
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सरकारी सुविधामा भन्सार छुट गराएर १६ वर्षअघि किनेको एउटा गाडीको रोचक कथा छ । तत्कालीन मूल भट्टका लागि भनेर किनिएको गाडी उनले चढ्न त के देख्नसमेत पाएनन् ।
सात लाख ३० हजार पाँच सय ७५ रुपैयाँमा किनिएको बा ५ च २०९२ नम्बरको मारुती स्टिम गाडीको ‘फेक एक्सिडेन्ट’ बनाएर सात लाख ८० हजार भुक्तानी गरिएको छ । अझै ६ लाख ९० हजार तिर्न बाँकी रहेको भन्दै आठ वर्षदेखि गाडी ज्ञानेश्वरस्थित पपुलर वर्कसपमा थन्क्याइएको छ ।राष्ट्रिय सतर्कता केन्द्रले ‘फेक दुर्घटना’ भन्दै प्रतिवेदन तयार गरेको यो गाडीको खास कथा ३० जेठ ०६२ बाट सुरु हुन्छ ।
यही दिन कोषले पशुपतिका मूल भट्टका लागि भन्दै भन्सार छुटमार्फत सात लाख ३० हजार पाँच सय ७५ रुपैयाँमा गाडी खरिद गरेको थियो, तर मूल भट्टले चढ्न पाएनन् । कोषका तत्कालीन सदस्यसचिव वसन्त चौधरीले चढे ।
चौधरीपछिका सदस्यसचिव सुशील नहाटाले प्रयोग गरिरहेका वेला १६ फागुन ०६७ मा गाडी दुर्घटनामा पर्यो । शिवरात्रि पर्व मेला व्यवस्थापनमा खटिएका कर्मचारीलाई घर पुर्याउने क्रममा राति भक्तपुरको मनोहरा पुलनजिक बा २ ख २०१ नम्बरको मिनीट्रकले ठक्कर दिँदा गाडी दुर्घटनाग्रस्त भएको थियो ।
त्यतिवेला नहाटा भने गाडीमा थिएनन् । कोषले सञ्चालक परिषद्मा पेस गरेको विवरणअनुसार गाडी कृष्णबहादुर डंगोलले चलाएको र प्रशासकीय अधिकृतहरू मुकुन्दप्रसाद पाण्डे, गौरीशंकर पराजुली र मुख्य लेखा अधिकृत प्रेमहरि ढुंगानालाई कौशलटार पुर्याउन जाँदा मनोहरा पुलनजिक मिनीट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनापछि गाडी मर्मतको नाममा आर्थिक चलखेल सुरु भयो । मर्मत गर्न आधिकारिक डिलरमा लैजाँदा आठ लाख ३४ हजार लागत अनुमान गरिएकोमा सदस्यसचिव नहाटाको आदेशमा १२ लाख २५ हजार ६ सय ७२ रुपैयाँ स्टिमेट गरी ज्ञानेश्वरको पपुलर अटो वर्कसप पठाइयो ।
पहिलो त गाडी मर्मतका लागि आधिकारिक डिलरमै लैजानुपर्थ्यो, विकल्पमा निजी वर्कसपमा लगे पनि प्रक्रिया पूरा गर्नुपर्थ्यो । अटो प्राविधिकमार्फत अनुमानित खर्च निकाल्न लगाएर प्रतिस्पर्धाबाट मर्मत प्रक्रियामा लैजानुपर्थ्यो । तर, नहाटाले तजबिजमा धेरै खर्च स्टिमेट गरेर चिनजानकै वर्कसपमा पठाए ।
प्रतिक्रिया दिनुहोस