aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

घोषणा पत्रमा उल्लेख गरेकोभन्दा बढी काम गरेको छु : चिरीबाबु महर्जन

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • शुक्रबार, ०६ फागुन २०७८
घोषणा पत्रमा उल्लेख गरेकोभन्दा बढी काम गरेको छु : चिरीबाबु महर्जन

काठमाडौं । ललितपुरका मेयर चिरीबाबु महर्जनले चुनावताका घोषणा गरे भन्दा बढी काम गरेको बताएका छन् । स्थानिय तहमा निर्वाचित भएपछिको पाँच वर्षे कार्यकाल सकिन लागेका बेला उनले यस्तो दावी गरेका हुन् । 

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा के काम गरे भनेर आम नागरिकले समिक्षा गर्ने दिन नजिकिँदै छ । आगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचन घोषणा भइसकेको पृष्ठभूमिमा निर्वाचन ताका उनीहरुले वितरण गरेका चुनावी घोषणा पत्र र यसबीच भएका कामको तुलना हुन थालिसकेको छ । 

निर्वाचित कतिपय जनप्रतिनिधिहरुले घोषणा पत्र अनुसार काम गरेका छन् भने कतिपयले घोषणा पत्रको छेउ पनि छोएका छैनन् । तर, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन भने घोषणा पत्रमा भएको भन्दा धेरै काम गरेको बताउँछन् ।  

महर्जन भन्छन्, ‘मैले यस अवधिमा घोषणा पत्रमा उल्लेख गरेका भन्दा बढी नै काम गरेको छु । थप काम गरेको कारण नगरवासी पनि खुशी छन् ।’ उनी विशेष गरी सांस्कृतिक सम्पदाको संरक्षणमा आफूले महत्वपूर्ण योगदान गरेकोे दावी गर्छन् । 

मेयर महर्जन भन्छन्, ‘मैले भुकम्पले क्षति भएका सम्पदा क्षेत्र, मठ मन्दिर, शिवालय देवालय, पुराना घरहरुको पुननिर्माण सम्पन्न गरँे । म सम्पदा प्रेमी भएको र यही जन्मेर हुर्किएकाले समेत जात्रा पर्वहरुमा परिचित छु र त्यसको संरक्षणमा म केन्द्रीत रहेँ ।’ 

आफू सम्पदा प्रेमी भएका कारण त्यसमा क्षति पुग्दा चित्त दुख्ने उनको भनाई छ । त्यस बाहेक वातावरणीय क्षेत्रको विकासका लागि हरियाली अभिवृद्धिको निमित्त समेत महत्वपूर्ण काम गरेको उनी बताउँछन् । 

उनका अनुसार ललितपुर क्षेत्रमा चार वटा कमलका फूल फूल्ने पोखरी र ६८ वटा ढुंगेधाराहरु रहेका थिए । ती सबै ढुंगेधाराहरुमा पानी आउने गथ्र्यो । पुर्खाहरुको अदुरदर्शिताका कारण ती पोखरीहरुको पनि ह्रास भएको उनले बताए ।

उनले भने, ‘ती कमल फुल्ने पोखरी र ढुंगेधाराहरु हराए । राजकुलो पनि थियो, त्यो पनि सुक्यो । हाम्रा अग्रगहरुका अदुरदर्शिताले धेरै सम्पदाहरु नष्ट भए । अझैसम्म ती धाराहरुमा पानी ल्याउन सकेका छैनौ ।’

पहिले नासिसकेका पोखरीहरुको पुनस्र्थापनाका लागि लागिपरेको उनले जानकारी दिए । उनी भन्छन्, ‘सामाजिक कार्यका लागि नभएर सुन्दरताका लागि प्राकृतिक रुपमा पानी ल्याउन नसकेपनि यसको पहिचानलाई जोगाउनका लागि क्रृतिम रुपमा पानी झार्ने काम गरेका छौ ।’

उनका अनुसार कमलका फुल फूुल्ने ती पोखरीहरु सुकेसँगै त्यो ठाउँ नेपाली सेनाले कब्जा गर्यो । हाल ललितपुर महानगरपालिकाले त्यो ठाउँमा फेरि कमलको फूल सहितको पोखरी निर्माणको प्रक्रिया अघि बढाएको छ । 

उनले भने, ‘ती सम्पदाहरुको पुननिर्माण गर्ने क्रममा आर्मीले उपभोग गरेको तीस रोपनी जग्गा हामीले फिर्ता लिएका छौ । त्यहाँ पुरानो पोखरी थियो । पोखरी पुननिर्माणका लागि अहिलेका प्रधानसेनापति प्रभुराम शर्मासँग कुरा गर्यौ । उहाँले खुशी भएर मेरो प्रस्ताव स्वीकार गरिदिनु भयो । पोखरी पुननिर्माणको लागि राजदलगण लगनखेलसँग समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ ।’

ऐतिहासिक र धार्मिक महत्व बोकेको सत्त्तपाताल पोखरीको चार रोपनी दुई पैसा र आर्मीसँग लिएको तीस रोपनी गरी ४५ रोपनी जग्गामा पोखरीको पुननिर्माण गरी कमलको फूल फूलाउने उनको योजना छ । भौतिक रुपमा यसको प्रगति भने एक महिनामा देखिने उनको दावी छ । साथै उनले पार्क निर्माणका कामहरु गरेको सुनाए ।   

उनका अनुसार यसअघि ललितपर महानगरको सडकमा एघार सय २६ वटा सोलार बत्तीहरु जडान गरिएको थियो । तर ती बत्तीहरु अहिले कुनै काम लाग्दैनन् । यसका लागि कुलमान घिसिङसँग सहकार्य गरेर ती सोलार प्यानलहरु हटाएर स्मार्ट लाइट जडान गरेका छौ उनले सुनाए ।  

उक्त बत्ती जडान गरिएका क्षेत्र चार वटा रुटमा पर्छन् । जुन बाग्मती पुल देखि पुल्चोक जावलाखेल, लगनखेल हुँदै सातदोबाटो सम्म रहेको छ । त्यस्तै पुल्चोकबाट मंगलबजार ग्वार्कोसम्म र पाटनढोका देखि होटल हिमालय हुँदै पाटन दरबार स्वायर र एकान्तकुना देखि जावलाखेलसम्म पर्दछ । 

त्यस्तै दोस्रो चरणका लागि पनि ठेक्का दिईसकेको बताउँदै उनले भने, ‘स्मार्ट लाइट जडान गर्न दोस्रोचरणका लागि खोकना, हरिसिद्धि र धापाखेल आदि क्षेत्र रहेका छन् । यससँगै तेस्रो चरणमा चक्रपथको ७९ किलोमिटरको दायाँ बाँया क्षेत्रमा जडान गर्ने योजना बनाएका छौँ ।’

यी क्षेत्रहरुमा नेपाल प्रहरी सँग समन्वय गरेर यो वर्ष चार वटा रुटमा स्मार्ट सिसिटिभिको व्यवस्थापन गर्ने योजनाम रहेको मेयर महर्जनले बताए । यसको ठेक्काका लागि सम्झौता  समेत भइसकेको उनको भनाइ छ ।  

आफूले घोषणापत्रमा उल्लेख गरेका कामहरु सबै सम्पन्न गरेपनि फ्लाइ ओभरको काम भने गर्न नसकेको उनले दुखेसो पोखे । उनले भने, ‘म जनप्रतिनिधि भएर आएपछि घोषणापत्रमा उल्लेख गरे भन्दा बाहिरका पनि धेरै काम गरेको छु । घोषणा पत्रमा पुल्चोक देखि थापाथलीसम्म फ्लाई ओभर राख्ने भनिएको थियो । तर, त्यो काम भने गर्न सकिन ।’ 

ग्वार्को, सातदोबाटो, चापाँगाउँ र एकान्त कुनामा फ्लाई ओभर निर्माण गर्न अध्ययन समेत गरिएको थियो । अरु ठाउँको फ्लाई ओभर बनाउन मिले पनि पुल्चोकमा भने ६ वटा घरहरु अधिग्रहण गर्नुपर्ने भएकाले त्यहाँ निर्माण गर्न हिच्किचाएको उनको भनाई छ ।   

आफ्नै स्रोत र खर्चमा पाटनको भिमसेन मन्दिरसँगै ७५ वटा सार्वजनिक पाटी पौवाहरु निर्माण गरेको उनले बताए । यसका साथै बाल कुमारीको मन्दिर निर्माणको काम सम्पन्न भएको छ र खोकनाको मन्दिरको निर्माणको काम भइरहेको महर्जनले सुनाए । 

घोषणापत्रमा उल्लेख गरे अनुरुप सबै घरहरुमा ब्लक नम्बर वितरण गर्ने काम पनि सम्पन्न भएको उनले जानकारी दिए । उनले भने, ‘ललितपुर क्षेत्रमा ८१ हजार घर रहेका छन् ती सबै घरहरुकमा ब्लक नम्बर दिइसकेको छौ । यो सँगै ट्याक्सीमा पनि गुगल म्याप बाट हेरेर घर सम्मपुग्न सकिने योजना बनाएका थियो त्यसको व्यवस्थापन गरिसकेका छौ तीन नम्बर वडामा त्यो काम सिद्धि सकेको छ ।’

उनका अनुसार ८ मिटर भन्दामाथिको बाटोको निर्माण गर्ने अधिकार महानगरपािलकालाई छैन । तर ८ मिटरभन्दा कम चौडाइ भएका ४२ किलो मिटर बाटोको कालोपत्रे गरिसकेको उनले बनाए । यसका लागि पनि हामील् छुट्टै मापदण्ड बनाएर सडक निर्माण गरेका छौ । सरकाले निर्माण गरेको बाटो एक वर्ष नबित्दै भत्किने गर्छ । हामीे निर्माण गरेका सडकहरु घटिमा पनि ७ वर्षसम्म टिक्छ ।’

‘यससँगै बाइसाइकल ट्रयाक बनाउँछु भनेको थियौ । ३२ किलोमिटर बनाइसकेको छौ । यो वर्षको टेन्डर निस्किसकेको छ  । चक्रपथको दुवै साइटमा ८ किलोमिटर इन्टरनेशनल स्यान्डर्डको बाटो बनाउन लागेका छौ । केही समयमा त्यो काम पनि सम्पन्न हुनेछ’,उनले भने ।  

कोभिडको समयमा पनि सबै नगरपालिकाहरु मध्ये उत्कृष्ट बन्न सफल भएको उनले सुनाए । उनले भने, ‘कोभिडको समयमा धेरै राम्रो काम गरेका कारण सरकारले यो महानगरपालिकालाई सम्मान पनि गर्यो । ७० वर्ष भन्दा माथिका सबैलाई कोरोना निमोनिया भ्याक्सिन दिने योजना बनाएका थियौ । एउटा भ्याक्सिनको सात हजार भन्दा बढी पर्ने रैछ हाम्रो बजेटले ७० वर्ष भन्दा बढीका सबैलाई भ्याक्सिन दिन नपुग्ने भएपछि ७४ वर्ष भन्दा माथिका सबैलाई भ्याक्सिन दियौ ।’ 

‘कोभिडको समयमा प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गर्यो । भदौ २ गतेसम्म कोभिडबाट मृत्यु भएका २६९ घर परिवारलाई १ लाख २० हजार रुपैयाँ सहयोग गरेका थियौ । आइसियु भेन्टिलेटरमा भएकाहरुलाई ६० हजार रुपैयाँ र पीसीआर पोजेटिभ भएकाहरुलाई ३० हजार रुपैयाँ दिने गरेका छौ’, उनले भने । 

पाटन दरबार स्क्वायरमा पानी पर्दा धेरै पानी जम्ने भएकाले त्यसको पानी कटान गर्नका लागि एसिएन डेभलपमेन्ट बैैकसँग सहकार्य गरेर त्यसको व्यवपस्थापन गर्न लागेको उनले बताए । उनले भने, ‘एडिबीसँग १ करोड रुपैया लिएर २.८ किलोमिरमा १.४ बायोमिटरको पाइप राखेर पानीको निकास गर्ने काम गरिरहेका छौ आदि काम सकियो आदि बाँकी छ । आउँदो वर्षात सम्म सकिने छ ।’ 

यससँगै सत्यमोहन जोशीलाई सबै सुविधाहरु दिएर राखेका छौै । सत्यमोहन जोशी सय वर्ष पुगेको दिन सार्वजनिक विदा दिएर उहाँलाई गद्दीमा राखेर नगरपक्रिमा गराएको उनले सुनाए । उनी भन्छन्, ‘हाम्रो दर्शनमा मान्छेले गरेको काम गरेपछि सम्झिने गर्छौ । तर, हामी जस्तो मान्छेले सम्मान गर्दा उहाँहरुलाई हौसला पनि मिल्छ । उहाँले लेखेका पुस्तकहरु पनि छापिदिएका छौ ।’

यस अवधिमा विकास निर्माणका काममा प्रदेश सरकार र केन्द्रिय सरकारको कुनै पनि सहयोग र हस्तक्षेप नभएको उनी बताउँछन् । उनी भन्छन्, सरकारले कुनै पनि सहयोग गरेको छैन आदेश मात्र दिन्छ । कोरोनाको समयमा खोप पायौ तर व्यवस्थापनको काम भने सबै हामीले नै गर्यौ । केन्द्रीय सरकारबाट खोप बाहेक केही पनि पाएका छैनौ ।’

आफू कांग्रेसको मेयर भएका कारण धेरै समय एमालेको सरकार चलेको बेला बजेट र आयोजनाका कामहरुमा पार्टीगत हस्तक्षेप भएको उनी सुनाउँछन् । उनी भन्छन्, ‘केन्द्रिय सरकारको तर्फबाट नियमित सहयोग बाहेक अरु कुनै सहयोग पाएका छैनौ । राजनीतिक भागबन्डाले गर्दा धेरै आयोजनाहरु पनि परेनन् ।’

लक्ष्यभन्दा बढी राजश्व उठेको कारण पनि विकास खर्चमा समस्या नहुने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘गत वर्ष महानगरपालिकाले एक अर्ब ४१ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएकोमा लक्ष्य भन्दा ६९ प्रतिशत बढी राजश्व संकलन गरेका थियो । हाम्रो राजस्व बढ्यो जसले गर्दा विकास निर्माणका काममा बजेटको अभाव छैन । यो वर्ष पनि १ अर्ब ९० करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएका छौ ।’

उनका अनुसार महानगरपालिकाको बजेट ५ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । यसमध्ये १ करोडभन्दा बढी राजश्व संकलन गर्छौ बाँकी पैसा केन्द्रीय सरकारले हेर्छ । एडीबीसँग पनि ५४ करोड लिएका छौ कोभिडका कारणले मात्र हो नत्र हामीसँग पैसा हुन्छ’, उनले भने । 

भुगोल सानो भएका कारण ठुला आयोजनाहरु नबनाएको उनले सुनाए । उनले भने, ‘हाम्रो भुगोल साने भएकाले गर्दा पनि ठूला आयोजनाहरु बनाएका छैनौ । महानगरमा अहिले इलेक्ट्रिक बस सञ्चालन गर्न खोजेका छौ चैत्र अन्तिमसम्म सुरु हुन्छ ।’

‘हाम्रा धेरै जसो आयोजनाहरु सम्पदा क्षेत्रमा रहेका छन्, बालकुमारी र इन्द्रायणी मन्दिर बनाउँदै छौ । सानाठूला सबैखाले मन्दिरहरु बनाउँदैछौ । यसका साथै व्यापक रुपमा ढुंगा छाप्ने काम भइरहेको छ’, उनले भने । 

उनका अनुसार महानगरपालिकामा १७ वटा वडाका भवनहरु निर्माण भएका छन् । यसका साथै जेष्ठ नागरिकहरुका लागि पनि घरघरमा गएर खोप लगाइदिने काम गरेकोे छौ । यससँगै महानगरपालिकाको तर्फबाट वर्षेनी जेष्ठ नागरिकहरुलाई ५० हजार रुपैयाँ दिने गरेको उनले बताए । 

विकास निर्माणका काममा संघीय सरकारको कारण गाली खानु परेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘आठ मिटर चौडाईका भन्दा बढीको बाटो संघीय सरकारको पर्छ । उसैले टेन्डर गर्छ काम हुँदैन । स्थानियले त्यो कुरा बुझ्दैनन् अनि हामीलाई गाली गरिरहन्छन् । एउटा किला ठोक्ने अधिकार पनि हामीसँग छैन । यही कुराले गाली खानु परेको छ । तर हाम्रो कामबाट सबै खुशी छन् ।’

‘हामीले स्कुल, पार्क, ढुंगेधाराहरु निर्माण गरेका छौ । महानगर क्षेत्रमा जनताले खोजेको काम हामीले नगरेको केही छैन’, उनले सुनाए । उनका अनुसार महानगर क्षेत्रमा खुल्ला ठाउँ छैन । स्मार्ट सिटीका लागि खुल्ला ठाउँ पनि चाहिन्छ । यसका लागि हामीले सरकारी र एलेनी जग्गाहरुमा कुनै पनि निर्माणका काम गर्न दिएका छैनौ । यसका साथै यो क्षेत्रमा अपाङगता मैत्री धेरै कामहरु गरेका छौ’, उनले भने । 

महर्जन भन्छन्, ‘हामीले निर्माण गरेका शौचालयहरु अपाङगता मैत्री छन् । अपाङगता भएका मानिसहरुलाई अलि टाढासम्म जानका लागि अपाङगता मैत्री गाडीको पनि व्यवस्था गरेका छौ । उनीहरु एउटा गाडीमा ५ जनासम्म जान सक्छन् ।’

यससँगै एउटै छाना मुनीबाट विपद्का समस्याहरु समाधान गर्नका लागि एम्बुलेन्स, दमकल, शव बाहन, नगर प्रहरी र अन्य सामाग्रीहरु पनि एउटै कम्पाउन्ड भित्र रहेको उनले जानकारी दिए । 

ललितपुर जिल्ला सार्वजनिक सम्पदाहरुमा धनी भएका कारण यहाँका स्थानिय व्यक्तिहरुले मात्र नेतृत्व गर्न सक्ने उनको दावी छ । उनी भन्छन्, ‘सांस्कृतिक सम्पदाहरुमा धनी यो क्षेत्र यहाँको चावपर्व जात्रा मेला मठ मन्दिर पाटी पौवा देवालयहरुको बारेमा बाहिरको मान्छेलाइ कक ज्ञान हुने हुँदा अरु क्षेत्रको मान्छेले यहाँकोे नेतृत्व गर्न सक्दैन ।’ अन्य क्षेत्रका नगरपालिकाहरुले पनि ललित पुर महानगरपालिकाको नगर प्रहरीको काम र महानगरको काम, स्मार्ट सिटी लाइट र अन्य विकासका कामहरुको सिको गरेकोे उनले सुनाए । 
 

प्रतिक्रिया दिनुहोस