aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एक लाख राशिको डा सुरेशराज अवार्ड खड्कालाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ फागुन २०७८
एक लाख राशिको डा सुरेशराज अवार्ड खड्कालाई

काठमाडौं । शिक्षा क्षेत्रको विकासमा लामो समयदेखि योगदान पु¥याउँदै आएको कलङ्कीस्थित एलआरआई विद्यालयले ३४औँ स्थापना दिवसका अवसरमा कक्षा १२ मा उत्कृष्ट छात्र अविश खड्कालाई रु एक लाख राशिको डा सुरेशराज अवार्ड प्रदान गरेको छ ।

विद्यालयमा आज आयोजित विशेष समारोहमा काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले यशोधरा पन्त अवार्डबाट रियाना लुइँटेललाई रु २५ हजार तथा कदरपत्रबाट पुरस्कृत गरे । त्यसैगरी पाँच हजार राशिका विभिन्न पुरस्कारमध्ये गोपाल खड्का अवार्डबाट अनिषा दाहाल, सवन जयदेव श्रेष्ठ अवार्डबाट कृषा श्रेष्ठ र इन्द्र सुदर्शन अवार्डबाट तेज विकलाई प्रदान गरिएको छ ।

मुलुकको विभिन्न स्थानमा रही शैक्षिक क्षेत्रको उन्नयनमा  सहयोग गरेका शिक्षाविद्लाई समेत रु २५ हजार राशिको पुरस्कारबाट सम्मान गरिएको छ । सम्मान पाउनुहुनेमा कैलालीस्थित ऐश्वर्या विद्या निकेतनका क्याम्पस प्रमुख धर्मदेव भट्ट र थानकोटस्थित मङ्गलोदय माविका प्रधानाध्यापक कविन्द्र गोपाली हुन ।

विद्यालयका शिक्षक तथा कर्मचारीमध्ये तीर्थराज जोशी, वसन्तराज रोस्यारा, नवीन खड्का, रोहिणीप्रसाद उपाध्याय र सोवी खड्कालाई रु २५ हजार राशिको नगद पुरस्कारका साथै सम्मानपत्रबाट सम्मान गरिएको छ । विद्यालयका सामाजिक कार्य तथा अन्य अतिरिक्त कार्यमा क्रियाशील ११ विद्यार्थीलाई समेत नगद रु पाँच हजार तथा सम्मानपत्र प्रदान गरिएको छ ।

उक्त समारोहमा विद्यालयका अध्यक्ष शिवराज पन्तले स्थापनादेखि अहिलेसम्म विभिन्न आरोह अवरोहका बीच विद्यालय अगाडि बढेको बताउँदै अन्तर्राष्ट्रिय तहको गुणस्तरीय शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरी उनीहरुलाई सामाजिक विकासका साथै राष्ट्र निर्माणमा आकर्षित गर्न आफूहरुले प्रेरित गरिरहेको बताए । 

प्राचार्य डा देवकान्त जोशीले अन्तर्राष्ट्रिय तहका विभिन्न शैक्षिक संस्थासँग समन्वय गरी सांस्कृतिक आदान–प्रदानमा विद्यार्थीलाई संलग्न गराइएको जानकारी दिनुभयो । चीन, जापान, दक्षिण कोरियालगायत मुलुकका शैक्षिक संस्थाका प्रमुखले विद्यालयको स्थापना दिवसका अवसरमा शुभकामना सन्देशसमेत पठाएका थिए । देशका विभिन्न दुर्गम स्थानबाट अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीका लागि केही छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस