aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

तीन गाउँपालिकामा अझै पुगेन बैंकिङ पहुँच

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • आइतबार, ०८ फागुन २०७८
तीन गाउँपालिकामा अझै पुगेन बैंकिङ पहुँच

काठमाडौं । हिमाली दुर्गम जिल्ला मनाङ कतिपय सूचकमा पछाडि देखिए पनि बैंकिङ पहुँचमा भने सबैभन्दा अगाडि देखिएको छ । २०७८ पुस मसान्तसम्मको तथ्यांक हेर्दा सुविधा सम्पन्न काठमाडौंभन्दा मनाङका जनतामा बैंकको पहुँच राम्रो देखिएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार चालू आवको पुससम्म मनाङका ५७१ जनाको भागमा एउटा बैंक शाखा परेको छ । यो जिल्लामा बैंकहरूका ११ ओटा शाखा विस्तार भएका छन् ।

काठमाडौं जिल्लामा भने २ हजार २४७ जनालाई एउटा शाखा भागमा परेको छ । काठमाडौंमा हालसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका १ हजार २४ ओटा शाखा कार्यालय स्थापना भएका छन् । जनसंख्याको आधारमा हेर्दा काठमाडौंको तुलनामा मनाङ जिल्लाका जनतालाई बैंकको पहुँच राम्रो देखिएको हो । मनाङको तुलनामा काठमाडौंमा १ हजार ६७६ जना बढीले बैंकको एउटा शाखा प्रयोग गर्नुपर्ने बाध्यता छ । यद्यपि काठमाडौंमा सबैभन्दा बढी बैंक शाखा खुलेका छन् । त्यसैगरी मुस्ताङमा ६६१ जनालाई एउटा बैंक शाखा भागमा परेको छ । यो जिल्लामा वाणिज्य बैंकका १६ ओटा शाखा छन् भने विकास बैंकको शाखा एउटा छ ।

चालू आवको पुससम्म तीनओटा स्थानीय तहमा अझै बैंकका शाखा पुगेका छैनन् । नेपाल राष्ट्र बैंकका अनुुसार धादिङको रुबी भ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिकामा अझै बैंकका शाखा विस्तार हुन सकेका छैनन् । सरकारले आव २०७४र७५ को बजेटमा नै ७५३ ओटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्‍याउने लक्ष्य राखेको थियो ।

प्रतिक्रिया दिनुहोस