aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

युक्रेन–रुसबीचको लडाईमा एक सैनिकको मृत्यु, रुसी अर्बपतिलाई यी देशले प्रतिवन्ध लगाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ फागुन २०७८
युक्रेन–रुसबीचको लडाईमा एक सैनिकको मृत्यु, रुसी अर्बपतिलाई यी देशले प्रतिवन्ध लगाए

एजेन्सी । युक्रेनमा बसोबास गर्ने रुसी समर्थित पृथकतावादीहरुले पूर्वी युक्रेनमा पछिल्लो २४ घण्टामा गोलीबारी गरेका छन । यस क्रममा एक युक्रेनी सैनिकको मृत्यु भएको छ भने ६ सैनिक घाइते भएका छन् । रुसले युक्रेनको लुहान्स्क र डोनेस्कलाई स्वतन्त्र राष्ट्र घोषणा गर्दै यहाँ सेना तैनाथ गरेको छ । त्यसपछि यस क्षेत्रमा झडप चर्किएको छ ।

सेनाले आफ्नो फेसबुक पेजमा पृथकतावादीहरूले गोली चलाएको र रकेट प्रहार गरेको बताएको छ । पछिल्लो २४ घण्टामा ९६ वटा गोली प्रहारका घटना दर्ता भएका छन् । यसअघि पूर्वी युक्रेनमा रुसी समर्थित पृथकतावादीहरूले एउटा कारलाई निशाना बनाएका थिए । ग्यासको पाइपलाइन पनि विस्फोट भएको छ ।

यसैबीच युक्रेन संकटको बीचमा अहिले विश्वका ठूला देशहरूले रुसलाई रोक्ने प्रयास तीब्र बनाएका छन् । पछिल्लो २४ घण्टामा अमेरिका, बेलायत, क्यानडा, जापान, अष्ट्रेलिया र जर्मनीले रुसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । युक्रेनका दुई प्रान्त लुहान्स्क र डोनेस्कमा पनि प्रतिबन्ध लगाइएको छ । उनीहरुलाई बुधबार बिहान रुसले छुट्टै राष्ट्रको रुपमा मान्यता दिएको थियो ।

क्यानडाले बुधबार बिहान रुसी बैंकहरूमा प्रतिबन्ध लगाएको छ । क्यानेडियनहरूले लुहान्स्क र डोनेट्स्कमा कुनै पनि आर्थिक लेनदेन गर्न सक्ने छैनन् । यसअघि अष्ट्रेलियाले पुटिनका शीर्ष सल्लाहकारहरूलाई प्रतिबन्ध लगाएको थियो ।  

जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले लुहान्स्क र डोनेट्स्कका नागरिकका लागि भिसा निलम्बन गरेको बताएका छन् । जापानमा यी क्षेत्रका जनताको सम्पत्ति रोक्का गरिने भएको छ । व्यापार पनि गर्न पाइँदैन । अर्कोतर्फ क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि रुसी बैंकमाथि प्रतिबन्ध लगाएका छन् । क्यानेडियनहरूले लुहान्स्क र डोनेट्स्कमा कुनै पनि आर्थिक लेनदेन गर्न सक्ने छैनन् ।

बेलायतले मंगलबार रुसी पाँच बैंक र तीन अर्बपतिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । बेलायतमा रहेका तीन अर्बपतिको सम्पत्ति जफत गरी उनीहरुलाई बेलायत आउनबाट रोक लगाइनेछ । प्रधानमन्त्री बोरिस जोनसनले पनि स्थिति बिग्रिएमा नयाँ प्रतिबन्ध लगाउन सकिने बताएका थिए ।

जर्मनीले प्राकृतिक ग्यास पाइपलाइन परियोजना ‘नोर्ड स्ट्रिम २’ बन्द गरेको घोषणा गरेको छ । यो लाइनको दोस्रो चरणको काम सकिएपछि रुसले वर्षेनी करोडौं डलर आम्दानी गर्ने भनिए पनि अहिले त्यो विषय अलपत्र छ ।  

रसियाले नर्ड स्ट्रिम पाइपलाइन २ परियोजनाबाट करोडौं डलर कमाउने अपेक्षा गरिएको थियो । अमेरिकाको ह्वाइट हाउसले एक विज्ञप्तिमा राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको भेट अहिलेको विकल्प नभएको बताएको छ । यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको बैठक रद्द गरेका थिए । 

प्रतिक्रिया दिनुहोस