
विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले सो धरौटी माग्ने आदेश गरेको हो । विशेष अदालतले नासु गुप्ताको तीन वटा मुद्दामध्ये सरकारी कागजात लुकाई भ्रष्टाचार गरेको अभियोगमा १ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ ।
नासु गुप्ताले आफ्नो अनियमिततासम्बन्धी कर्तुत लुकाउन गोप्य सरकारी कागज नष्ट गर्ने प्रयास गरेका थिए । कलैयाबाट सरुवा भएपछि राजस्व रसिद, लिखित दर्ता किताबसहित महत्वपूर्ण कागजात चालक नीरजकुमार गुप्ताको डेरामा लुकाएका थिए । गुप्ताको डेरामा छापा मारेर अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको थियो ।
त्यस्तै, मालपोत कार्यालय कलैया र सिमराबाट ७ करोड ९ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर अपचलन गरेको दुई वटा मुद्दामा धरौटी माग्ने आदेश भएको छ । कलैयामा रहँदा राजस्व छली गरेको अभियोगमा नासु गुप्तालाई २५ लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको छ ।
उनले कलैयामा रहँदा नक्कली रसिद बनाएर २ करोड ५० लाख ८६ हजार ६ सय ४० रुपैयाँ राजस्व हिनामिना गरेका थिए । सक्कली रसिदबाटै संकलन गरिएको राजस्वसमेत व्यक्तिगत खातामा जम्मा गरेका थिए । २० कात्तिक २०७४ देखि २८ साउन २०७५ सम्म उठाइएको राजस्व हिनामिना गरेको खुलेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस