि बिचल्लीमा परेका थिए ।
मेन पावर कम्पनीले झुक्याएर सिलाइको काममा पठाएको ती महिला सिलाइको सीप नभएकाले काम गर्न सक्ने अवस्थामा थिएनन् । उनीहरूलाई सम्झौताअनुसार पारिश्रमिक पनि दिइएको थिएन ।
तसर्थ उनीहरूले आफूलाई पठाउने कम्पास मेन पावर कम्पनी र बेइजिङस्थित नेपाली दूताबासलाई उद्दार गरेर नेपाल फर्काउन अनुरोध गरेका थिए ।
कम्पास मेन पावर कम्पनीका गिरिराज घिमिरे र राम कार्कीले चीनमा आएर नेपाली महिलालाई काम गर्न दबाब दिएका थिए । ४४ मध्ये २४ जनाले आफूहरूले काम गर्न नसक्ने बताएपछि बाँकी २० जनालाई भए पनि कम्पास मेनपावरले चीनमै काम गर्न फकाएको थियो ।
चिनियाँ कम्पनी तानतोङले पनि २० जनालाई काम गर्न दिएर बाँकी २४ जनालाई फर्काउने प्रारम्भिक सहमति भएको थियो । पछि २० जना मध्ये केही महिलाले आफूहरू पनि फर्कने बताएपछि चिनियाँ कम्पनीले कसैलाई पनि काममा नराख्ने बताउँदै चीनमा बसेको र खाएको तथा अन्य कागजाज मिलाउन भएको खर्चबापत प्रतिव्यक्ति ६०० अमेरिकी डलर माग गरेपछि कम्पास र तानतोङ कम्पनीबीच विवाद सुरु भएको थियो ।
पछि ३०० डलर क्षतिपूर्ति लिएर नेपाली महिलाहरुलाई फिर्ता पठाउन सहयोग गर्न अनुरोध गरेपछि त्यही अनुसार सहमति भएको दूताबासका नियोग उपप्रमुख सुशील लम्सालले नागरिकलाई बताए । पछि तानतोङले ६०० डलर नै चाहिने भनेपछि उद्दारको पर्खाइमा रहेका नेपाली महिलाको नेपाल फर्कने सपना अनिश्चित बनेको थियो ।
नेपाली कामदारको टिकट आइसकेको अवस्थामा उनीहरुलाई नरोक्न र राहदानी दिएर सहयोग गर्न भन्दै दूताबासले तान्तोङ कम्पनीलाई क्षतिपूर्ति लिने भए कम्पास कम्पनीमाथि मुद्दा हाल्न सुझाव दिएको लम्सालले बताए । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस