aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

भरतपुर महानगरको चार वर्ष, ठूला योजना अझै अधुरा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, ०८ फागुन २०७८
भरतपुर महानगरको चार वर्ष, ठूला योजना अझै अधुरा

काठमाडौं । विकास निर्माणका ठूला योजना निर्माण पूरा नहुँदै भरतपुर महानगरपालिकाका जनप्रतिनिधिको कार्यकाल सकिने भएको छ । साना योजना सम्पन्न गरे पनि महानगरका गौरवका आयोजना सम्पन्न नहुँदै वर्तमान जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिने भएको हो ।  महानगरपालिकाको  पहल  र नेपाल सरकारको  लगानीका  योजना  प्रतिबद्धताअनुसार सम्पन्न नहुँदा अझै निर्माणाधीन छन् । 

सङ्घीयता कार्यान्वयनका क्रममा महानगरपालिकामा जनप्रतिनिधि आएपछि गौरवको आयोजनाका रूपमा वर्तमान नेतृत्वको कार्यकालमा भरतपुर सिटी हल निर्माण पूरा गर्ने लक्ष्य लिएको थियो ।एक अर्ब  ८५  करोड  रुपियाँको  लागतमा  निर्माण सुरु भएको भरतपुर सिटी हलको काम अहिले भइराखेको  छ । निर्माण  सम्पन्न  हुन  अझै  दुई वर्ष लाग्ने देखिएको छ । हल निर्माणका लागि जग्गा  प्राप्तिमा  केही  समय  लागेकाले  काम ढिला  भएको  महानगर  प्रमुख  रेनु  दाहालले बताइन् । जिल्ला समन्वय समितिबाट जग्गा हस्तान्तरण  भएपछि  सिटी  हल  निर्माण भइरहेको हो ।

महानगरको अर्को  गौरवको आयोजनाका रूपमा  रहेको ८८  किलोमिटर लामो  चक्रपथ निर्माणले गति लिएको छैन । चक्रपथ निर्माणका  लागि  प्रारम्भिक  वातावरणीय  प्रभाव मूल्याङ्कनसहित  परियोजना  तयार  पारे  पनि कामले पूर्णता पाउने गरी अगाडि बढ्न सकेको छैन । आठ  अर्ब  २०  करोड  रुपियाँ  निर्माण लागतमा  रहेको  चक्रपथको  ४०  किलोमिटर सडकखण्ड  सङ्घ,  प्रदेश,  सडक  विभाग  र महानगरको  लगानीमा  निर्माणाधीन  छ । बाँकी ४८  किलोमिटर  सडकका  लागि  स्रोतको  खोजी भइरहेको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस