aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

यसकारण मागियो भगवती लेमिनेट्सका सञ्चालकको बैंक स्टेटमेन्ट

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, ०१ फागुन २०७८
यसकारण मागियो भगवती लेमिनेट्सका सञ्चालकको बैंक स्टेटमेन्ट

काठमाडौं । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय इटहरीले भगवती लेमिनेट्स प्रालिका सात सञ्चालकलाई बयानका लागि बोलाएको छ । बयानका लागि बोलाइएका सातमध्ये तीन जना उपस्थित भएर बयान दिएका छन् । बाँकी चार जना भने अनुपस्थित भएका छन् ।

एक वर्षको अवधिमा कच्चा बिलमार्फत ८० करोड रुपैयाँ बढीको कारोबार गरी झन्डै २५ करोड रुपैयाँ राजस्व छली गरेको आधार भेटिएपछि राजस्व अनुसन्धान कार्यालयले भगवती लेमिनेट्स प्रालिमाथि विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । सो अनुसन्धानका क्रममा एकपछि अर्को गरी राजस्व छलीका प्रमाण भेटिएपछि राजस्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयका अनुसन्धान अधिकृतहरूले भगवती लेमिनेट्सका सञ्चालकहरूलाई बयानका लागि बोलाएका हुन् ।

विभागको इटहरीस्थित कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार सात जनामध्ये तीन जनाको बयान लिइएको छ । बाँकी चार जना सञ्चालक अनुपस्थित भए पनि पुनः बयानका लागि बोलाइएको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयले जनाएको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीका अनुुसार अनुसन्धानका क्रममा भगवती लेमिनेट्स प्रालिका सञ्चालक रजनिस कर्नानी, सन्तोष आचार्य र रतनलाल अग्रवालसँग बयान लिइएको हो । अनुसन्धान अधिकृतका अनुसार बयान लिएका तीनै जना सञ्चालकसँग उनीहरूका सबै बैंक खाता र स्टेटमेन्टहरू माग गरिएको छ ।

‘बयानका क्रममा सबैको बैंक खाता र स्टेटमेन्ट माग गरेका छौं,’ एक अनुसन्धान अधिकृतले भने । अनुपस्थित भएका अन्य चार जना सञ्चालकलाई पनि बैंक खातासहित उपस्थित हुन पत्राचार गरिएको ती अनुसन्धान अधिकृतले जानकारी दिए । भगवती लेमिनेट्सका अर्का जिम्मेवार व्यक्ति विष्णु मधगोरियालाई भने बयानमा बोलाइएको छैन । राजस्व अनुसन्धान कार्यालयले बयानका लागि बोलाएर पनि नजाने सञ्चालकहरूमा निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्र अग्रवाल र बेनित अग्रवाल रहेका छन् ।

बयान दिएका सञ्चालक रजनिश कर्नानीले आफूहरूले केही कागजात पेस गरेको र केही भने पेस गर्न बाँकी रहेको बताए । फेरि थप कागजात मागेकाले आफूहरू कागजातसहित जाने उनले बताए । लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको र राजस्व छलीमा रेकर्ड कायम गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिले नक्कली बिल (कच्चा बिल)मार्फत् एक वर्षमा ८० करोड बढीको कारोबार गरेको प्रमाण फेला परेका छन् ।

भगवती लेमिनेट्सले आर्थिक वर्ष २०७७/७८ मा मात्रै सरकारलाई राजस्व छली गर्ने उद्देश्यले ८० करोडभन्दा बढीको कारोबार कच्चा बिलमार्फत गरेको पाइएको थियो । भगवती लेमिनेट्स प्रालिले वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गरेर राजस्व छल्दै आइरहेको छ । सो कम्पनीले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अन्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस