
काठमाडौं । आइतबार संघीय संसदको प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पेश भएको छ । सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबारको बैठकमा एमसीसी पेस गरिएको हो ।
एमसीसी पेस गर्दै मन्त्री कार्कीले भने, ‘यस अनुदानबाट नेपालमा ५० लाख घरधुरी लाभान्वित हुनेछन् । एमसीसीबाट करिब ६० अर्ब रुपैयाँ अनुदान पाइने छ । यसले देशको आर्थिक, सामाजिक क्षेत्रमा टेवा पुग्नेछ ।’
ससदमा प्रतिनिधित्व गर्ने दलहरुबीच सहमति हुन नसक्दा संसद् सचिवालयमा दर्ता भए पनि सो सम्झौता संसद्मा टेबुल हुनसकेको थिएन । एमसिसी सम्झौतालाई टेबुल गर्न सत्ता साझेदार दलहरु आज मात्रै सहमतिमा पुगेका थिए ।
एमसिसी सम्झौता संसद्मा टेबुल गर्न सत्ता गठबन्धनका दलहरुबीच सहमति भएपछि कार्यव्यवस्था समितिको बैठकले त्यसलाई अगाडि बढाउने निर्णय गरेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ माघ २५ गते सो अनुदान सम्झौता अनुमोदनका लागि संसद्मा पेश गर्न स्वीकृति दिएको थियो । तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले एमसिसी सम्झौता संसद्को साधारण बहुमतबाट अनुमोदन गर्न २०७६ असार ३० गते संसद्मा पेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस