aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

‘विकास हामीले देखाएर देखिदैन गरेर देखाउनुपर्छ’

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • मंगलबार, १० फागुन २०७८
‘विकास हामीले देखाएर देखिदैन गरेर देखाउनुपर्छ’

काठमाडौं । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा के काम गरे भनेर आम नागरिकले समिक्षा गर्ने दिन नजिकीदै छ । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भइसकेको पृष्ठभूमिमा निर्वाचन ताका उनीहरुले वितरण गरेका चुनावी घोषणा पत्र र यसबीच भएका कामको तुलना हुन थालिसकेको छ । 

कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरी थापाले स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा ल्याएको परिवतर्नले गाउँ–गाउँमा सिंहदरबार पुगेको उनको दावी गरेका छन् । स्थानीय तहमा निर्वाचित भएपछिको पाँच वर्षे कार्यकाल सकिन लागेका बेला उनले यस्तो बताएका हुन् । मेयर थापा भन्छन्, ‘स्थानीय तहमा उठेको पैसा यही खर्च हुन्छ । केही समस्या पर्यो भने नगरपालिका अथवा वडामा आए हुन्छ । अहिले कागेश्वरीमा मात्र छ वटा स्कुल छन् । कृषि र शिक्षा शाखा छ । न्यायालयको अफिस पनि छ ।’

उनका अनुसार हाल कागेश्वरी मनहरा नगरपालिकामा २८ हजार घरधुरी रहेका छन् । ‘सबै नगरपालिकामा ८३३ वटा बाटो रहेको छन् । यी मध्ये ३३ प्रतिशत बाटो निर्माणका लागि ठेक्का अघि बढाइसकेका छौ’, उनले भने । 

आफ्नो टोल आफै बनाउन भन्ने कार्यक्रममा नगरपालिका लागि परेको उनले बताए । उनले भने, ‘यस क्षेत्रका धेरैजसो बाटोहरुमा कालोपत्रे र ढलानका कामहरु भएका छन् । हामीले आफ्नो टोल आफै बनाउन भन्ने कार्यक्रम पनि सञ्चालन गरेका छौ । त्यसका लागि बजेट भने पर्दैन । यस नगरपालिकामा १०० घरधुरीले ५० हजार रुपैयाँ उठाएर बाटो ढलानको काम पनि गरेका थिए । अहिले हामीले त्यो बाटो पिच गरिसकेका छौ ।’

आफूहरु निर्वाचित भएर आएपछि यस क्षेत्रमा क्रमागत रुपमा कागेश्वरी नगरपालिकाको विकास गरेको उनको भनाइ छ । मेयर थापा भन्छन्, ‘यस नगरपालिकाको विकासका लागि प्रत्येक नगर सभामा योजना बैक बनाउँछौ । सबै वडाका बाटो निर्माणका लागि योजना बनाउँछौ । कागेश्वरी नगरपलिकामा दुई वटा बाटो संघीय सरकारको पर्छ । अरु सबै बाटो निर्माणको काम हामीले गरेका छौ ।’

उनी भन्छन्, ‘हामीले ६६ करोड बजेट पहिलो नगरसभामा पेश गरेकोे थियौ । यो वर्ष २ अर्ब ३ करोड पुर्याएका छौ । १ अर्ब ५३ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ भने ४४ करोड रुपैयाँ चालु खर्च रहेको छ । २६ प्रतिशत पुँजीगत खर्च गरेको छौ । कुनै वर्षमा पनि पुरा खर्च गर्न सकेका छैनौ ।  अहिले पनि १ अर्ब ६६ करोड रुपैयाँ मा १ करोड ४० लाख रुपैयाँ खर्च हुनै बाँकी छ ।’

कर लगाएर भएपनि पनि राज्यले स्वास्थ्य सेवामा निःशुल्क गर्नुपर्ने उनको भनाइ । उनी भन्छन्, ‘सरकारले शिक्षा क्षेत्रमा भन्दा स्वास्थ्य सेवामा निःशुल्क गर्नुपर्छ । क्यान्सर र मृगौला पिडितका साथै सुगर प्रेसर जस्ता बिरामीहरूको कार्ड बनाइदिएर उनीहरूको निःशुल्क उपचार गर्नुपर्छ । कागेश्वरी नगरपालिकामा पनि स्वास्थ्य बीमा लागू गरेका छौ ।’

उनका अनुसार यसअघि उक्त क्षेत्रमा पाँच वटा स्वास्थ्य केन्द्र रहेका थिए भने अहिले १० वटा स्वास्थ्य केन्द्र बनेका छन् । ‘एउटा शव बाहन र एम्बुलेन्स निशुल्क सञ्चालन गरेका छौ । मृगौला र क्यान्सरका बिरामीहरु र जेष्ठ नागरिकहरुका लागि निःशुल्क गरेका छौ’, उनले भने । 

कोरोना महामारीमा मुलपानी हस्पिटल पनि सञ्चालनमा ल्याएसँगै कागेश्वरी मनहरा नगर अस्पतालको नाममा परिचित गर्न लागेको उनले जानकारी दिए । उनले भने,‘ अन्य महानगरमा हस्पिटलहरु भएपनि हाम्रोमा थिएन । मुलपानी हस्पिटल पनि सञ्चालनमा ल्याएका छौ । अक्सिजन प्लान्ट राखेका छौ । आइसीयु र भेन्टिलेटर पनि राखेका छौ ल्यावको पनि सुविधा छ । अहिले हाम्रोमा सबै प्रकारको परिक्षण गरिन्छ । एन्टिजेन परिक्षण गर्नेमा काठमाडौं महानगरपालिका भन्दा पहिलो छौ ।’

यस क्षेत्रको विकास र परिवर्तनले विपक्षीले पनि कामको विषयमा दोष लगाउने ठाउँ नभएको उनको दावी छ । उनी भन्छन्, ‘बाटो विस्तार खानेपानी र भौतिक पूर्वाधारको विकासमा नै जोड दिएका छौ । बाटो पिच हुँदा घर जग्गाको मुल्य बढेको छ । मान्छेको जीवनस्तर पनि उठेको छ । ७० प्रतिशत जनता खुसी छन् यस क्षेत्रको विकास र परिवर्तनले विपक्षीले पनि कामको विषयमा दोष लगाउने ठाउँ पाएका छैनन् ।’

मुआब्जा दिन नसकेका कारण चाबहिल साखु सडक निर्माणको काम भने गर्न नसकेका उनले सुनाए । मेयर थापाले भने, ‘विकास हामीले देखाएर देखिदैन गरेर देखाउनुपर्छ मान्छे ले देख्छन्, त्यसलाई छोप्न पनि मिल्दैन । विकास थुन्चेले छोपेर पनि छोपिन्न । मुआब्जाका कारण चाबहिल साखु सडक निर्माणको काम भने रोकिएको छ ।’

हाम्रो लक्ष्य भनेको स्वच्छ सफा कागेश्वरी बनाउने हो । समग्र क्षेत्रमा नगरवासीले सुविधा पाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । उनले भने, ‘अरू नेताहरूले जस्तो सय दिनमा यस्तो काम गर्छु भनेर भन्दिन । मैले १८०० दिन काम गर्ने हो । योजना अनुसार शिक्षामा प्रगति गरेका छौ हस्पिटल खोलेका छौ । हामी जनप्रतिनिधिले पार्टीभन्दा माथि उठेर काम गर्नुपर्छ । विपक्षीले भोट दिएको छैन भनेर काम नगर्ने भन्ने हुन्न । हाम्रो नगरपालिका सानो छ । सबै वडामा समानुपातिक विकास गर्ने उद्देश्यले काम गरेका छौ ।’

उनी भन्छन्, ‘हामीले ठुलाकाम गर्ने घोषणा गरेका छैनौ । २६ हजार रोपनीको जग्गामा बनाउन लागेको नयाँ शहर निर्माणको काम घोषणा पत्रमा थिएन । नगरपालिकाका भवन स्वास्थ्य कार्यालय, प्रत्येक वडामा कार्यालय भवन निर्माण गरेका छौ । हस्पिटललाई सुधार गरेका छौ । घोषणापत्रमा सबै राम्रो काम नै लेखेको हुन्छ । त्यसलाई कार्यान्वयन कसरी गर्ने भन्नेमा भर पर्छ । जुन क्षेत्रमा कायापलट गर्छौ भनेका थियौ त्यो काम गरेका छौ ।’

भोट माग्न मात्र आउँछन् भन्ने परिपाटीलाई मेटाउन २०७७ माघ १ गतेदेखि टोल टोलमा मेयर भन्ने कार्यक्रम पनि चलाएको उनले सुनाए । उनले भने, ‘पारदर्शिता र सुशासनको लागि प्रत्येक वडामा इन्जिनियर राखेका छौ । २०७७ माघ १ गतेदेखि टोल टोलमा मेयर भन्ने कार्यक्रम पनि चलाएको थिए । १ गतेदेखि ९ गतेसम्म ९ वटा नै वडामा जान्छु । त्यो काम अहिले कसैले गरेको छैन । भोट माग्न मात्र आउँछ भन्ने परिपाटीलाई मेटाएको छु ।’

उनका अनुसार कागेश्वरी मनहरा नगरपालिकामा नेपालकै दोस्रो ठूलो स्कुल पनि बन्ने भएको छ । पहिलो चाइनाले बनाएको दरबार हाइस्कुल हो । यस नगरपालिकामा १६ वटा सामूदायिक स्कुल रहेको छन् । जसमा दक्ष शिक्षकहरु छनौट गरेका छौ उनले भने ।  

थापाले भन्छन्, ‘हमीले शिक्षा क्षेत्रमा पनि धेरै सुधार गरेका छौ । पुननिर्माण प्राधिकरणले धेरै भौतिक निर्माणका कामहरु पनि गरेको छ । कक्षा पाँचसम्म खाजा खर्च पनि दिएका छौ । एक शिक्षकलाई एक ल्यावटपको व्यवस्था गर्न लागेका छौ । जसका लागि ४० हजार रुपैयाँ पैसा नगरपालिकाले व्यहोर्ने छ भने बाँकी पैसा उनीहरुले व्यहोर्नेछन् । २२० वटा ल्यावटप लिएका छौ । अवकाश भएपछि पनि उनीहरुले नै प्रयोग गर्न पाउँछन् ।’

संघीय सरकारले विद्यालयलाई पनि स्थानीय तहमा हस्तान्तरण गरेमा आवश्यकता अनुसारको शिक्षक संख्या वृद्धि गरी शिक्षा क्षेत्रका समस्याहरुको पनि समाधान गर्ने उनको भनाइ छ । कृषि क्षेत्रको विस्तारका लागि धान,आलु र मकैको बिउका साथै सिजन अनुसार तरकारीका विरुवाहरु पनि बाँड्ने गरेको उनले सुनाए । उनले भने, ‘कृषिमा पाँच रोपनी जग्गामा व्यवस्थित खेती गर्नेलाई १ लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेका छौ । समूह खोलेर २० रोपनी जग्गामा खेती गर्नेलाई पाँच लाख रुपैयाँ हामीले सहयोग पनि गरेका छौ ।’

अहिले कागेश्वरी, गोकर्णेश्वर र शंखरापुर गरी तीन वटा नगरपालिका मिलेर २६ हजार रोपनी जग्गामा व्यवस्थित बस्ती बनाउन लागि परेको उनले जानकारी दिए । उनले भने, ‘ यी बस्तीमा कागेश्वरी एकदेखि चार नम्बर वडा, गोकर्णेश्वरको एक, दुई र चार नम्बर वडा र शंकरापुरको ९ नम्बर वडा पर्दछन् । यस योजनामा कागेश्वरी नगरपालिकाले ५० प्रतिशत व्यहोर्ने छ भने ३५ प्रतिशत गोकर्णेश्वर र १५ प्रतिशत शंखरापुर नगरपालिकाले गर्नेछ ।’

एकद्धारको प्रणाली लागु हुनुपर्ने माग राख्दै उनले भने, ‘स्थानीय सरकारले धेरै विकास र निर्माणका काम गरेको छ । प्रदेश सरकारले पनि प्राविधिक सहयोग गर्नुपर्यो । संघीय सरकारले सहरी विकासका नाममा पनि खर्च गरिरहेको छ । एकद्धारको प्रणाली लागू हुनुपर्यो ।’ 

उनका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाले धेरै ठूला योजनाहरु ल्याएको छैन । स्थानिय सरकारलाई जे जति पैसा दिन्छ त्यो पैसा फ्रिज नहुने गरी गरेका छौ । स्थानीय तह मर्ज भएर उपहानगरपालिका पनि हुनसक्छ । त्यसलाई मध्यनजर गरेर पनि सात तले भवन निर्माण गरेका छौ । यसको ५६ करोड रुपैयाँ लागत रहेको छ । 

उनले भने, नगरपालिकाले निर्माण गरेको पार्किङ सहितको भवनमा एक तला बैंक वित्तीय संस्थालाई दिने, एक तला मालपोत अथवा नापीलाई दिने र माथिल्लो तला रेष्टुरेन्टलाइ दिने भनेर कर्मशियल भवन बनाएका छौ । एक वर्ष भित्र सञ्चालनमा आउने छ ।’ 

संघीय सरकारले निर्माण गरेका नीतिहरुको कार्यान्वयन गर्न स्थानिय तहलाई दिनुपर्ने उनको तर्क छ । ‘अहिले पनि नगरपालिकालाई धेरै पैसा आउँदैन । संघीय सरकाले दिने ५० करोड रुपैयाँ हो । प्रदेश सरकारले ९ करोड रुपैयाँ जति दिन्छ । गत वर्षकै खर्च गर्न नसकेको ४४ करोड छ । यो वर्षको बजेट पनि थोरै बढाएका छौ । अहिले पनि हामीले एक अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गरीसकेका छौ’, उनले भने । 

दुई वर्ष कोरोनाले गर्दा काम गर्न नपाएपनि बाँकी दुई वर्षमा पनि धेरै काम गर्न सफल भएको उनको भनाइ छ । उनी भन्छन् ‘हामीले कोरोनाको महामारीमा पनि आफ्नो अनुकुलमा काम गर्यौ । अर्को वर्ष के काम गर्ने हो । त्यसको लागि पूर्व योजना हुनु पर्छ । गत वर्ष टेन्डर लिएका कामहरु सुचारु भएका छन् ।’

उनका अनुसार यस नगरपालिकाको आम्दानीको स्रोत पनि आन्तरिक नै हो । ‘अहिले डेढ करोड राजस्व उढी सक्यो । ३५ करोडको अनुमान गरेका छौ । सरकारको जनसंख्या वृद्धिदर घटेपनि यस क्षेत्रको जनसंख्या पनि बढेको छ । राजस्व उढ्ने निकायहरु पनि बढेका छन् । मालपोतबाट आउने छुट्टै छ’, उनले भने । 

अब विकास निर्माणका काम केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गरेको भन्दा नि करदाताले गरेको भन्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘सबै काम गरे भनेर तामझाम गर्नु पर्दैन । विदेशमा काम कसले गर्यो भन्दा करतादाताले गरे भन्ने चलन छ । अब हामीले पनि करदातालाई प्रोत्साहन गर्नुपर्छ । हामीले वडा भेला गराएर सार्वजनिक सुनुवाइ मार्फत पनि कामको मुल्याङकन गर्ने गरेका छौ ।’

पालिकाहरुले विभिन्न कुराहरु सिक्नुपर्ने जोड दिँदै उनले भने, ‘अरु नगरपालिकाले बजेट विनियोजन कसरी गर्ने, दिगो विकासको अवधारणालाई आधार लिएर काम गर्नूपर्छ । सरकारी जग्गाहरु पनि संरक्षणका लागि राखेका कारण पैसा भएर मात्र हुँँदैन यसलाई कार्यान्वयनमा पनि लैजान सक्नुपर्यो । ठूला ठूला योजनाहरु स्थानीय तहले होइन राज्यले गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस