aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बढ्यो गुलाबको व्यापार, मागको ९० प्रतिशत आयात गर्नुपर्ने बाध्यता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ माघ २०७८
बढ्यो गुलाबको व्यापार, मागको ९० प्रतिशत आयात गर्नुपर्ने बाध्यता

काठमाडौं । हरेक वर्ष फेब्रुअरी १४ मा ‘भ्यालेनटाइन डे’ अर्थात प्रेम दिवस मनाइन्छ । आजदेखि प्रेम दिवसको सप्ताह ‘डे सेलिब्रेसन’ शुरु भएको छ । आज ‘भ्यालेन्टाइन डे’को पहिलो दिन,‘रोज डे’ । यस दिन आफुले मन पराएका आफ्नो प्रेमी साथीहरुलाई गुलाबको फूल दिने गरिन्छ । 

दोस्रो दिन अर्थात ८ फेब्रुअरीका दिन प्रपोज डे हुँदै ९ फेब्रुअरीमा चकलेट डे, १० फेब्रुअरीमा टेडी डे, ११ फेब्रुअरीमा प्रमिस डे, १२ फेब्रुअरीमा हग डे, १३ फेब्रुअरीमा किस डे, १४ फेब्रुअरीमा ‘भ्यालेनटाइन डे’ अर्थात प्रणय दिवस मनाउने गरिन्छ । १४ फेब्रुअरीका दिन सबै प्रेमीप्रमीकाहरुको महत्वपूर्ण दिन मानिन्छ । 

यस दिन प्रेमको प्रतिक रातो गुलाफको आदानप्रदान गरि माया साटासाट गर्ने प्रचलन छ । भ्यालेनटाइन डेमा सबैभन्दा बढी गुलाबको फुल बिक्री हुन्छ । जसले गर्दा यो बेला बजारमा गुलावको फुलको माग पनि बढ्ने गर्छ । फ्लोरिकल्चर एशोशिएसन अफ नेपालका अध्यक्ष मिन बहादुर तामाङ पनि अहिले बजारमा गुलाबको माग बढेको बताउँछन् । 

उनी भन्छन्, ‘प्रणय दिवसका अवसरमा सात दिनसम्म गुलाबको माग धेरै हुने गर्छ । आजदेखि सात दिनसम्म यसको व्यापार पनि धेरै हुन्छ । अहिले गुलावको माग संगै व्यापार पनि बढेको छ ।’ 

पश्चिमा मुलुकबाट शुरु भएको भ्यालेन्टाइन नेपालमा पनि चाडपर्व झैं मनाउने गरिन्छ । बिशेषगरी युवा पुस्ताका महिला पुरुषहरुले भ्यालेन्टाइन कार्ड, गिफ्ट, फ्रेम, गुलाफ, डेडी बिएर आदानप्रदान गरी मनाउने चलन छ । ‘भ्यालेन्टाइन डे’ सप्ताह शुरु भएसंगै सहरका सपिङ मल तथा पसलहरु झकिझकाउ देखिन थालेका छन् । विशेष गरी आफ्ना प्रियजनसँग प्रेम प्रकट गर्ने दिन भएकाले सपिङ मल र बजारका पसलेहरुले फुल र गिफ्टका सामग्रीहरू सजाएर झकिझकाउ बनाइएका हुन् । 

यस वर्षको प्रणय दिवसमा दुई लाख ३० हजार वोटा गुलाब खपत हुने एशोशिएसनको अनुमान रहेको अध्यक्ष तामाङले जानकारी दिए । तर, नेपालमा गुलाव उत्पादन भने घट्दो रहेको छ । उनले भने, ‘दुई वर्षदेखि यस क्षेत्रमा लगानी छैन । भएका बिरुवाहरुलाई पनि कोरोनाका कारण रेखदेख गर्न सकिएन । जसले गर्दा यस वर्ष पनि नेपालमा गुलावको उत्पादन घटेको छ । बजारको माग धान्न गुलाव विदेशबाट आयात गर्नु पर्ने स्थिति छ ।’

नेपालमा धेरैजसो भारतबाट गुलाव आयात हुने गर्छ । आन्तारिक उत्पादन कमजोर रहेकोले भारतीय उत्पादनमा नै निर्भर हुनु परिरहेको छ । यस वर्ष पनि भारतको कोलकत्ता र दिल्लीबाट गुलाब आयात भएको उनको भनाई छ । 

यस वर्षको प्रणय दिवसमा एक करोड रुपैयाँ बराबरको गुलावको कारोबार हुने अध्यक्ष तामाङको भनाई छ । उनले भने, ‘प्रणय दिवसमा धेरै जसो रातो गुलावको माग बढी हुन्छ । विशेषतः डच र टाटा गुलाफको माग बढी हुन्छ । बजारको माग १० प्रतिशत मात्रै नेपाली उत्पादित गुलावले धान्छ भने ९० प्रतिशत बाहिरबाट आयात  गर्नु पर्ने बाध्यता छ ।’ 
 

प्रतिक्रिया दिनुहोस