
काठमाडौं । निर्वाचनमा उठ्ने बेला हरेक नेताहरुले आ–आफ्नो प्रतिवद्धता सहितका घोषणा पत्र सार्वजनिक गरेका हुन्छन् । निर्वाचित भइसकेपछि कतिपय जनप्रतिनिधिले ती घोषणापत्रमा उल्लेख भएका प्रतिवद्धताहरु पुरा गर्छन् त कतिले घोषणा पत्रको छेउ पनि छुदैनन् ।
तर, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख (मेयर) रामेश्वर श्रेष्ठ भने चुनाव ताका लिएका प्रतिवद्धताहरुलाई सबै पुरा गरेको दावी गर्छन् । उनले आर्थिक न्युजसँग कुराकानी गर्दै भने, ‘स्थानीय चुनावमा म यस नगरपालिकाको मेयर पदमा निर्वाचित भएर आएपछि पूर्वाधारको विकासदेखि विकासका लागि आवश्यक पर्ने कानुनको विकास पनि शुन्य अवस्थाबाट सुरुवात गरे । समग्रमा हेर्दा चुनावताका मैले गरेका प्रतिवद्धता पाँच वर्षको अवधिमा सबै पुरा गरेको छु ।’
मेयर श्रेष्ठका अनुसार यस अवधिमा नगरपालिकाले राम्रो नतिजा प्राप्त गरी गन्तव्यमा पुग्न सफल भएको छ । उनले भने, ‘जनताले चाहेजति अपेक्षाकृत रुपमा सबै क्षेत्रको रुपमा विकास गर्न नसकेपनि आधारभूत रुपमा धेरै काम गरेका छौ ।’
‘एकल अधिकार र साझा अधिकारको ५५ वटा कानुन निर्माण गरेका छौ । कानुन निर्माणको आधारमा नगपालिकाले प्रदान गर्ने सेवालाई चुस्तदुरुस्त र पारदर्शी बनाउने नीतिलाई अवलम्वन गरेर सेवा प्रवाह गरेका छौ’, उनले भने । उनका अनुसार महालक्ष्मी नगरपालिका पूर्वाधार निर्माणमा शुन्य अवस्थामा थियो । यस्तो अवस्थामा पूर्वाधारलाई प्राथमिकतामा राखी यस नगरपालिकाले सबै वडामा बाटो विस्तार गरेको उनले बताए ।
उनी भन्छन्,‘ भौतिक पूर्वाधारमा हाम्रो नगरपालिका शुन्य अवस्थामा थियो । विकासलाई प्राथमिकतामा राखेर सबै वडामा बाटो विस्तार गरी कालोपत्रे र ग्राभेल गरेका छौ । आफ्नै लगानीमा गोदावरी खोलामा पुल निर्माण पनि गरेका छौ । हाम्रो सक्रियता र सडक डिभिजन कार्यालयको सहयोगमा थप दुई वटा पुल निर्माण सम्पन्न भएका छन् भने थप तीन वटा पुलहरु निर्माण भइरहेका छन् ।’
‘हामीले बनाएका पुल दुई लेनका छन् भने केन्द्र सरकारको सहयोगमा बनेको पुल चार लेनको बनेका छन । केन्द्र सरकार र सडक डिभिजनको सहयोगमा तीन वटा पुल निर्माणको काम अघि बढेको छ’, उनले सुनाए ।
यससँगै पर्यटकीय क्षेत्र विस्तारका लागि लाकुरी भन्ज्याङमा मनमोहन मेमोरियल टावर निर्माणको काम सम्पन्न गरेको उनले जानकारी दिए । मेयर श्रेष्ठ भन्छन्, ‘हामीले भौतिक पूर्वाधारका साथै पर्यटकीय क्षेत्रमा पनि विकास गरेका छौ । लाकुरी भन्ज्याङमा मनमोहन मेमोरियल टावर निर्माणको काम सम्पन्न भएको छ ।’
‘यससँगै मनमोहन मेमोरियल पार्क बनाउनका लागि पनि टेन्डर भइसकेको छ । वडा नम्बर नौ मा गणेशमान मेमोरियल पार्कको प्रवद्र्धनमा नगरपालिकाले लगानी गरी आन्तरिक र बाह्य पर्यटकलाई आर्कषण गरेका छौ’, उनले थपे ।
उनका अनुसार यस नगरपालिकाबाट धेरै जनशक्तिहरु विदेश पलायन हुन गरेका थिए । युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न र उद्यमी बनाउनका लागि निःशुल्क रुपमा बिउ पूँजी(लगानी) र प्रविधि हस्तान्तरण गरेको उनले बताए ।
मेयर श्रेष्ठले भने, ‘ युवाहरु विदेशिनु देशका लागि राम्रो होइन । सके विदेशिन बाट रोर्कौ रोकौ नसके पनि यसलाई न्यूनिककरण गर्नुपर्छ भनेर सबैलाई उप्पादनसँग जोडेर उद्यमी बनाउन लागि परेका छौ । थप अभाव पुँजी परिपुर्ति गर्नका लागि राष्ट्रिय वाणिज्य बैंकसँग सरल कर्जामा ऋण लिने व्यवस्था पनि गरेका छौ ।’
उनका अनुसार महालक्ष्मी नगरपालिकामा खानेपानीको समस्या थियो । उपत्यकाका १७ वटा कार्यक्षेत्रमा मेलम्ची खानेपानीको केन्द्र थियो । तर महालक्ष्मी नगरपालिकामा भने थिएन । जनप्रतिनिधि भएर आएपछि खानेपानीलाई पनि प्राथमिकतामा राखेर दीर्घकालिन समस्या समाधानको लागि मेलम्चीको कार्यक्षेत्र पार्न सफल भएको उनले सुनाए ।
उनले भने, ‘ यस नगरपालिकामा खानेपानीको समस्या समाधानको लागि मेलम्ची खानेपानीको आयोजनाको कार्य पार्यौ । सर्भे र डिपिआरको काम भएर पाइपलाइन विस्तारको लागि प्रक्रिया अघि बढाएका छौ । सहमतिको पत्र अर्थमन्त्रालयमा पुर्याएका छौ । बाँकी ६ देखि १० नम्बर वडाको लागि सर्भे र डिपिआरका लागि पत्राचार पनि गरेका छौ ।’
यसका साथै अल्पकालिन रुपमा पानीको समस्या समाधानको लागि काठमाडौं उपत्यकाको खानेपानी विभागसँगको सहकार्यमा सबै वडामा पानीको पहुँच पुर्याउन डिप बोरिङ मार्फत नगरपालिकाले काम अघि बढाएको उनले जानकारी दिए ।
श्रेष्ठले भने, ‘गत आर्थिक वर्षमा नगरपालिका आफैले पाइपलाइन विस्तार, रिजर्भ ट्याङकी बनाउन थप ट्याङकी निर्माण गर्न र बोरिङका लागि पनि आठ करोड रुपैयाँभन्दा बढी लगानी गरेका थियौ । यस वर्ष पनि तीन करोड रुपैयाँभन्दा बढी खानेपानीका लागि लगानी गरेका छौ । हरेक घरमा शुद्ध पिउने पानी नभएपनि पानीको पहुँच पुर्याउनका लागि लागिपरेका छौ ।’
उनका अनुसार उक्त नगरपालिकामा फोहोर व्यवस्थापन र विस्थापन गर्ने ठाउँ थिएन । यस क्षेत्रमा भएको फोहोर व्यवस्थापन र विस्थापन गर्ने क्षेत्रपनि नभएका कारण कुहिने र नकुहिने फोहोरलाई छुट्याएर नीजि क्षेत्रहरुसँग सहकार्य गरी घरघरबाट फोहोर संकलन गरेर फोहोर व्यवस्थापन केन्द्रसम्म पुर्याउने गरेको उनले भने ।
उनी भन्छन्, ‘ फोहोर व्यवस्थापनका साथै हामी आफैले मानव मलमूत्रलाई ट्रिटमेन्ट प्लान्ट बनाउन लागि परेका थियौ । प्राविधिक कारणले गर्दा त्यो काम गर्न नसकेपनि सबै घरहरुले अनिवार्य रुपमा सिल सेफ्टिी ट्याङकी बनाउनुपर्छ भनेर लागि परेका छौ । यदि ट्रिटमेन्ट प्लान्ट पनि बनाउन सकेको भए किसानहरु लाई खेती गर्नका लागि मल र सिचाँइको पनि सुविधा हुने थियो ।’
घरबाट निस्कने फोहोर र वर्षातको पानीको बहावबाट हुने मानवीय र जमिनको क्षतिलाई कम गर्नका लागि रिचार्ज पेन समेत बनाएको उनले सुनाए । उनले भने, ‘ वर्षातको पानी र बाढीले मानवीय क्षतिका सार्थ जमिनको पनि क्षति हुने गर्छ । त्यसलाई कम गर्नका लागि रिचार्ज पेन बनाएका छौ । सुविधा अनुसारको १० देखि १३२ फिटको खाल्डो खनेर गिटी राख्छौ, एक फिट जति बालुवा राख्छौ ।
हामीले नुहाउदा लुगा धुँदा र वर्षातबाट आएको पानी सबै त्यही राख्छौ । जसले गर्दा खोलाको बहावलाई पनि न्युनीकरण गर्छ भने सुख्यायाममा पनि ईनार कुवा र जमिनहरु ओसिलो हुने गर्छन् ।’ ‘यससँगै पर्यटन क्षेत्रको विस्तार र कला संस्कृतिहरुको संरक्षण र प्रवद्र्धनका लागि यस नगरपालिकाले लोपोन्मुख बाजाहरुको संरक्षणका लािग आवश्यक बजेट प्रवद्र्धन गरेर व्यवस्थापन पनि गरेका छौ’, उनले भने ।
यस नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्वाधारको पनि पूर्वाधार मानेर विकासका काम अघि बढाएको उनले सुनाए । उनले भने, ‘हामीले शिक्षा क्षेत्रमा पनि राम्रो प्रगति गरेका छौ । गुठीबाट सञ्चालित, सामुदायिक र निजि तीन वटै विद्यालयहरुलार्इृ समानरुपमा अघि बढाएका छौ ।’
‘विशेषगरी सामुदायिक विद्यालयहरुको स्तर उन्नती र गुणस्तरीय शिक्षा पाउने नैसर्गिक अधिकारलाई स्थापित गर्नका लागि नगरपालिकाले नीति बनाएर अघि बढेसँगै शिक्षामा पनि आमुल परिवर्तन गर्न सफल भएका छौ’, उनले सुनाए ।
उनी भन्छन्, ‘पाँच वर्ष अघिको तुलनामा हेर्ने हो भने आज सबै सामदायिक विद्यालयमा विद्यार्थी संख्या दोब्बरले बढेको छ । शिक्षामा विकास नभएसम्म कुनैपनि क्षेत्रको विकास हुन सक्दैन । शिक्षामा गरेको लगानी तत्काल नदेखिएपनि शिक्षामा लगानी गरेका छौै । स्थानीय पाठ्यक्रम पाठ्यपुस्तक बनाएका छौ ।’
यससँगै महिनावारीको समयमा छोरीहरु स्कुल जानबाट बञ्चित नहुन भनेर स्यानीटरी प्याड वितरण गर्ने काम हामीले सुरुवात गरेको उनले दावी गरे । ‘अहिले यो कामलाई सरकारले पनि निरन्तरता दिएको छ’, उनले सुनाए ।
उनका अनुसार महालक्ष्मी नगरपालिमा पाँच वटा मात्र स्वास्थ्य चौकीहरुबाट स्वास्थ्य क्षेत्रमा थप लगानी विस्तार भएको छ । उनी भन्छन्, ‘अहिले १० वटै वडामा स्वास्थ्य चौकीको विस्तार भएका छन् । किष्ट मेडिकल कलेजसँग स्थानीय बासिन्दाहरु जो सुकैले पनि सेवा लिन जाँदा १५ प्रतिशत छुटको व्यवस्था गरेका छौ ।’
‘जेष्ठ नागरिकहरुका लागि हरेक महिना स्वास्थ्य चौकीबाट उनीहरुको घरमा गएर स्वास्थ्य परिक्षण गर्ने र सुगर तथा प्रेसरका आवश्यक न्युनतम औषधिहरु निशल्क रुपमा बाडेका छौ । २४ सै घण्टा बर्थिङ सेन्टरको व्यवस्था गरेका छौ । औषधि अभावको व्यवस्थालाई स्थापित गरेका छौ । डेन्टल सेवा पनि लिएका छौ’, उनले थपे ।
कोभिडका समयमा पनि कोही पनि नागरिकलाई भोकै बस्न नदिएको उनी बताउँछन् । मेयर श्रेष्ठ भन्छन्, ‘कोरोनाबाट यस नगरपालिकामा मानवीय क्षत्रि पनि कम मात्रामा भयो । क्षति भएकाहरुमा पनि डेरा गरेर बस्नेहरुमा मात्र भयो । यहाँका स्थानियहरुमा धेरै क्षति भएन । कम क्षति हुने व्यवस्थालाई स्थापित गर्न सकेका थियौ । कोही पनि नागरिकले भोकै बस्नुपरेन ।’
कोरोनाबाट परिवार गुमाए बालबालिकाहरुको लागि पनि राहत र अनुदान दिने गरेको उनले सुनाए । उनी भन्छन्, ‘परिवार गुमाएपनि पनि नगरपालिका छ भन्ने प्रत्याभूति दिनका लागि कोरोनाले मृत्यु भएका परिवारका १८ वर्षभन्दा मुनीका छोराछोरीहरु पढाइबाट बञ्चित नहोस भन्ने हेतुले वार्षिक अनुदानका रुपमा २५ हजार रुपैयाँ दिने व्यवस्था गरेका छौ ।’
यसका साथै गरिब विपन्न्न र आर्थिक अवस्था कमजोर भएका परिवारका छोरीहरु पढाइबाट बञ्चित नहुन भन्ने उद्देश्यले वडा नम्बर १० का सामुदायिक विद्यालयमा पढ्ने सबै छोरीहरुलाई वार्षिक छ हजार रुपैयाँ समेत दिने गरेको उनले जानकारी दिए ।
‘यससँगै एक नम्बर वडादेखि नौ नम्बर वडासम्मका दलित जनजाति विपन्न र मध्यम वर्गका छोरा पढाउन सक्ने तर छोरीलाई काममा लगाउने प्रथाको अन्त्य गर्नका लागि पनि छोरीहरुलाई वार्षिक रुपमा छ हजार रुपैयाँ दिने गरेका छौ’, उनले भने ।
नगरपालिकाले एकल महिलाहरुका लागि पनि आत्मनिर्भर बनाउनका लागि विभिन्न किसिमका रोजगारी सिर्जना गर्ने तालिमहरु दिने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘एकल महिलाहरुलाई उद्यमी बनाउन विभिन्न सिपमुलक तालिम दिएर पेसा व्यवसायसँग जोडेका छौ । साथै ती एकल महिलाहरुले उद्योग र व्यवसाय दर्ता गर्न आएमा पनि निःशुल्क गरिदिने र उत्पादित सामानहरुबाट भएको मुनाफाबाट राज्यलाई तिर्नुपर्ने दायित्वमा पनि २५ प्रतिशत छुट गरिदिने व्यवस्था गरेका छौ ।’
यस नगरपालिकाले गरिब विपन्न दलित एकल महिला लगायत बेरोजगार युवाहरुलाई उद्यमी बनाइ उत्पादन सँग जोडर आर्थिक उपार्जनमा लगाइरहेको मेयर श्रेष्ठको दावी छ । सबै भौतिक पूर्वाधारको विकासमा नगरपालिकाले जोड दिएको उनले सुनाए । उनले भने, ‘पहिले लगनखेलबाट लुभु, सानागाउँ, टिकाथली, लामाटार जान गाह्रो थियो । त्यो अवस्थालाई अन्त्य गरेका छौ । बाटोहरु अझै हिलो धुलो छ । अहिले हाम्रो पालिकाको सबैक्षेत्रबाट सार्वजनिक यातायातको पहुँच पुर्याएका छौ ।’
नगरवासीहरु पछुताउनु नपर्ने गरी काम गरिरहेको मेयर श्रेष्ठले दावी गरेका छन् । उनी भन्छन्, ‘जुन विश्वासका साथ नगवासीहरुले मलाई जिताउनु भएको थियो, उहाँहरुलाई पश्चाताप हुन दिएको छैन । नगरपालिकाको प्रगतिले विकासले सबै नगरवासीहरु खुशी छन् ।,’
उनका अनुसार २०६८ को जनगणनामा महालक्ष्मी नगरपालिकामा ६२ हजार जनसंख्या थियो । तर ३ लाख जनताहरुलाई सेवा दिन परिरहेको उनी बताउँछन् । मेयर श्रेष्ठ भन्छन्, ‘सरकारबाट आउने बजेट ६२ हजार जनसंख्या र भुगोलको आधारमा मात्र आउँछ । हामीले त्यो चुनौतीलाई पनि अवसरका रुपमा लिएर सबैलाई समानरुपमा नगरपािलकाले सेवा प्रदान गरेको छ । आफ्नो नगरलाई समृद्ध बनाउन र नगरवासीलाई सुखी बनाउन नियमित रुपमा लागि परेका छौ ।’
‘हामीले चुनावी प्रतिवद्धताको क्रममा प्रशासकिय भवन बनाउने भनेका थियौ । तर नगरपालिकाको आफ्नै प्रशासकिय भवन बनाउन सकेको छैनौ । त्यसका लागि आठ रोपनी जग्गा चाहिन्छ’, यो पालिकामा आठ रोपनी जग्गा पनि छैन । जग्गा खरिद गर्नका लागि आर्थिक स्रोत पनि नभएका कारण प्रशासकिय भवन बनाउन नसकेको उनले दुखेसो पोखे ।
स्थानीयहरुको अवरोधका कारण सिटी हल बनाउने योजना अघि नसरेको उनले बताएका छन् । उनले भने, ‘ हामीले यस नगर क्षेत्रमा सिटहल बनाउने भनेका थियौ । स्थानीयहरुको अवरोधका कारण बनाउन सकेनौ । तर सबै वडाहरुमा भवन निर्माणको काम भने अघि बढाएका छौ ।’
‘पानीको समस्या समाधानका लागि मेलम्ची तीर लागि परेका छौ । अरु धेरै कामहरु गर्न बाँकी भएपनि विकास निर्माणका आधारहरु भने तयार भएका छन् । अनुभव र दक्ष जनशक्तिको अभाव थियो यी सबै अभावहरुलाई पनि अवसरमा परिणत गर्दै नगरपाालिकाको समृद्धिमा लागि परेका छौ’, उनले भने ।
दक्ष जनशक्ति र आर्थिक अभावलाई अवसरमा परिणत गर्दै नगरपालिकाको अधिकतम स्रोतहरुलाई प्रयोग गरेर विकास निर्माणमा लागि परेको उनले बताए । उनले भने, ‘ काम गर्ने अनुभव र दक्ष जनशक्तिको अभावमा पनि धेरै कामहरु गरेका छौ । विकास निर्माणका आधारहरु तयार गरेका छौ । हामीले २५ किलोमिटर सडक कालोपत्रे गरिसकेका छौ । ८ करोडको ठेक्का भएको गोदावारीको पुल पाँच करोडमा बनायौ । गणेशमान पार्क निर्माणका लागि गत वर्ष २० लाख रुपैयाँ र यो वर्ष ४० लाख रुपैयाँ लगानी गरेका छौ । मनमोहन मेमोरियल पार्कको लागि १५ करोड रुपैयाँको टेन्डर भइसकेको छ ।’
महिलाका लागि स्यानिटरी प्याडको व्यवस्था गरेका गर्ने पहिलो नगरपालिकामा महालक्ष्मी नगरपालिका रहेको उनले दावी गरेका छन् । यसका साथै विदेशबाट फर्किएर रोजगारी नपाएका धेरे युवाहरुका लागि नगर उद्यमशीलता विकास कार्यक्रम पनि अघि सारेको उनले जानकारी दिए ।
उनले भने, ‘हामीले कामसँग खाद्यान्न कार्यक्रम सञ्चालन गरेका थियौ । त्यो कार्यक्रमले धेरैजनालाई राहत मिलेको छ । कृषि क्षेत्रका लागि एकदेखि तीन लाख रुपैयाँसम्म बिना ब्याजमा बिउ पूँजी दिन्छौ । उनीहरुको आयोजना हेरेर काम कसरी अघि बढाउने भन्ने बारेमा प्राविधिकहरु पनि हामीले उपलब्ध गराइदिन्छौ । धेरै उद्यमी बनेका छन् । यो काम अरु नगर पलिकाहरुमा पनि लागू भएको देख्दा खुशी लाग्छ ।’
घर निर्माण गर्दा पनि शिल सेफ्टिी ट्याकी निर्माण गर्नुपर्छ भन्ने अवधारणा पनि महालक्ष्मी नगरपालिकाले ल्याएको उनको दावी छ । उनी भन्छन्, ‘ अन्य नगरहरुको तुलनामा हामीले ल्याएका योजनाह्रु पनि फरक छन् । उपभोक्ता समितिबाट हुने र गर्नुपर्ने कामका बारेमा सबै जानकारी भएको किताब बनाएका छौ । त्यो काम पनि अरु नगरपालिकाहरुमा भएको छैन । यस्ता अभ्यासहरु अन्त पनि भएका छन । धेरै उत्कृष्ट काम गर्न नसके पनि प्रयत्न भने गरिरहेको छौ ।’
भ्रष्टाचार र शुन्य शहनहिलतालाई स्थापित गरी पारदर्शिता र सुशासन कायम गर्न नगरपालिका दत्तचित्त भएर लागिरहेको उनको दावी छ । सरकारले जनसंख्या र भूगोललाई मात्र लिएर बजेट छ्ट्याउने हुँदा विकास निर्माणका काममा चुनौती रहेको उनले सुनाए । उनी भन्छन्, ‘सरकारले ६२ हजार जनसंख्या र भूगोललाई हेरेर मात्र बजेट छ्ुट्याउँछ । तीव्र रुपमा शहरीकरण भइरहेको यो गरपालिकामा विकास निर्माणका काममा पनि त्यहि रुपमा लानुपर्नेमा सरकारले जनसंख्याको आधारमा लागि बजेट छुट्याउने हुँदा चुनौती रहेको छ ।’
‘सरकारले बजेट विनियोजन गर्दा आवश्यकतामा भन्दा पहुचँको आधारमा गर्ने प्रथाको अन्त्य गर्नुपर्ने उनको माग छ । उनी भन्छन्, ‘सरकारले आवश्यकताको सिद्धान्तलाई आधार मानी विकासको आवश्यकतालाई हेरेर पालिकाको माग अनुसार बजेट वितरण गर्नुपर्नेमा पहुँचको आधारमा बजेट विनियोजन गर्ने गर्छ । आवश्यकतामा भन्दा पहुचँको आधारमा बजेट विनियोजन गर्ने प्रथाको अन्त्य हुनुपर्छ ।’
आगामी निर्वाचनमा पनि पार्टीले टिकट दिएमा अधुरा आयोजनाहरु पुरा गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनी भन्छन्, ‘अहिले जति विकास गर्न सकेका छौ त्यो भन्दा थप विकास गरेर हरेक नागरिकलाई उत्पादनसँग जोडेर लाने कार्यक्रहरु अघि बढाएर लान्छौ ।’
युवालाई लक्षित कार्यक्रमहरु अझै व्यापक रुपमा तयार पारेर विदेश जाने युवाहरुलाई विदेश जान तयार रहेकालाई नगरपालिकामा नै बसेर काम गर्ने वातावरण सिर्जना गरी नगर वासीको हितमा काम गर्ने उनको लक्ष्य रहेको बताएका छन ।
प्रतिक्रिया दिनुहोस