
एजेन्सी । टाटा सन्सले टर्किस एयरलाइन्सका पूर्व अध्यक्ष इल्कर आइसीलाई एयर इन्डियाको नयाँ एमडी तथा सीईओ नियुक्त गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उनले वैशाख १ गतेबाट आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन पनि बोर्ड बैठकमा उपस्थित थिए। छलफलपछि बोर्डले उनको नाम स्वीकृत गरेको हो । उनको प्रवेशलाई सबै नियामक निकायले अनुमोदन गर्न बाँकी छ । टाटा समूहले एयर इन्डियाको १८,३०० करोड भारुमा १०० प्रतिशत शेयर किनेको थियो ।
आइसीको जन्म सन् १९७१ मा इस्तानबुलमा भएको थियो । ५१ वर्षीय उनी टर्कीको बिल्केन्ट युनिभर्सिटीको राजनीति शास्त्र र सार्वजनिक प्रशासन विभागको १९९४ ब्याचका पूर्व छात्र हुन् । सन् १९९५ मा उनले युनिभर्सिटी अफ लिड्स, इङ्गल्याण्डमा राजनीतिशास्त्रमा अनुसन्धान परियोजना गरे । सन् १९९७ मा उनले इस्तानबुलको मारमारा विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर कार्यक्रम पूरा गरे।
उनले भने, “म प्रमुख प्रतिष्ठित एयरलाइन्सको नेतृत्व गर्न र टाटा समूहमा सामेल हुन पाउँदा खुसी छु । हामी एयर इन्डियाको बलियो विरासतलाई सदुपयोग गर्दै यसलाई विश्वको उत्कृष्ट एयरलाइन बनाउन प्रयास गर्नेछौं ।
उनी टर्किस फुटबल महासंघ, टर्किस एयरलाइन्स स्पोर्ट्स क्लब र टीएफएफ स्पोटिज एनोनेमोस सर्केटीको बोर्ड सदस्य हुन । उनी क्यानेडियन टर्की बिजनेस काउन्सिल र युएस–टर्किस बिजनेस काउन्सिलका सदस्य पनि छन । टाटा सन्सको अधिग्रहणपछि टाटा भारतको दोस्रो ठूलो एयरलाइन बनेको छ । यसको सम्पूर्ण शेयर टेल्स प्राइभेट लिमिटेडलाई हस्तान्तरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस