aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भारतीय नेटवर्किङ व्यवसायले बनायो घर न घाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
भारतीय नेटवर्किङ व्यवसायले बनायो घर न घाट

कपिलवस्तु । धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब बढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए ।

राष्ट्रिय वाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छाडेर उनी कपिलवस्तुको सीमावर्ती भारतीय बजार पचपेडवा पुगे । त्यहाँको एक कम्पनीमा केही दिन काम गरे । एजेन्टले भनेअनुसारको तलब पाएनन् । आस नमरेका कारण काम गरिरहे । जब कम्पनीमा प्रहरीले छापा मार्‍यो, उनी छाँगाबाट खसेझैं भए ।

कम्पनीका प्रमुख व्यक्ति पक्राउ परेपछि मात्रै मगरले आफू ठगिएको थाहा पाए । तीन महिनादेखि उनी तनावमा छन् । चिन्ताले घर जान सकिरहेका छैनन् । ‘के मुख लगाएर जाने,’ उनले भने, ‘भएको जागिर पनि छैन । समस्यामा छु ।’ अहिले उनी कृष्णनगरमा डेरा लिएर बसिरहेका छन् । उनीजस्तै सुर्खेतकी नन्दा परियार अलपत्र छिन् ।

उनलाई पनि मासिक ४० हजारभन्दा बढी कमाइ हुने प्रलोभन दिइएको थियो । ‘धेरै नै कन्भिन्स गरिएको थियो,’ उनले भनिन्, ‘परिवारको भलो हुन्छ ठानेँ, अहिले सम्पत्ति गुमाएँ ।’ गहना बेचेर ४ लाख र सरसापट गरेर ७ लाख रुपैयाँ नेटवर्किङ कम्पनीलाई बुझाएको उनले बताइन् । कम्पनीमा गएर काम पनि गरिन् । ‘काममा त्यत्ति चित्त बुझिरहेको थिएन,’ उनले भनिन्, ‘जब सञ्चालक पक्राउ परेको थाहा पाएँ, मेरो होस उड्यो ।’ उनले थपिन्, ‘घरमा के भनेर जवाफ दिने रु’ न्यायका लागि उनी इप्रका कृष्णनगर धाइरहेकी छन् ।

छिमेकी उत्तरप्रदेशको बलरामपुर जिल्लास्थित पचपेडवामा ‘एमस्टेप प्रोग्रेसिव प्रालि’ को सदस्य बनेर उनीहरूजस्तै ३ सय ५० युवा ठगिएका छन् । कम्पनीले सञ्चालन गरेको नेटवर्किङ व्यवसायमार्फत धेरै नेपाली ठगिएका हुन् । प्रारम्भिक रूपमा उनीहरूबाट कम्पनीले ७ करोड रुपैयाँ ठगी गरेको देखिएको इलाका प्रहरी कृष्णनगरले जनाएको छ ।

प्रहरीका अनुसार मुख्य सञ्चालक रौतहटका अमित चौधरी र धादिङका कान्छा लामा घिसिङ भनिने अभिराज लामा हुन् । उनीहरूले सिर्जनशील र छिट्टै प्रलोभनमा पार्न सक्ने व्यक्ति खोजेर परिचालन गर्थे । त्यस्ता एजेन्टलाई राम्रो पारिश्रमिक दिन्थे ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा यसका मुख्य सञ्चालक रौतहटका अमित चौधरी र धादिङका कान्छा लामा घिसिङ भन्ने अभिराज तामाङ काठमाडौंको तीनकुनेबाट पक्राउ परेको प्रहरीले जनाएको छ । दुवैलाई जिल्ला ल्याइएको छ । सबैविरुद्ध ठगी मुद्दा चलाइएको छ । आरोपीमध्ये ५ जना फरारको सूचीमा छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस