
काठमाडौं । भैरहवामा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भइरहँदा लुम्बिनी वरपर पर्यटकीय पूर्वाधारमा लगानी गर्ने क्रम तीव्र भएको छ ।
यसै क्रममा निर्माण तथा पर्यटन क्षेत्रका व्यवसायीहरूको संयुक्त लगानीमा लुम्बिनी नजिकै रू। ८ अर्बको ‘द हब लुम्बिनी’ प्रोजेक्ट शुरू गरिँदै छ । एस होटेल्स एन्ड रिसोर्ट, सीई कन्स्ट्रक्शन प्रालि र ग्रान्डी होल्डिङस् मार्फत ४० लगानीकर्ताको लगानी रहने यो प्रोजेक्ट करीब ९० रोपनी क्षेत्रफलमा निर्माण हुनेछ ।
लुम्बिनीलाई पर्यटकीय पूर्वाधार सम्पन्न पर्यटन गन्तव्यका रूपमा विकास गर्ने मुख्य लक्ष्यले २ वर्षको गृहकार्यपछि ‘द हब लुम्बिनी प्रालि’ स्थापना गरिएको प्रोजेक्टका योजनाकार तथा एस होटेल तथा रिसोर्ट प्रालि (होटेल एम्बास्डर) का कार्यकारी अध्यक्ष योगेन्द्र शाक्यले बताए ।
‘पर्यटन तथा अन्य कुनै गन्तव्य विकास गर्न संयुक्त लगानी आवश्यक हुन्छ भन्ने सोचले ‘द हब लुम्बिनी’को अवधारणा अगाडि सारिएको हो,’ शाक्य बताउँछन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको खुदाबजारमा निर्माण हुन लागेको यस प्रोजेक्टको गुरुयोजना अनुसार दुईओटा तारे होटेल, अपार्टमेन्ट, मल्टीप्लेक्स, वाटरपार्कका साथै दर्जनौं रेस्टुराँ स्थापना हुनेछन् । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस