काठमाडौँ । सर्वोच्च अदालतले प्रादेशिक क्षेत्राधिकारविपरीत मुद्दामा आदेश गरेको भन्दै उच्च अदालत पोखराका तीन न्यायाधीशमाथि छानबिन र कारबाही प्रक्रिया अगाडि बढाउन आदेश गरेको छ ।
गोरखा ब्रुअरीको एक मुद्दामा प्रादेशिक क्षेत्राधिकारविपरीत आदेश गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तीन न्यायाधीशलाई छानबिन प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो । यद्यपि आदेश औपचारिक रूपमा सर्वोच्चले सार्वजनिक गरेको छैन ।
प्रधानन्यायाधीश जबराको इजलासले आदेशलाई गम्भीर त्रुटि भनेको छ । “प्रादेशिक क्षेत्राधिकारको गम्भीर त्रुटि गरी आदेश गरेको देखिएकाले अन्तरिम आदेश गर्ने उच्च अदालत पोखराका न्यायाधीशहरू जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवलाई न्याय परिषद् ऐन २०७३ बमोजिम आवश्यक छानबिन र कारबाही गर्ने प्रयोजनका लागि आदेशको प्रतिलिपि यसैसाथ राखी लेखी पठाउनू”, एकल इजलासको आदेशमा भनिएको छ ।
यसअघि पनि ३३ किलो सुन प्रकरणको आदेशको विषयलाई लिएर उच्च अदालतका एक न्यायाधीशलाई सेवाबाट बर्खास्त गरिएको थियो । यस्तै दुई न्यायाधीशको बढुवा रोक्का भएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस