
काठमाडौं । वाणिज्य बैंकहरूले ऊर्जाक्षेत्रमा तोकिएभन्दा कम अनुपातमा कर्जा लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुससम्मको तथ्यांकले यस्तो देखाएको हो ।
वाणिज्य बैंकहरूले ऊर्जाक्षेत्रमा कुल कर्जाको न्यूनतम ६ प्रतिशतको अनुपातमा ऋण लगानी गर्नुपर्ने व्यवस्था छ । तर, समीक्षा अवधिसम्म ऊर्जाक्षेत्रमा प्रवाह भएको कर्जाको अंश त्यसभन्दा कम अर्थात् ५ दशमलव ७६ प्रतिशत देखिएको छ । राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको थियो । तर, चालू आवको ६ महीना बित्तिसक्दासमेत त्यो व्यवस्था कार्यान्वयन नभएको राष्ट्र बैंकको तथ्यांकले पुष्टि गरेको छ ।
राष्ट्र बैंकले ऊर्जाक्षेत्रसहित कृषि र एसएमई क्षेत्रलाई प्राथमिकताको क्षेत्र तोक्दै तोकिएको अनुपातमा न्यूनतम कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसमा कृषि र एसएमई क्षेत्रमा तोकिएको न्यूनतम अनुपात ११ प्रतिशतभन्दा बढी कर्जा प्रवाह भएको छ । तर, ऊर्जामा भने तोकिएको भन्दा पनि कम कर्जा प्रवाह भएको छ । २७ वाणिज्य बैंकले पुस मसान्तसम्म कुल रू। ४१ खर्ब ४३ अर्ब ७० करोड कर्जा प्रवाह गरेका छन् । त्यसमा ऊर्जाक्षेत्रतर्फ रू। २ खर्ब २४ अर्ब कर्जा प्रवाह भएको देखिन्छ ।
तथ्यांकअनुसार आधाभन्दा बढी अर्थात् १४ वाणिज्य बैंकले ऊर्जाक्षेत्रमा तोकिएभन्दा कम लगानी गरेका छन् । १३ वाणिज्य बैंकले भने ऊर्जाक्षेत्रमा तोकिएभन्दा बढी नै कर्जा लगानी गरेका छन् । एनएमबी, नेपाल इन्भेस्टमेन्ट, सानिमा, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम कमर्शियल, सनराइज, ग्लोबल आईएमई, सेञ्चुरी, नेपाल बंगलादेश, लक्ष्मी, एनसीसी, नेपाल बैंक र सिटीजन्स इन्टरनेशनल बैंकले ऊर्जामा तोकिएभन्दा बढी कर्जा लगानी गरेका छन् । तर, त्यसबाहेक अन्य बैंकले भने तोकिएअनुसार कर्जा प्रवाह नगरेको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस