aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अर्थको पत्र पाएपछि मन्त्री आले यसरी रन्थनिए !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ माघ २०७८
अर्थको पत्र पाएपछि मन्त्री आले यसरी रन्थनिए !

काठमाडौं। आफ्नो ‘दबंग’ शैलीको कारण निकै चर्चामा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले यही बेला आफ्नो कमाऊ धन्धामा अवरोध आएका कारण निकै तनावमा छन्। अर्थ मन्त्रालयले हालै उनको एक प्रस्ताव अस्वीकार गरेपछि आलेको ‘कालेसँग मिलेर भाले खाने’ योजना तुहिएको हो।

समाचार स्रोतका अनुसार मन्त्री प्रेम आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवामा रहेको गौतम बुद्ध विमानस्थलमा भइरहेको कामबाट दाम कमाउने सोच राखेका थिए। एसियाली विकास बैंकको लगानीमा विमानस्थल क्षमता अभिवृद्धि परियोजना अन्तर्गत एक वर्ष अघि अर्थात् सन् २०२० को डिसेम्बरदेखि नै काम भइरहेको छ।  त्यो प्रोजेक्टको नयाँ काम को ठेक्का प्रक्रियामा सहभागी चाइना हार्बर इञ्जिनियरिङ्गले सर्वाधिक कम मूल्यमा काम गर्ने गरी प्रस्ताव हालेको थियो। तर, सो कम्पनी एसियाली विकास बैंकको कालोसूचीमा परेको कारण एडिबीले त्यसलाई कामको जिम्मा दिन मानेन।

स्रोतले जनाए अनुसार सो चिनियाँ कम्पनी र मन्त्री आलेबिच भने अर्कै साँठगाँठ भैसकेको थियो। एडिबीले आफ्नो अडान नछोडेपछि आले बरु एडिबीलाई नै हटाउने तर चिनियाँसँगको 'डिल' अनुसारको रकम लिएरै छाड्ने निष्कर्षमा पुगे। सोही अनुसार उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पुस ९ गते प।सं। २०७८।०७९, च.नं. ९९ मा अर्थ मन्त्रालयलाई पत्र लेखे। बजेट व्यवस्था र श्रोत सुनिश्चितताको माग गर्दै लेखिएको सो पत्रमा आन्तरिक स्रोतबाटै उक्त निर्माण काम गर्ने र एडिबीलाई हटाउने प्रस्ताव थियो।

त्यसो गर्दा आफू खुसी आफूले चाहेको ठेकदारलाई ठेक्का दिन पाइने र राम्रो रकम हात लाग्ने विश्वासमा उनी मरीमेटर लागे। उनले आफ्ना नेता माधवकुमार नेपालको सिफारिसदेखि अर्थका मान्छेलाई लोभ्याउनेसम्म काम गरेको स्रोत बताउँछ।  तर, मुलुकको अर्थतन्त्र नै जर्जर अवस्थामा पुगेको छ भन्ने सामान्य हेक्का समेत नभएका मन्त्री आलेको प्रस्ताव यो बेला कसरी पुरा हुन्थ्यो। अर्थमन्त्रालयका एक उच्च अधिकारीले खिन्नता प्रकट गर्दै आलेको प्रस्ताव माथि टिप्पणी गरे,‘यस्ता त मन्त्री छन्।  के कुरा गर्नु र यो बेला विकास साझेदारलाई हटाएर आफै निर्माण गरौँ भन्छन्। महामूर्ख खोज्न अरू कतै जानु पर्दैन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गए भो।’

 तर, पनि आलेको दबाब कम भएन अन्ततः माघ १४ गते अर्थ मन्त्रालयले स्पष्ट भाषामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आन्तरिक स्रोतबाट खर्च गर्न नसकिने ब्यहोराको पत्र लेख्यो। यही पत्र हेरेर हो, मन्त्री आले हिस्स परेका। हुन पनि अर्थ मन्त्रालयले कतिसम्म हियाएर पत्र लेखेको छ भने आलेको मन्त्रालय अन्तर्गत भइरहेको निर्माणको नालीबेली नै पत्रमा उल्लेख गरेको छ। पत्रको भाषामा रमाउँदै अर्थका एक सहसचिवले भने, ‘सामान्यतया अन्तर मन्त्रालय पत्रमा यसरी अर्को मन्त्रालयको कामको ब्यहोरा खोलिँदैन। त्यो उनीहरूलाई थाहै छ भन्ने ठानिन्छ। तर, मन्त्री आलेलाई भने बुझाउनै परेको हुनाले यस्तो भाषा प्रयोग गरियो।’

हुन पनि अर्थ मन्त्रालयले पठाएको जवाफमा लेखिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणमा सञ्चालितक्यगतज South Asia Subregional Economic Cooperation Airport Capacity Enhancement Project अन्तर्गत त्रिभुवन विमानस्थलको Taxiway र Hanger Area विस्तार र स्तरोन्नतिका लागि एसियाली विकास बैंकसँग सम्झौता भई खरिद प्रक्रिया अगाडि बढेकोमा पुनः उक्त आयोजनामा नेपाल सरकारतर्फको स्रोत परिचालन गर्न स्रोत सुनिश्चितताको लागि पत्राचार भएको विषय पेस हुँदा, दातृ निकायसँग सम्झौता भई आयोजना कार्यान्वयनमा ल्याएको र नेपाल सरकार तर्फको स्रोतबाट समेत स्रोत व्यवस्थापन गर्न सहज अवस्था नरहेको हुँदा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणबाट नै उक्त परियोजना  कार्यान्वयन गर्नु गराउनुहुन नेपाल सरकार(सचिव स्तर), मिति २०७८।१०।१३ को निर्णयअनुसार अनुरोध छ ।’

कुल १९८ मिलियन अमेरिकी डलर अर्थात् साढे २३ अर्ब भन्दा माथिको प्रोजेक्ट हो, विमानस्थल क्षमता स्तरोन्नति प्रोजेक्ट। नेपाल सरकारको ४८ मिलियन डलर  र एसियाली विकास कोषको १५० मिलियन डलर यसमा खर्च हुँदै छ। सहुलियतपूर्ण ऋणका रुपमा प्राप्त त्यही १५० मिलियन डलर नलिने र नेपालकै आन्तरिक स्रोत परिचालन गर्ने प्रस्ताव आलेले अर्थ मन्त्रालय समक्ष राखेका हुन्।  

रोचक प्रश्न त यो छ कि तरलता अभावका कारण सबै क्षेत्रमा त्रासदी छाएका बेला  विदेशबाट पैसा आउने प्रोजेक्ट जुन चालु अवस्थामा छ त्यो रोकौँ भन्ने बुद्धि कसरी पलाएको होला मन्त्रीको कुर्चीमा विराजमान महामहिम आलेलाई ?  आलेबाट नै शब्द  सापट लिएर  भन्ने हो भने निस्फिक्री भन्न सकिन्छ, ‘ठेक्कामा सेटिंग मिलाउने बाहेक उनको अरू आशय प्रमाणित हुनै सक्दैन।’ तर पनि खुसीको कुरा नै भन्नुपर्छ अर्थ मन्त्रालयले मन्त्री आलेको मन भने खिन्न पारिदिएको छ।

प्रतिक्रिया दिनुहोस