aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

धमाधम उठ्न थाल्यो क्यासिनोको बक्यौता रोयल्टी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, ०४ फागुन २०७८
धमाधम उठ्न थाल्यो क्यासिनोको बक्यौता रोयल्टी

काठमाडौं । रोयल्टी नबुझाएर बक्यौता राखेका क्यासिनो सञ्चालकबाट सरकारले धमाधम बक्यौता उठाउन थालेको  छ । यसै  क्रममा  चालू  आर्थिक  वर्षमा  अहिलेसम्म ७५  करोड  ४५  लाख  रुपियाँ  रोयल्टी  शीर्षकमा  प्राप्त  भएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।

सोही प्रयोजनका लागि १४ करोड २० लाख रुपियाँ बैङ्क जमानत प्राप्त भएको मन्त्रालयले उल्लेख गरेको छ । क्यासिनो  सञ्चालकहरूबाट  ठूलो  मात्रामा  बक्यौता रहेपछि  मन्त्रालयले  माघ  २६  गतेको  मन्त्री  स्तरीय  निर्णयबाट कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । उक्त   प्रक्रियापछि   क्यासिनो   सञ्चालकहरू   बाँकी बक्यौताका  लागि  मन्त्रालय  सम्पर्कमा  आउने  क्रम  बढेको उल्लेख  गरिएको  छ ।

त्यसैअनुसार  सोमबार  मात्रै  सेन्ट्रल मिडिया  प्रालिको  चार  करोड  रुपियाँको  बैङ्क  भौचर  प्राप्त भएको मन्त्रालयले जनाएको छ । कानुनअनुसार   तिर्नु   बुझाउनुपर्ने   रोयल्टी   शीर्षकको राजस्व नबुझाउने क्यासिनो सञ्चालक कम्पनीहरूलाई बाँकी बक्यौता बुझाउन ताकेता गर्ने र आवश्यकताअनुसार कारबाही गर्ने क्रम जारी रहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका  अनुसार  आर्थिक  वर्ष  २०७६/७७  सम्म क्यासिनो  सञ्चालक  कम्पनीहरूले  ८४  करोड  ८४  लाख ४७  हजार  ८४८  रुपियाँ  रोयल्टी  शीर्षकमा  बुझाउन  बाँकी थियो । त्यस्तै कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा एक  अर्ब  ९०  करोड  ९९  लाख  ५५  हजार  लगत  कसिएको मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस