भारतीय पक्षले रुपन्देहीको बेलहिया नाकाको दसगजा क्षेत्र चिेर भौतिक संरचना निर्माण गरेको छ । नेपाल–भारत सन्धि सम्झौता विपरीत सीमा क्षेत्रको दसगजा क्षेत्रमा भारतीय पक्षले प्रहरी चौकी निर्माण गरेको हो ।
दुबै देशले दशगजाको ३० फिट सीमा छोड्नुपर्नेमा भाारतीय पक्षले त्यो नियम मिच्दै प्रहरी चौकी निर्माण गरेको हो । हाल सडक विस्तारका क्रममा नेपालका केही सरकारी कार्यालय भत्काउने सन्दर्भमा यस्तो तथ्य भेटिएको नेपाली अधिकारीहरुले बताएका छन् ।
दसगजा क्षेत्र मिचेर भारतले प्रहरी चौकी निर्माण गरेको पाइएपछि जमिनको स्वामित्वसम्बन्धी विवाद उत्पन्न भएको छ । यस विषयमा भैरहवावासीले आफ्नो क्षेत्रका प्रतिनिधि सभासदस्य घनश्याम भुसाललाई जानकारी गराएका थिए ।
स्थानीयवासीले जानकारी गराएपछि प्रतिनिधिसभा सदस्य भुसालले दसगजा क्षेत्र अवलोकन गर्नुभएको थियो । दसगजाको सीमा मिचिनु गम्भीर विषय भएकाले यसको समाधानका लागि सरकारसँग पहल गर्ने भुसालले बताउनुभयो ।
‘सीमा मिचिनु सामान्य विषय होइन, यो गम्भीर हो’, प्रतिनिधि सभा सदस्य भुसालले भन्नुभयो, ‘यो समस्यालाई स्थानीय प्रशासनले आफ्नो तहबाट भारतीय पक्षसँग कुरा गरेर सुल्झाउन प्रयास गर्नुपर्छ । यस बारेमा मैले संसदमा कुरा उठाएर सरकारको ध्यानाकर्षण गराउँछु ।’ यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको हो ।
प्रतिक्रिया दिनुहोस