
काठमाडौं । राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा ‘राजदूतको पद रिक्त हुनुभन्दा सामान्यतया तीन महिनाअगाडि नियुक्ति प्रक्रिया सुरु गर्नुपर्ने’ उल्लेख छ तर सरकारले त्यसको कार्यान्वयन गरेको छैन । दक्षिण कोरियासहित २० मुलुकमा राजदूत रिक्त भएको तीन महिनादेखि तीन वर्षसम्म भइसक्दा पनि नियुक्तिको सुरसार छैन ।
धेरै नेपाली कामदार रहेको र नेपाललाई द्विपक्षीय सहयोग गर्ने महत्त्वपूर्ण देश दक्षिण कोरियामा सन् २०१९ जनवरीदेखि राजदूत खाली छ । उत्तरी छिमेकी चीनसहित २० मुलुकमा नेपालले राजदूत नियुक्त गरेर पठाउन सकेको छैन । कात्तिक ११ मा अमेरिका, भारत र बेलायतका लागि राजदूत सिफारिस गरिएकामा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य नियुक्त भइसकेका छन् ।
अमेरिकाका लागि प्रस्तावित राजदूत प्राध्यापक श्रीधर खत्री र भारतका लागि प्रस्तावित शंकर शर्मा सम्बन्धित मुलुकबाट एग्रिमो ९सहमति० को पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौतालाई टुंगो लगाएपछि मात्र राजदूत नियुक्त गर्ने पक्षमा छन् । राजदूत खाली भएको लामो समय भइसकेकाले अब केही दिन पर्खेर मात्र नियुक्त गर्ने तयारीमा देउवा रहेको ती अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस