
एजेन्सी । एसियाका सबैभन्दा धनी भारतका उद्योगी मुकेश अम्बानीले भारतले जापानलाई छिट्टै उछिनेको दाबी गरेका छन् । उनले सन् २०३० सम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा भारत जापानलाई उछिनेको विश्वास व्यक्त गरेका हुन । यससँगै भारत एसियाको दोस्रो ठूलो अर्थतन्त्र र विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने उनले बताए ।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष पुणे इन्टरनेशनल सेन्टरले आयोजना गरेको एसिया इकोनोमिक डायलग २०२२ कार्यक्रममा छलफलमा सहभागी भएका थिए । मुकेश अम्बानीले एसियाले पछिल्ला दुई शताब्दीमा खराब समय देखेको बताए । अब एसियाको समय आएको छ र २१ औं शताब्दी एसियाकै हुने समेत उनले बताए ।
विश्व अर्थतन्त्रको केन्द्र एसियामा सरेको उनले भने । एसियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) विश्वको बाँकी क्षेत्रभन्दा बढी छ । भारतीय अर्थतन्त्रका बारेमा मुकेश अम्बानीले भने कि सन् २०३० सम्ममा भारतको जीडीपी जापानभन्दा ठूलो हुनेछ । योसँगै भारत अमेरिका र चीनपछि विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ ।
सबैभन्दा पहिले भारतले १० प्रतिशतभन्दा बढीको वृद्धि दर (डबल डिजिट ग्रोथ रेट)का लागि ऊर्जा उत्पादन बढाउनु पर्नेमा उनले जोड दिएका छन् । उनले दोस्रो कार्यलाई ऊर्जा बास्केटमा भारतले स्वच्छ र हरित ऊर्जाको हिस्सा बढाउनुपर्ने बताए । तेस्रो र अन्तिम काम आत्मनिर्भर बन्ने हो । उनले आगामी १०–१५ वर्षमा भारतको कोइलामाथिको निर्भरता अन्त्य हुने विश्वास व्यक्त गरे ।
रिलायन्सका अध्यक्षले अहिलेसम्म उद्योग र अर्थतन्त्र जीवाश्म इन्धनमा केन्द्रित रहेको बताए । जब कोइलामा आधारित पहिलो क्रान्ति भयो । युरोपले फाइदा उठायो उनले भने । जब अर्थतन्त्र कच्चा तेलमा केन्द्रित भएर अमेरिका र पश्चिम एसियाले प्रगति गरेको उनले बताए । अब हरित र स्वच्छ उर्जाको समय हो र भारत यसमा अगुवायी लिन पर्नेमा उनले जोड दिएका छन । हरित ऊर्जातर्फको संक्रमणले पृथ्वीमैत्री औद्योगिक क्रान्ति ल्याउनेछ । उनले आगामी २० वर्षमा आगामी पुस्ताका उद्यमीलाई हरित ऊर्जाको नेता बनाउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस