aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपालीलाई विदेशमै विद्युतीय राहदानी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • बुधबार, ०४ फागुन २०७८
नेपालीलाई विदेशमै विद्युतीय राहदानी

काठमाडौं । विदेशमा रहेका नेपालीले  अब  आफू  रहेकै  मुलुकबाट  विद्युतीय राहदानी प्राप्त गर्न सक्ने भएका छन् । विभिन्न कारणले राहदानी बनाउनुपर्ने नेपालीले अनलाइनबाटै आवेदन दिन सक्ने छन् भने नेपालबाट छपाइ गरी सम्बन्धित नागरिक रहेका मुलुकमै राहदानी पठाइनेछ । राहदानी  विभागका  महानिर्देशक  डोरनाथ  अर्यालले  विदेशबाट ‘लाइभ  इनरोलमेन्ट’  गरेर  विद्युतीय  राहदानी  नेपालमै  छापिनु  देशकै  लागि  ऐतिहासिक  सफलता  रहेको  बताए  ।  

पहिलो  चरणमा  वैदेशिक  रोजगारीमा  रहेका  नेपालीको  सङ्ख्या  धेरै  भएका  मुलुकमा  विद्युतीय  राहदानी  वितरणको  अभियान  सुरु गरिएको छ । उनका  अनुसार  अहिलेसम्म  कतार,  मलेसिया,  साउदी  अरब,  ओमान  र  कुवेतबाट  विद्युतीय  राहदानी  जारी  गर्ने  कार्यमा सफलता प्राप्त भएको छ । उनले भने, “मङ्गलबार ओमान र कुवेतमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्टको उद्घाटन भएको छ । विश्वका सबै देशमा सेवा पु¥याउने प्रयासमा छौँ ।” यसअघि  गत  माघ  २३  गते  कतारको  दोहाबाट ‘लाइभ इनरोलमेन्ट’ गरी राहदानी छपाइ थालिएको छ । 

कतारमा सुरुको एक हप्ता सीमितका लागि राहदानी बुकिङ खुला गरिएको  थियो  ।  त्यस्तै,  मलेसियास्थित  नेपाली  दूतावासबाट  गत  माघ  २६  गतेबाट  राहदानी  वितरणको  प्रक्रिया  थालनी  भएको  छ  ।  मलेसियामा  दुई  लाखभन्दा  बढी  नेपाली  नागरिक  वैदेशिक  रोजगारीमा  छन्  ।  पहिलो  दिनमै  ३३  जनाको ‘लाइभ  इनरोलमेन्ट’ गरिएको थियो ।  मलेसियाका लागि कार्यवाहक राजदूत मोतिबहादुर श्रीसले सेवाग्राहीको सहजताका लागि विभिन्न स्टेसन कायम गरेर विद्युतीय राहदानी वितरण गरिने बताए ।  

प्रतिक्रिया दिनुहोस