
काठमाडौं । नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको अर्थमन्त्रालयले स्वीकारेको छ । विहीबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले नेपालबाट नयाँ प्रविधि प्रयोग गरेर ‘क्यापिटल फ्लाई’ भइरहेको बताएका हुन । उनले भने, ‘नयाँ सूचना प्रविधिको विकास मानव जातिको लागि आफैँमा उपलब्धि हो । जसले हाम्रा जीवन व्यवहारलाई सहज बनाएको छ । तर त्यो उपलब्धिभित्रका नकारात्मक पक्षहरू पनि छन् ।’
त्यस्तै, हाइपर फण्ड, बेटिङ, गेमिङ, क्रिप्टोकरेन्सी लगायतका कुराहरू कानुन एकातिर छ, अर्कातिर तिनको कारोबार भइरहेका उनले बताए । उनले भने, ‘विभिन्न प्रविधिका माध्यमबाट आज ‘क्यापिटल फ्लाई’ भइरहेको छ । हिजो एक ढङ्गले हुन्थ्यो भने आज अर्को ढङ्गले भइरहेको छ । त्यसलाई कसरी नियमन÷नियन्त्रण गर्ने भनेर हामीले विभिन्न कमिटीहरू निर्माण गरेका छौँ ।’
नेपालबाट भइरहेको ‘क्यापिटल फ्लाई’ अनुसन्धानको कुरा राष्ट्र बैंक र सरोकारवाला निकायहरूको संयुक्त टिम पनि बनाएर कार्य प्रारम्भ गरिएको समेत अर्थमन्त्र्र शर्माले जानकारी दिएका छन ।
प्रतिवेदन सार्वजनिक गर्नुहुँदै मन्त्री शर्माले कतिपय ऐनहरूलाई विकासमैत्री बनाउन संशोधन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिऐ । उनले भने, ‘अहिलेको हाम्रो मुख्य समस्या भनेको संरचनागत क्षमताको सुदृढिकरण नै देखिएको छ’, उनले भने, ‘कतिपय ऐनहरूलाई आजको आवश्यकता अनुसार विकासमैत्री बनाउन संशोधन गर्ने प्रक्रिया हामीले अगाडि बढाएका छौँ ।’
मुद्रास्फिति नियन्त्रणमा रहेको छ । यस आर्थिक वर्षको प्रथम ६ महिनामा गत वर्षको तुलनामा निर्यात ९५.५ प्रतिशतले बढेको छ भने आयात ५१.१ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को ६ महिनासम्ममा विप्रेषण आप्रवाह (नेपाली मुद्रा) ५.५ प्रतिशतले कमी आई ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो ।
यस अवधिमा सोधनान्तर स्थिति रू.२ खर्ब ४१ अर्ब २३ करोड घाटामा छ भने विदेशी विनिमय सञ्चित रु.११ खर्ब ६५ अर्ब ८० करोड रहेको छ । जसले ७.२ महिनाको वस्तु र ६.६ महिनाको वस्तु र सेवा धान्न पर्याप्त रहने देखिन्छ ।
चालु आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरिएको छ यो रकम कुल विनियोजनको करिब ९४.७ प्रतिशत हो । चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड रुपैयाँ अर्थात विनियोजित बजेटको ९७.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ अर्थात विनियोजित बजेटको ९०.०१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ अर्थात विनियोजित बजेटको ९० प्रतिशत हुने अनुमान मन्त्रालयले गरेको छ ।
चालु आर्थिक वर्षमा नेपाल सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) रु.१२ खर्ब ८९ अर्ब ८२ करोड, वैदेशिक अनुदानतर्फ रू.५० अर्ब र वैदेशिक ऋणतर्फ रू.२ खर्व ६ अर्ब ४६ करोड खर्च हुने संशोधित अनुमान रहेको छ ।
प्रतिक्रिया दिनुहोस