aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

भुक्तानी प्रणालीमा पनि अन्तरआबद्धताको व्यवस्था

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • शनिबार, २२ माघ २०७८
भुक्तानी प्रणालीमा पनि अन्तरआबद्धताको व्यवस्था

काठमाडौं । भुक्तानी प्रणालीलाई झन्झटमुक्त र पहुँच पुर्‍याउन नेपाल राष्ट्र बैंकले अन्तरआबद्धता (इन्टर अपरेबिलिटी) को व्यवस्था गरेको छ। भुक्तानी प्रणाली अन्तरआबद्धता भन्नाले एउटा संस्थाको वालेट, क्यूआर कोडजस्ता सबैखाले उपकरण (साना भुक्तानी प्रणाली) अर्को संस्थाका ग्राहकले प्रयोग भुक्तानी गर्न पाउनु हो। 

यसअघि जुन संस्थाको ग्राहक हो त्यसले मात्रै प्रयोग गर्न पाउँथे। अब सबैखाले वालेट प्रयोगकर्ताले प्रयोग गरी भुक्तानी गर्न पाउने भएका छन्। राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकमा हालसम्म भुक्तानी सेवा प्रदायकअन्तर्गत ई–सेवा, खल्ती, आईएमई–पे जस्ता २७ वटा संस्था दर्ता छन्। साथै १० वटा वटा भुक्तानी प्रणाली सञ्चालक छन्। अब कुनै एक वालेट तथा एप्सका प्रयोगकर्ताले अन्य वालेटमा समेत कारोबार गर्न पाउँछन्। यसका लागि सो वालेट कम्पनीले अन्तरआबद्धताको व्यवस्था गर्नु पर्नेछ।

फोन–पेले पसल (मर्चेन्ट)मा राखेको क्यूआर कोड खल्तीका ग्राहकले पनि प्रयोग गर्न पाउँछन्। तर संस्थाले अन्तरआबद्धता गर्नुपर्छ। अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा सेवा प्रदायकबाट सञ्चालित मोबाइल बैंकिङ, वालेट, क्यूआर कोडलगायतका साना मूल्यका भुक्तानी उपकरण तथा सेवामा प्रयोग गर्न सकिने केन्द्रीय बैंकले बताएको छ। 

भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकले अन्तरआबद्धता सेवा दिँदा सेवाग्राहीबाट प्राप्त तथ्यांकको सुरक्षा तथा गोपनीयता कायम गर्नु पर्नेछ। तोकिएको सेवा प्रवाह गर्दाबाहेक अन्यत्र त्यस्तो तथ्यांकको प्रयोग नहुने सुनिश्चितता गर्नुपर्छ। ‘कुनै संस्थाले सेवा सञ्चालन गर्दा यस्तो मापदण्ड पालना गर्न नसक्ने स्थिति सिर्जना भएमा राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्छ। साना मूल्यका भुक्तानी प्रणाली सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संस्थाले अन्य कुनै पनि अनुमतिपत्र प्राप्त संस्थालाई आफ्नो भुक्तानी प्रणालीमा पहुँच रोक्ने गरी नियम बनाउन रोक पाइने छैन।’ परिपत्रमा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस