सरकारले ऐलानी जग्गा तथा वन अतिक्रमण गरेर बसेका भूमिहीन, सुुकुमबासी र अव्यवस्थित बसोवासीलाई एकपटकका लागि लालपुर्जा दिने तयारी गरेको छ।
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्नेगरी विधेयक संसदमा लगेको हो।
हाल उक्त विधेयक छलफलका लागि संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छ।
विधेयकमा हाल आवादी रहेको स्थानमा कम्तीमा १० वर्षदेखि बसोवास गर्दै आएका भूमिहीन, सुकुमबासी वा अव्यवस्थित बसोवासीलाई एकपटकका लागि सरकारले तोकिएको क्षेत्रफल नबढ्ने गरी जग्गा उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।
त्यस्ता भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीलाई अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफल नबढ्ने गरी उपलब्ध गराउन सक्ने व्यवस्था पनि विधेयकमा छ।
विधेयकमा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखेको भए पनि यो दफा प्रारम्भ हुँदाका बखत सरकारी जग्गाा वा अभिलेखमा वन क्षेत्र जनिएको भए पनि हाल आवादी रहेको स्थानमा कम्तीमा १० वर्षदेखि बसोवास गरी आएका भूमिहीन, सुकुमबासी वा अव्यवस्थित बसोवासीलाई एकपटकका लागि नेपाल सरकारले निजहरु बसोवास गर्दै आएको स्थानमा बसोवासका लागि तोकिएको क्षेत्रफल हद नबढ्ने गरी जग्गा उपलब्ध गराउन वा नेपाल सरकारले उपयुक्त ठहर्याएको अन्य कुनै सरकारी जग्गामा तोकिएको क्षेत्रफलको हद नबढ्ने गरी उपलब्ध गराउन सक्नेछ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस