aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सरकारलाई क्यासिनो सञ्चालकको ठाडो चुनौती–‘तोकिएको समयमा पैसा तिर्न सक्दैनौं’

  • रिता राउत
    रिता राउत
  • सोमबार, २४ माघ २०७८
सरकारलाई क्यासिनो सञ्चालकको ठाडो चुनौती–‘तोकिएको समयमा पैसा तिर्न सक्दैनौं’

काठमाडौं । सरकारले लामो समयसम्म क्यासिनोको रोयल्टी तथा नवीकरण बापतको बाँकी बक्यौता नतिर्ने क्यासिनो कम्पनीहरुलाई बक्यौता बुझाउन सातदिने अल्टिमेटम दिएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो कम्पनीहरूलाई बक्यौता बुझाउन सात दिने अल्टिमेटम दिएको हो । तर, क्यासिनो सञ्चालकहरु भने तोकिएको समयमा रोयल्टी तिर्न नसक्ने बताउँछन् ।  

पर्यटन विभागले बुधवार पाँच क्यासिनो कम्पनीलाई रोयल्टी तथा नवीकरण बापतको आर्थिक वर्ष २०७७/७८ सम्मको बाँकी बक्यौता बुझाउन सात दिनको म्याद दिएको छ । अदालतको अन्तरिम आदेशका भरमा टिकिरहेका क्यासिनोहरु भने सो आदेशप्रति गम्भीर देखिएका छैनन । 

पर्यटन विभागले बुधवार सार्वजनिक सूचना जारी गर्दै पटक पटक ताकेता गर्दा पनि क्यासिनो कम्पनीले बक्यौता बुझाउन अटेर गरेको भन्दै तोकिएको अवधिमा बक्यौता नबुझाउने कम्पनीलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । तर, यता तोकिएको समयमा बक्यौता तिर्न गाह्रो हुने क्यासिनो सञ्चालक बताउँछन् । एक क्यासिनो सञ्चालकले आर्थिक न्युज डटकमसँग भने, ‘बक्यौता तिर्न बाँकी रहेका क्यासिनोहरु भनेको अदालतको स्टे अर्डरबाट चलेका हुन् । तर, यीमध्ये पनि केही हाल सञ्चालनमा छन् भने कुनै बन्द छन् । यस्तो अवस्थामा तोकिएको समयमा बक्यौता तिर्न गाह्रो हुन्छ । सात दिन भित्रै बक्यौता र्तिन सक्दैनौं ।’  

विभागका अनुसार पाँच क्यासिनो कम्पनीले ८७ करोड १५ लाख १५ हजार रुपैयाँ बक्यौता तिरेका छैनन् । यीमध्ये क्यासिनो सञ्चालनको इजाजत पत्र लिएका दुई कम्पनी र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेल सञ्चालनको इजाजत लिएका तीन कम्पनी छन् । बक्यौता नबुझाउने क्यासिनो इजाजत पत्र लिएको कम्पनी होटेल याक एन्ड यति प्रालिमा रहेको रोयल क्यासिनोले २० करोड ६८ लाख १५ हजार र ओरियन्टल होटल्स लिमिटेड (¥याड क्यासिनो)ले १८ करोड ७६ लाख रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, ह्याप्पी आवरले २१ करोड ५५ लाख रुपैयाँ, रक इन्टरनेसनलले ११ करोड ४५ लाख ८२ हजार ८४८ रुपैयाँ र सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी छ । 

क्यासिनो नियमावलीबाट सञ्चालित क्यासिनोहरुले भने सबै रोयल्टी तथा कर तिरेको एक क्यासिनो सञ्चालकले बताए । उनले भने, ‘प्रक्रिया पुर्‍याएर सञ्चालनमा रहेका क्यासिनोहरुले समयमा नै रोयल्टी तथा कर भुक्तानी गरेका छन् । तर, कतिपय क्यासिनोहरुले समय समयमा रोयल्टी तथा कर तिरे पनि हिसाब मिलानको समस्याले गर्दा तिर्न बाँकी रहेको देखिने गरेको छ ।’ हाल सञ्चालित कतिपय क्यासिनोले पैसा तिरे पनि सरकारले नवीकरण नगरी दिएको समेत उनको गुनासो छ ।

५ स्टार होटेलहरूले तिर्ने करभन्दा बढी क्यासिनो सञ्चालकहरूले तिर्ने गरेको बताउँदै उनले भने, ‘सरकारले मन लागेको बेलामा खोल्न दिने र मन नलागेको बेलामा बन्द गरिदिने गरेको छ । हामीले ५ स्टार होटेलले भन्दा बढी कर तिरेका छौँ । हामीलाई पनि सरकारले दिगोरुपमा सञ्चालन गर्ने वातावरण बनाइदिनु पर्‍यो ।’ 

त्यस्तै, प्रक्रिया पुर्‍याएर नयाँ क्यासिनो खोल्ने तयारीमा रहेका सबैलाई अनुमति दिनुपर्ने उनको माग छ । उनले भने, ‘नेपालमा सञ्चालित क्यासिनोमा विदेशी खेल्ने हुन् । यसमा नेपालीलाई फाइदा छ । क्यासिनोमा नेपालीले रोजगारी पाएका छन् । सरकारले कर पाएको छ । यसले गर्दा प्रक्रिया पुर्‍याएर नयाँ क्यासिनो खोल्न अनुमति माग्नेहरूले अनुमति पाउनु पर्छ ।’ 

यता, कोरोना महामारीबिच मै थप पाँच वटा क्यासिनो दर्ता भएका छन् । पर्यटन विभागको तथ्याङ्क अनुसार यसबिच  निर्भाना लक्जरी इन्टरटेनमेन्ट प्रालि, भेगास रिक्रियसन नेपाल प्रालि, बेलिज इन्टरटेन्मेन्ट प्रालि, भेन्यु रिक्रियसन प्रालि र सिद्धार्थ गेमिङजोन प्रालि (क्यासिनो प्याराडाइज) मिनी क्यासिनोका नाममा दर्ता भएका हुन् । नयाँ थपिएका मिनी क्यासिनोहरु दुई वटा भैरहवामा रहेका छन् भने बाँकेमा दुई वटा र झापामा एउटा रहेका छन् ।   

प्रतिक्रिया दिनुहोस